Comments Add Comment

एमालेको केन्द्रीय कमिटीमा २० जना मधेसी र थारु थपिए

२०७ सदस्यीय केन्द्रीय कमिटी, मधेसी र थारुको संख्या ३७ पुग्यो

२१ फागुन, झापा । नेकपा एमालेले अकस्मात केन्द्रीय कमिटीको संख्या विस्तार गरेको छ । झापाको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक प्रवेश गराएको छ ।

मेची-महाकाली अभियान सुरु गर्नुअघि एमालेले एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो । मेची-महाकाली अभियान अन्तरगत अाज झापामा एमालेले तीनवटा जनसभा गर्दैछ । यसका लागि एमालेका सबै शीर्ष नेताहरू झापामा भेला भएका छन् । अाज काँकडभिट्टा, बिर्तामाेड र दमकमा जनसभा गर्ने एमालेकाे तयारी छ ।

शुक्रबार राति बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । त्यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् ।

यीमध्ये महासेठ, झा, गोइत र महतो धनुषा जिल्लाका हुन् । धर्मनाथ साह, धर्मनाथ यादव र रामचन्द्र यादव र गंगा यादव सिरहाका हुन् । त्यस्तै रामदयाल मण्डल महोत्तरीका हुन् भने  तेली पर्सा र बैठा सर्लाहीका हुन् ।

त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको पार्टी सचिव योगेश भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

साथै बैठकले कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई  केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेकाे छ ।

एमालेको केन्द्रीय कमिटी हाल वैकल्पिक सहित १८५ सदस्यीय थियो । २० जना थपिएपछि अब केन्द्रीय कमिटी २०५ सदस्यीय बन्न पुगेको छ । यसअघि केन्द्रीय कमिटीमा मधेसी र थारुको प्रतिनिधित्व १७ जना मात्रै रहेकोमा अब ३७ पुगेको छ ।

केन्द्रीय सदस्यमा मनोनित भएका रघुवीर महासेठ गत महाधिवेशनमा पार्टीको सचिवमा उठेर पराजित भएका नेता हुन् । गत संविधानसभामा उनी धनुषा क्षेत्र नम्बर ५ बाट पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवसँग थोरै मतले पराजित भएका थिए । महाधिवेशनमा हारेका कारण केन्द्रीय कमिटीमा छुटेका महासेठ मनोनयनमा परेका हुन् ।

महासेठकी पत्नी जुली महतो पनि बैकल्पिक केन्द्रीय सदस्य बनेकी छिन् । उनी गत संविधानसभा चुनावमा धनुषा क्षेत्र नं ३ मा विमलेन्द्र निधीकी निकटतम प्रतिद्वन्द्वी हुन् ।

त्यसैगरी केन्द्रीय सदस्यमा मनोनित भएका सिहाका धर्मनाथ साथ पनि गत महाधिवेशनमा पराजीत भएका थिए । महाधिवशेनमा साह उपाध्यक्षमा उठेर पराजीत भएका थिए ।

त्यस्तै केन्द्रीय सदस्यमा मनोनित रत्नेश्वर गोइतकाे कथा पनि रोचक छ । उनी एमालेका पुराना नेता हुन् । तर, उनी एमाले छाडेर केही समय मधेसी जनअधिकार फोरममा  लागेका थिए । दोस्रो संविधानसभा अघि उनी एमालेमा फर्किए । दोस्रो संविधानसभामा रत्नेश्वर गोइत सूर्य ध्वजा लिएर धनुषा १ मा चुनाव लडेका थिए, जहाँ उनले ४१७५ मतका साथ चाैथाे स्थान हासिल गरे ।

त्यसैगरी बैकल्पिक केन्द्रीय सदस्यमा परेका मध्ये शान्ता चौधरी पूर्व सांसद एवं कमैया आन्दोलनको चर्चित नाम हो । त्यस्तै सरोज यादव अखिलको सचिव भइसकेका युवा नेता हुन् भने सुधीर साह अखिलका पूर्वउपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment