Comments Add Comment

राजविराजमा एमालेको कार्यक्रमस्थल फेरियो, सुरक्षा सतर्कता बढाइयो

लाठी जुलुस निकाल्ने मोर्चाको तयारी, मानवअधिकारवादी बोलेनन्

२२ फागुन, सप्तरी । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई रोक्नका लागि मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लाका विभिन् स्थानमा लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरेको छ । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको छ ।

मधेसी मोर्चाले दिएको जानकारीअनुसार सोमबार एमालेले सप्तरीमा गर्न लागेको सभालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरिएको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सीमास्थलमा रहेको भारदहमा सोमबार बिहानै लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जनाएको छ । त्यस्तै रुपनीमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ ।

त्यसैगरी पूर्व-पश्चिम राजमार्गबाट राजविराजतर्फ मोडिने हनुमाननगरमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ ।

एमालेले दिउँसो राजविरोधमा आयोजना गरेको जनसभालाई लक्षित गर्दै राजविराजमा समेत लाठी जुलुस निकालिने मोर्चाले जनाएको छ ।

राजविराजको सभा सकेर एमाले नेताहरुको टोली सप्तरीको कञ्चनपुरमा बास बस्ने कार्यक्रम रहेको एमाले नेता गोविन्द न्यौपानेले बताएका छन् ।

मोर्चाले कञ्चनपुरमा समेत लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ । राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ-गाउँबाट कार्यकर्ताहरु ओसारिरहेको छ । एमालेको जनसभा हुने अघिल्लो दिन राजविराजमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन् ।

एमालेको कार्यक्रमस्थल सर्‍यो

यसैवीच नेकपा एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारिएको छ । एमाले नेता गोविन्द न्यौपानेका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ ।

तर, औद्योगिक क्षेत्रमा एमालेको सभा हुने थाहा पाएपछि मोर्चाका कार्यकर्ताले त्यहाँ पुगेर मधेस आन्दोलनका सहीदहरुको पोष्टर टाँसेका छन् । आइतबार औद्योगिक क्षेत्र आसपास मोर्चाका कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिनुका साथै एमालेको विरोधमा छिटफुट प्रदर्शनहरु भइरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ ।

एमालेले सभा आयोजना गर्न लागेको औद्योगिक क्षेत्रमा तालाबन्दी गरिने मोर्चाका कार्यकर्ताले बताएका छन् ।
एमालेको जनसभालाई लक्षित गरी मोर्चाले सोमबार जिल्लामा चक्काजामको घोषणा गरेको छ ।

सुरक्षा सतर्कता बढ्यो, मानव अधिकारवादी बोलेनन्

एमालेले गर्न लागेको कार्यक्रममा मोर्चाले अवरोध गर्ने घोषणा गरेपछि जिल्लावासीहरुमा मुठभेडको आशंकाले त्रास बढेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरीका दुबै डीआइजीहरु जिल्लामा आएर यहाँका स्थिति बुझेर फर्किएका छन् । उनीहरुले मोर्चा र एमालेका नेताहरुसँग छुट्टा छ्ट्टै छलफल गरेका छन् ।

जिल्लाको स्थिति तनावग्रस्त हुँदै गर्दा यहाँ मानवअधिकारकर्मीहरुले कुनै ध्यान दिएका छैनन् । फिल्डमा अनुगमनका लागि उपस्थित हुनु त परैजाओस्, अहिलेसम्म कुनै मानवअधिकारवादी संगठनले वक्तव्यसम्म निकालेका छैनन् ।

यसैवीच नेकपा एमालेले सप्तरीको स्थितिबारे मानवअधिकार आयोग लगायत मानवअधिकारवादी संघ संस्थाको ध्यानाकर्षण गराएको छ ।

लोकतन्त्रमा आफूहरुले शान्तिपूर्णरुपमा जनतामा आफ्ना कुराहरु राख्न पाउनुपर्ने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment