Comments Add Comment

प्रिय पुस्तक: जेलमा पढाइको रफ्तार

कांग्रेस र कम्युनिष्टको गोदाइले घानमा परियो

मेरो पठन यात्राको विगत खोतल्दा पौराणिक आख्यानहरुको संसारमा पुग्नुपर्ने हुन्छ । बुवा-आमाले देवी भगवत र रामायण लगायतका ग्रन्थ पढ्नुहुन्थ्यो । त्यो सुनेर आफूलाई पनि साहित्यप्रति चाख बढ्दै गयो ।

सबभन्दा पहिले मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पढेँ । ०२५/२६ सालतिर ८/९ कक्षामा पढ्दा पाएको यो किताब भाका हालेर रमाउँदै पढियो । त्यसपछि माधवप्रसाद घिमिरेको ‘गौरी’ शोककाव्य पढेँ ।

त्यसबेला निस्किने साहित्यिक पत्रिका तथा सामयिक संकलनहरुले पनि पठन यात्रामा राम्रो मोड दिए । ‘पञ्चामृत’, ‘जस्केलो’ जस्ता पत्रिकामा धेरै खुराक पाइन्थ्यो । कतिपय प्रगतिवादी पत्रिकाहरुले जुरुकजुरुक पार्ने लेखरचनाहरुमार्फत अक्षरको तागतसँग साक्षात्कार गराइदिए ।

कांग्रेस र कम्युनिष्टको गोदाइले घानमा परियो

पढ्ने बानी बस्नुमा स्कूल पढ्दाको समयले निकै भूमिका खेल्यो । मैले चितवनको गीतानगरस्थित अरुणोदय माध्यमिक विद्यालयमा पढेँ । ०२४ सालतिर हामी १२/१५ जना साथीभाइले मिलेर स्कूल नजिकैको सरकारी जग्गामा पुस्तकालय खोलेका थियौं ।

पुस्तकालयमा हामीले आफूसँग भएका किताबहरु त राखेकै थियौं, गाउँ-गाउँ गएर पनि विभिन्न व्यक्तिबाट किताब संकलन गरेका थियौं । त्यसरी दुई-तीन हजार किताब जम्मा भएको थियो । पुस्तकालय सञ्चालनका लागि समिति बनाइएको थियो, जुन निर्वाचनबाट छनोट हुन्थ्यो ।

तर, हामीलाई पढ्न बानी बसाल्ने पुस्तकालयमा ०२९ सालमा संकट आइपर्‍यो । त्यो बेला कस्तो थियो भने, कुनै पनि विषयमा कांग्रेस र कम्युनिष्टबीच गोदागोद नै हुन्थ्यो । पुस्तकालयमा पनि राजनीतिको प्रभाव पर्‍यो । सदस्यता लिने क्रममा कम्युनिष्टहरुको बहुमत भएर पुस्तकालय नै उनीहरुले कब्जा गरे ।

कांग्रेसहरुले पुस्तकालयको सदस्यता हामीलाई दिइएन भन्ने असन्तुष्टि राखे । त्यसपछि सञ्चालक समितिको चुनावै हुन नसकेर झैझगडा भयो । प्रशासनले पक्राउ गर्न वारेन्ट जारी गरेपछि हामी भाग्यौं । पछि पञ्चायत सरकारले पुस्तकालयका किताब जफत गरेर विद्यालयलाई जिम्मा लगायो ।

क्याम्पसमा सरसंगतको प्रभाव

म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा पढ्न थालेपछि धेरथोर विदेशी साहित्य पनि पढ्न थालेँ । मेरो मूल विषय राजनीतिक शास्त्र भए पनि साहित्यले तान्दै लगेपछि बिस्तारै अध्ययन बढ्दै गयो ।

त्यो समयमा मैले बढीजसो रवीन्द्रनाथ टैगोर र बंगाली लेखक बंकिम चन्द्र चटर्जीका किताब पढेँ । त्यसबाट मलाई अझ गहिरो प्रभाव पर्‍यो ।

पछि बीए पढ्न त्रिचन्द्र कलेज आएपछि साहित्यिक मित्रहरुसँग सरसंगतले अध्ययनको दायरा अझ फराकिलो भयो । श्यामल, विमल निभा जस्ता मित्रहरुसँग निकटता भएपछि पढाइको रफ्तार झन् बढ्‍यो ।

तर, कलेजमा मैले जम्‍मा ६-७ महिना मात्र पढ्न पाएँ । ०३३ सालमा म राजकाज मुद्दामा पक्राउ परेँ । राजाको विरुद्धमा पर्चा फालेको अभियोगमा वीरगञ्ज जाँदा पक्राउ परेर १८ महिना जेल बसेँ ।

जेलमा झन् मजाले पढियो

त्यसबेला म नेपाल कम्युनिष्ट पार्टी पुष्‍पलाल समूहमा आबद्ध थिएँ । पुष्पलाल गुटको विद्यार्थी फाँटको केन्द्रीय कमिटिमा थिएँ । प्रहरीले अमिक शेरचन, आनन्ददेव भट्ट लगायत १७/१८ जनालाई समात्दा म पनि त्यसमा परेको थिएँ ।

जेलमा बस्दा पनि पढाइ थामिएन । विभिन्न शुभचिन्तक, परिवार र साथीभाइले किताब ल्याइदिइरहन्थे । सामान्य विषय रहेका किताबहरु वैध मानिन्थ्यो, जेलभित्र निर्बाध रुपमा ल्याउन पाइन्थ्यो । कहिलेकाहीँ अवैध किताब पनि कोही मान्छेले लुकाएर पठाइदिन्थे ।

जेलमा फुर्सदको समय प्रशस्त हुने भएकोले पढ्ने र लेख्ने रुचि हुनेले राम्रो लाभ उठाउन सक्छन् । कतिपयले त जेलमै सिर्जना पनि गर्छन् । त्यसमा म पनि पर्छु । जेल बसाइमा मैले ३०-४० वटा कविता लेखेको थिएँ । कविताहरु एउटा कापीमा समेटेर ‘रगतैरगतले भिजेको देश’ कवितासङ्ग्रहको पाण्डुलिपि बनाएको थिएँ । तर, त्यो कापी नै पुलिसले जफत गरिदियो ।

जेलबाट छुट्ने बेलामा शरीरको तलासी लिइँदो रहेछ । जेलरले ‘यस्तो के लेखेको’ भनेर त्यो कापी जफत गर्‍यो । उसले अञ्चलाधीशलाई बुझायो, अञ्चलाधीशले के गर्‍यो थाहा भएन । त्यो कवितासङ्ग्रह नै गायब भयो ।

निबन्धमा मन

सबैको जस्तै मेरो पठनको उद्देश्य पनि नयाँ कुरा जानूँ र ज्ञान प्राप्त होस् भन्ने नै हो । मलाई कविता, निबन्ध र उपन्यास मन पर्छ । यसमध्ये पनि मेरो रुचिको विधा निबन्ध नै हो । आफू निबन्ध लेख्ने भएकोले पनि होला, मनमा धेरै गढेको हुनुपर्छ ।

उपन्यास नेपाली र हिन्दी मात्र पढेको छु । मन हुँदाहुँदै पनि पश्चिमा साहित्यका उपन्यास भने पढ्न सकेको छैन ।

मलाई जुनसुकै प्रकारका विषयले पनि छुन्छन् । तर, अलि दार्शनिक र आत्मपरक ढाँचाको लेखन विशेष मन पर्छ । एकालाप शैलीको लेखनमा डुब्न पाउँदा औधि रमाउँछु ।

वामपन्थी रुझान छोड्दै

हुन त सबैले केही खँदिलो र रमाइलो कुरा पाउने सोचले नै पढ्ने हुन् । तर, मेरो विचारमा विशुद्ध पाठक भएर पढ्नु र एउटा लेखकको रुपमा पढ्नुमा उद्देश्य अलि फरक हुन्छ ।

पाठकले किताबमा के रहेछ भनेर आफ्नो ज्ञान वृद्धिका लागि पढ्छ । लेखकले चाहिँ अहिलेको समयमा अरुहरुले के र कस्ता विषय उठाइरहेका छन्, समकालीन परिवेशमा मेरो लेखनको हैसियत के छ भनेर थाहा पाउन पनि पढ्छ । त्यसबाट आफ्नो लेखनको शक्ति र सीमा पैल्याएर आफूलाई तिखार्न मद्दत मिल्छ ।

एउटा समय थियो, मैले वामपन्थी रुझानबाट साहित्य पढ्दै र लेख्दै आएँ । मार्क्सवादी चेतले पठनमा बेस्सरी प्रभाव पारेकै हो । तर, पछिल्लो समयमा त्यो प्रभाव बिस्तारै घट्दै गएको छ । अहिले वामपन्थी र प्रगतिशील भन्ने कुराको कुनै सीमा र दायरा नकोरी खुला हिसाबले पढ्ने गरेको छु ।

 चित्रलेखाको साबिती

अहिलेसम्म पढेका किताबहरुमध्ये मैले धेरै अगाडि पढेको हिन्दी उपन्यास ‘चित्रलेखा’ (सन् १९३४) ले निकै गहिरो प्रभाव पारेको छ ।

भगवतीचरण बर्माले लेखेको यो कृतिमा भौतिकवाद र अध्यात्मवादलाई फ्युजन गर्दै धर्म र पापको बीचमा बहस छेडिएको छ । समाजले विभिन्न आदर्श र मर्यादाको प्रदर्शन गर्ने मान्छेलाई धार्मिक भनेर जान्दछ । त्यसको विपरीत पाप कर्म भनेर परिभाषित गरेको कुरा गर्नेलाई समाजले पापी देख्छ ।

तर, यो उपन्यासले धार्मिक भनिएका मान्छे अन्तत: ढोंगी र पतीत बनेका तथा पापी भनेर चिनिएका मान्छे त्यागी र असल पनि हुन सक्छ है भन्ने सिद्ध गरेको छ । आदर्श र यथार्थबीचको द्वन्द्वबाट उपन्यासले समाजको सुन्दर चित्र उतारेको छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment