Comments Add Comment

नयाँ मुख्य सचिव को ? यस्ता छन् चार दाबेदार

शान्तबहादुर श्रेष्ठ र शान्तराज सुवेदी (दायाँ)

२० फागुन, काठमाडौं । मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक हुने भएपछि नयाँ मुख्य सचिवको खोजी सुरु भएको छ ।

मुख्य सचिव सुवेदीलाई मंगलबारको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकको रुपमा सिफारिस गरेको छ । तर, उनलाई नियुक्त भने गरिनसकेको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

मुख्य सचिव सुवेदी आगामी असार महिना पछिमात्र एडीबीका वैकल्पिक कार्यकारी निर्देशक नियुक्त हुनेछन् ।

अबको मुख्य सचिव को ?

मुख्य सचिव सुवेदी अहिले क्यानडा भ्रमणमा छन् । प्रदेश सुरक्षा निकायको अध्ययन भ्रमणमा उनी गृह सचिव सहितको टोलीको नेतृत्व गर्दै क्यानडा गएका हुन् ।

एडीबीमा नियुक्त नहुँदासम्म सुवेदीले मुख्य सचिव पदबाट राजीनामा नदिएमा मुख्य सचिवको लाइनमा अर्थ सचिव शान्तराज सुवेदी र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ दावेदार हुनेछन् । असार महिनामा दुई सचिव वरिष्ठतमको सूचीमा रहनेछन् । सोही ब्याजका अर्का सचिव सुमन शर्मा वैशाखमा रिटायर्ड हुने भएकाले शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठको प्रतिस्पर्धा चल्नेछ ।

सुवेदीको सम्भावना बढी

पहिलो सम्भावना असार महिनामा शान्तराज सुवेदी वरिष्ठतम् सूचीमा पर्नेछन् । त्यही कारण पनि उनी स्वाभाविक रुपमा मुख्य सचिवको दावेदार हुन् ।

दोस्रो आधार उनी सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पत्याएका सचिव हुन् । उनलाई माओवादीकै रुचिमा अर्थ मन्त्रालय लगिएको हो । सरकारमा यहीँ गठवन्धन कायम रहेमा शान्तराज सुवेदीले नै मुख्य सचिवको बाजी मार्ने नेपाल सरकारका अन्य सचिवहरुको दाबी छ ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ पनि मुख्यसचिवको दावेदार हुन् । तर, उनी एमाले निकट भएकाले अहिलेको सत्ता गठनबन्धन उनका लागि अनुकुल बन्न सक्दैन ।

यसअघि कुनै एक समयमा सचिव शान्तबहादुर श्रेष्ठ माओवादीको निकट भएर काम गर्ने सचिवमा दरिएका थिए । तर, हाल उनी एमाले निकट मानिन्छन् ।

शान्तबहादुर श्रेष्ठको निर्णय क्षमता भने उच्च रहेको सरकारका सचिवहरु बताउँछन् । तर, सचिव श्रेष्ठ अनैतिक निर्णय गराएर आर्थिक पक्षमा भने अपारदर्शी रहेको आरोप लागेको छ । उनी स्वास्थ्य मन्त्रालयको सचिव रहँदा त्यस्तो क्रियाकलापमा बढी संलग्न भएको आरोप छ ।

शान्तराज सुवेदी भने निष्कलंक सचिवको रुपमा चिनिएका अनुहार हुन् । भ्रष्टाचार जन्य गतिविधिका विरुद्ध खरो उत्रने परिचय बोकेका सचिव सुवेदी यस वर्षको सर्वोत्कृष्ठ कर्मचारीको रुपमा पुरस्कृत समेत भएका थिए । उनलाई माओवादीको ‘एसम्यान’ बनेको आरोप लाग्ने गरेको छ ।

सुवेदीले तत्काल राजीनामा दिए के हुन्छ ?

मुख्य सचिव सुवेदीले तत्काल राजीनामा दिएमा भने नयाँ मुख्य सचिवका लागि नयाँ अनुहारबीच प्रतिस्पर्धा हुनेछ । यो विकल्पमा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ र सहकारी तथा गरिवी निवारण मन्त्रालयका  सचिव राजेन्द्र किशोर क्षेत्रीबीच प्रतिस्पर्धा हुनेछ ।

तर, तामाङ उमेरहदका कारण असारमै रिटायर्ड हुने र क्षेत्री पनि त्यसअघि नै अनिवार्य अवकासमा जाने भएकाले उनीहरुको सम्भावना केही कमजोर रहेको छ ।

वरिष्ठताका आधारमा तत्काल मुख्य सचिवको लाइनमा सचिवद्वय क्षेत्री र तामाङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment