Comments Add Comment

उपन्यास अंश: स्टालिनसँग हात मिलाउने बमबहादुर !

साठी हजार निर्दोष नेपालीको बलि खाएर त्यस्तो युद्ध सकियो, जुन युद्धसँग नेपाल र नेपालीसँग कुनै सरोकार थिएन । त्यो दोस्रो विश्वयुद्ध थियो । नेपाली रगतले लतपतिएको बेलायती साम्राज्यवादसहितको समूहले युद्ध जित्यो । नेपालका लागि लडेर होइन । बेलायतका लागि लडेर गोर्खाली सेना विश्वप्रसिद्ध भयो । एक प्रकारले भन्ने हो अजेय भयो । तर, त्यो अजेयको मूल्य हीराभन्दा महँगो भो नेपालका लागि ।

युद्धको तनावबाट मुक्त भैसकेको थियो रामप्रसाद राई । तर, नेपालभित्रको तनावले उसलाई पिरोल्न थालेको थियो । उसलाई नेपालमाताको सेवा गर्न उत्साह प्रदान गर्ने ठकुरी बाबुसाहेवको नाम दशरथ चन्द थिएछ भन्ने रामप्रसादलाई थाहा भइसकेको थियो ।

‘श्री ३ ले झ्यालखानमा थुनेका श्री ५ लाई कैदबाट निकालेर राज्यको बैधानिक नेतृत्व प्रदान गर्नुपर्छ भन्ने दशरथ चन्दलाई फासी दिने राणाको पारिवारिक अदालतको निर्णयमा स्वीकृतिको ठप्पा लाउने’ त्रिभुवन राजा प्रति रामप्रसादको सम्मान स्वात्तै झरेर शून्यमा पुगेको थियो ।

‘यस्ता राजाले जनताको सुरक्षा कसरी गर्लान ?’ ऊ मनमनै यो प्रश्नको उत्तर खोजिरहेको थियो र दिनदिनै ऊ निराश भइरहेको थियो । राणाजीले राजालाई तराईको ठूलो शिकारमा त लाँदैनथे । तर काठमाडौं वरिपरि शिकार क्याम्प खडा गरेर राणा प्रधानमन्त्री सम्मानपूर्वक र कहिलेकाहीँ त गचक्कै बोकेर त्यस्ता शिकार क्याम्पमा लैजान्थे । राजाको आत्मसम्मान मरेको देख्थ्यो रामप्रसाद राई । रक्सी र केटी भएपछि राजालाई सबैथोक पुग्ने ।

‘यस्ता राजाबाट केही हुँदैन । यिनले केही लछारपाटो लाउँदैनन्’ भन्ने निष्कर्षमा पुगिसकेको थियो ऊ । ‘युवराज महेन्द्र बाठा छन्, राणाहरूबाट भरसक टाढै बस्छन्’ भन्ने खासखुस सुनेको थियो रामप्रसादले । टाढाबाट देखेको पनि थियो उसले युवराजलाई । तर बाउलाई वास्तविक राजा बनाउनेहरूको सुरक्षा गर्न नसक्ने युवराजप्रति पनि सम्मान पलाउन सकेको थिएन ।

राजाप्रति त उसमा कुनै सम्मान थिएन । युवराजप्रति भने ‘पर्ख र हेर’ को परीक्षामा थियो ऊ ।

प्रजापरिषदको सदस्य त थिएन ऊ । तर ऊ प्रजापरिषदका नेताहरूको भक्त भएको थियो । झुण्ड्याएर र गोली ठोकेर मारिएका शहीद सबै उसका लागि मान्यजन थिए नै । त्यसमाथि दशरथ चन्द त उसको आस्थाको केन्द्र थियो । दशरथ चन्दको शत्रु आफ्नो पनि शत्रु हो भन्ने टुङ्गोमा पुगेको थियो ऊ । कहिले काहीं ऊ झयालखानको निरीक्षणमा जान्थ्यो । राजा र राणाद्वारा डामिएका टंकप्रसाद आचार्य, रामहरि शर्मा नेपाल र तिनका साथीलाई टाढैबाट, मनको प्रणाम पस्किएर फर्किन्थ्यो ।

प्रजातन्त्र प्राप्तिका योद्धाहरूलाई आफूले कुनै सहयोग गर्न नपाउँदा आफ्नो जागिरसँग बेस्सरी रिस उठ्थ्यो उसलाई । तर, उसले जेलको जमदारलाई आदेश दिएको थियो- सबै कैदी बन्दीले आफ्ना परिवारसँग ढुक्कले कुरा गर्न पाऊन् । राजनीति र फौजदारी भनेर कसैप्रति भेदभाव गर्न नदिनू । कैदी सिधामा तिमीहरूले आँखा नलाउनू । लाएको थाहा पाएँ भने आफ्नो जागिर सकियो भनेर जान्नु ।’

त्यतिबेलासम्म नेपालमा प्रजापरिषदपछिको अर्को कुनै पार्टी जन्मिएको थिएन । आफैं पार्टी बनाउने तयारीमा पनि थिएन रामप्रसाद । उतिबेलाको काठमाडौंको साँझ शान्त एवम् शीतल हुन्थ्यो । शहर आठै बजे निदाउँथ्यो । ओमबहालमा डेरा लिएको थियो रामप्रसादले । शान्त साँझले उसलाई आनन्द दिंदैनथ्यो । तर, के ? अर्को दशरथ चन्द या गङ्गालाल जन्मिदैनन् अब ! त्यस्तो भइदिए म तिनको सेनाको कमाण्डर भैदिन्थेँ र नेपालमा प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्न सबैभन्दा जिम्मेवार भूमिका निर्वाह गर्थेा ।

दोस्रो विश्वयुद्ध सकिएपछि रामप्रसादले तीन महिनाको छुट्टी पायो । त्यो छुट्टीलाई उसले आफ्नो उद्देश्यमा खर्चिने योजना बनायो । छुट्टी पाउने बित्तिकै कान्छी पत्नी दिलकुमारी र कान्छो छोरा मानबहादुर राईलाई लिएर रामप्रसाद आफ्नो घर, बाँसिखोरातिर लाग्यो दक्षिणको बाटो भएर ।

दोस्रो विश्वयुद्धले भौतिक रूपमा बर्मा र मणिपुरलाई सेकेको थियो । बर्मा क्षतविक्षत भएको थियो । युद्धका बाछिटालाई बङ्गालको सीमासम्म छरेर युद्ध फर्किएको थियो । बर्मामा भोग्नुपरेको युद्धको विनाशले बेलायतलाई थर्थर बनाएको थियो ।

‘गोर्खा फौज नभएको भए हाम्रो दिल्ली राज सकिने थियो ।’ यो बेलायती मनोभावना थियो ।

बाँकी भारत एकप्रकारले सुरक्षित नै थियो ।

तर, उजाड भएको थियो भारत । धनको खति राज्यको भएको थियो । तर जनको खति त बाउआमाको भएको थियो । थोरै संयुक्त प्रान्त (अहिलेको उत्तर प्रदेश) अनि धेरै बिहारको यात्रामा यो खतिको अनुहार देख्यो रामप्रसाद राईले । धेरै परिवारको कोही न कोही मरेको थियो । नेपालले सहयोगको नाममा दुई लाख ५० हजार पेल्नुपरेको थियो भने संयुक्त प्रान्त र बिहार त अङ्ग्रेजकै राजभित्र पर्थे । कति लाखको ज्यान गयो होला, ती दुई प्रान्तको !

जोगवनीमा रेलबाट ओर्लिएपछि पत्नीलाई अघि लगाउादै रामप्रसादले भन्यो, ‘माने सानै छ । उसले अहिले देखेको कुरो भोलि बिर्सन्छ । पछि पछि यस्तो यात्रा यसलाई सपना जस्तो लाग्छ । तँलाई भने अनौठो लाग्ला कान्छी, यताको रीतिथिति । जर्सापले यो केटीले जस्तोसुकै दुःख पनि खेप्न सक्छे भनेपछि मैले तासाग बिहे गरेको हुँ । अब त्यो अप्ठ्यारो भोग्ने समय आयो । कतै लरी भेटियो भने धरानसम्म त्यसैमा जाने हो । त्यसपछि दिनभरिको तेर्सो । अक्करे भीर । त्यसपछि उकालो र ओरालो ।’

पत्नी र छोरालाई एउटा कोठामा बसालेपछि रामप्रसादले भन्यो, ‘तिमेरु आराम गर । म बजार जान्छु । किनमेल गर्नु छ । तीन जना भरिया खोज्नु छ । म काम सकेर बेलैमा आउँछु । भोलि बिहानै हामी बाटो लाग्छौं ।’

बराहक्षेत्रको अक्कर ! यात्रीहरूका लागि आतङ्कको एउटा नाम । दर्जनौं भरियाहरू ऐया पनि भन्न नपाई झुम्लुङ्ग सप्तकोशीको खसेर क्षणभरमै हराउने भीर । र पनि जिन्दगी चल्नैपर्थ्यो । मान्छे मात्र होइन, भरिया पनि हिाड्नैपथ्र्यो ।’

घर पर्खिरहेको थियो- रामप्रसाद, दिलकुमारी र मानबहादुर राईलाई । सबैका लागि लडाइँ सिद्धिएको थियो । नेपालभित्रको विश्वयुद्धले कसैलाई मृत्युको पीडा दिएको थियो भने कसैलाई टङटङ बज्ने कम्पनी दिएको थियो ।

दिलकुमारी सबैको चासो थिई । चासो नै भइरही ।

पिखुवापारी छिनामखुमा पहिलो बास बसेर काठमाडौंतिर सोझिएको रामप्रसाद भोलिपल्ट, खार्मी डाँडागाउँको बमबहादुर राईको घरमा बास बस्न पुग्यो । घाम डुबेको थिएन डाँडामा । उज्यालो थियो पृथ्वी ।

बमबहादुर राई र रामप्रसाद राईले एक अर्कासाग हात मिलाए, अँगालो हाले । अलग-अलग पल्टनका भए पनि तिनीहरूबीच चिनजान थियो ।

‘बुहारी, जातकी होइनन् कि क्या हो !’ बमबहादुरले पनि जिज्ञासा पोख्यो ।

‘ठकुरीकी छोरी हो’ छोटो उत्तर दिएपछि उसले आफूले सामना गर्नुपरेको घटना जस्ताको तस्तै राखिदियो ।

बमबहादुर राई !

दोश्रो विश्वयुद्धको बहादुर योद्धा । विश्वयुद्ध सकिएपछि पोहोर मात्रै विदा भएर फर्किएको योद्धा । अब लडाइँतिर लाग्दिनँ, स्कूल खोल्छु, केटाकेटीलाई पढाउँछु भनेर गाउँमा बसेको योद्धा ।

स्टालिन र चर्चिलसँग हात मिलाउन पाएको नेपाली योद्धा ।

रामप्रसादको दिमाग चर्खी जसरी घुमिरहेको थियो ।

‘बमबहादुर दाइ, तिम्ले विश्वयुद्धका नेतासँग हात मिलाउन पाएका थियौ रे भनेर मसम्म कुरा आएको थियो ।’

‘त्यही त, चर्चिल त आफूले जानेसुनेकै परे । स्टालिन चाहिँ नचिनेका । ६ फुटे । अग्ला न अग्ला । तिनको ठूलो पञ्जामा मेरो सानो हात कता हरायो हरायो ।’

… मेरो सानो हातलाई आफ्नो पञ्जाभित्र लुकाएर उनले मसँग केही सोधे जस्तो लाग्यो । म एकछिन अलमल्ल परेँ । पछि हाम्रो दोभाषेले भन्यो, – महामहिम राष्ट्रपतिले ‘के तपाईंको गाउँमा स्कूल छ भनेर सोधेका हुन् । म त भुतुक्कै परिहालेा । कहाँ आफू १५ वर्ष अगाडिसम्म कालो अक्षर भैंसी बराबर, कहाँ उनी राष्ट्रपति !

‘ती स्टालिन कम्युनिस्ट हुन् भन्ने थाहा पाएका थियौ तिमीले ?’

‘अँ भन्थ्यो दोभाषेले । यिनी संसारका सबैभन्दा ठूला कम्निस्ट हुन् । जर्मनहरूलाई धूलो चटाउने तिमी गोर्खा र यिनै स्टालिन हुन् भन्थ्यो ।’

‘त्यसो भए स्टालिनको पढाउनुपर्छ भन्ने सुझावले छोयो तिमीलाई ? तिमीले केही जवाफ दिएनौ ?’

‘अब पल्टन छाड्छु, गाउँ फर्किएर स्कूल खोल्छु सर,’ भनेँ । एकैचोटि यति धेरै कसरी बोलेँ, थाहा नै पाइनँ । बोलिसकेपछि पो चोट लागे जस्तो भो ।’

एकछिन केही सोचेर बमबहादुरले भन्यो, ‘फर्किन्छु खार्मी, खोल्दछु स्कूल, पढाउाछु केटाकेटी, भनेर त आइयो । यता भने मास्टरै नपार पो सङ्कट पर्ला जस्तो छ । स्कूल खोल्न सकिनँ भने म त लाजैले मर्छु । त्यत्रा ठूला मान्छेलाई दिएको वचन !’

‘मास्टर खोजेनौ कतै ?’

‘यो अन्धकारमा कता खोज्नु ?’

‘खोटाङमा भाषा पाठशाला छ । अहिलेलाई तिनैबाट काम चलाऊ । पछि तिमीले दार्जिलिङ नगै हुँदैन ।’

‘तिमी के गर्छौ ? तिम्ले पनि मास्टर हुने पढाइ छिचोलेर नाम कटाएर नेपाल फर्किएको भन्थे पल्टनेहरू ।’

‘हो त । म नेपाल आएँ । नेपालका जर्नेलले ‘तिमी जस्तो पढालेखा मान्छे हामीलाई नै चाहिन्छ, नाम कटाएर आऊ, यताकै मान दिउँला’ भनेका थिए । तिनै जर्नेलको विश्वासमा यता आएको हुँ । उनले बोलेको वचन पूरा गरे । अब मन लागुन्जेल यतै काम गर्ने । मन लाग्न छोडेपछि जनसेवा गर्ने ।

बमबहादुर केही बोलेन । रामप्रसाद के बोल्दैछ भनेर उसले लख काटिसकेको थियो ।

‘तर तिमी चाहिँ स्कूल खोल्ने काममा लागिहाल ।’

फर्किने गरी विदामा अनि नफर्किने गरी नाम कटाएर आएका ६ जना लाहुरे रहेछन् छिमेकमा । तिनीहरूसाग पनि भेटघाट गरौं भन्ने मन बनायो रामप्रसादले ।

लाहुरबाट फर्किएका, जे भए नि समय मिलाउन जान्ने हुन्थे । भोलिपल्ट सबै भेला भए ।

‘यी हुन् भोजपुर हतुवाका रामप्रसाद राई । पल्टनमा नेपाली मास्टर छ भनेर हामीले सुन्या थियौं नि ! यी तिनै हुन् । अहिले नेपाली पल्टनमा सुवेदार छन् । यसपालि नयाँ-पुराना साथीभाइसँग भेटघाट गर्दै काठमाडौं जानुपरो भनेर यताको बाटो लाग्या रहेछन् ।’

‘यी बमबहादुर दाइले स्कूल खोल्ने अठोट गर्या रहेछन् । काम राम्रो हो । अब तपाईं दाजुभाइले सघाउपघाउ गरेर स्कूल खोल्न पर्यो । गाउँका केटाकेटीलाई बाह्रखरी सिकाउनुपर्यो । पल्टन जाँदा पनि कालो अक्षर भैंसी बराबर भनेर कसैले नहेपून् । अथवा भोलि हामीलाई नै बाह्रखरी छिचोलेको मान्छे चाहिने हो कि !’

राति बमबहादुरको दलानमा सुत्न पल्टिँदा रामप्रसादले भन्यो, ‘मैले धेरै कुरो गर्न मिलेन । तर, तिमीले मेरो अभियानमा सहभागी हुनुपर्छ । म नेपाल मुक्तिको सपना देखेर फर्किएको हुा । स्टालिनसाग हात मिलाएका तिमीले यो सपना देख्नुपर्छ र मातृभूमिप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ । यो विश्वयुद्धमा स्टालिन र गोर्खाली सेना हुादैनथ्यो भने दुनियामा हिटलरको राज चल्थ्यो । त्यसैले नेपालको मुक्ति, स्टालिनसँग जोडिएको तिम्रा पौरखी हातको जिम्मेवारी पनि हो । यो लडाइँ जिते पनि बेलायत सम्पूर्णतामा हारेको छ ।

गोरखाली सेना हुँदैनथ्यो भने युद्धको आधाउधिमै बेलायत जर्मनीको कब्जामा जान्थ्यो, फ्रान्स गए जस्तै । हिटलरको पूर्वी विजय अभियानलाई पराजित गर्ने स्टालिनको सेना हो भने पश्चिमको विजय अभियानलाई पराजित एकमात्र हाम्रा नेपाली दाजुभाइ हुन् । मैले सुन्याथेँ, चर्चिलले आफ्नो सचिवलाई सोधेका थिए रे, ‘यी गोरखाली भनेका कस्ता हुन् ?’ …

…शून्य डिग्रीको चिसोमा युद्धको मोर्चामा उभिएर शत्रुलाई हायलकायल पारेर हाम्रा बेलायती दाजुभाइलाई शान्तिका साथ तातो कफीको स्वाद चुस्न दिने माउण्ट एभरेस्टको देशका नौजवान हुन्’ भनेर उसले जवाफ दिएको थियो । त्यसैले विश्वयुद्धको विजय भनेको साँच्चि नै सोभियत सङ्घको सेना र नेपाली नौजवानको संयुक्त विजय हो । त्यसैले सोभियत सेनाका सर्वोच्च कमाण्डरले तिमीसँग हात मिलाउनु भनेको शिक्षित भएर मातृभूमिको कल्याण हुने काम गर भनेको हो । अहिले म काठमाडौं जाँदै छु, तर त्यो मेरो अन्तिम टुङ्गो होइन । म फर्किएर आउनेछु दाइ । तिमीहरूकै बीचमा आउनेछु र मातृभूमिको मुक्तिका खातिर युद्ध गर्नेछु । चाहे जोसुकैसँग किन लड्नु नपरोस् । मलाई यो अठोटबाट कसैले, कहिल्यै हटाउन सक्दैन ।

रातको सन्नाटामा रामप्रसाद साप्सु खोलाको सुसाइमा बोलिरहेको थियो । बमबहादुरले बुझ्यो रामप्रसादको सपना ।

‘तिमी सधैं मलाई आफ्नो दायाँ भागमा पाउँछौ भाइ । यो स्टालिनसँग हात मिलाउने बमबहादुरको वचन भयो ।’

‘कामरेड स्टालिन भन दाइ, कामरेड स्टालिन । सबैले उनलाई त्यसै भन्दा रहेछन् । कामरेड स्टालिनले विश्वलाई हिटलरको तानाशाहीबाट मुक्त गराए । हामी हाम्रो नेपाललाई राणाशाहीबाट मुक्त गराउनेछौं । मुक्त नेपालको स्थापना नै ती ६ फिटे अग्ला स्टालिनका ठूला हातलाई तिम्रो उपहार हुनेछ ।

(गत बुधबार लोकार्पण भएको नेपालद्वारा लिखित रामप्रसाद राईको जीवनीमा आधारित उपन्यास ‘क्रान्तिवीरको सपना’ बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment