Comments Add Comment

३३ किलो सुन तस्करीका नाइके हरिशरण ! ३० जनाको नाम सार्वजनिक (सूचिसहित)

सहयोगी एसएसपी थुनामा, १८ जना फरार

२२ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको दाबी गर्दै प्रहरीले ३० जनाको नाम सार्वजनिक गरेको छ । यीमध्ये १० जना युएईमा बस्ने नेपाली छन् र उनीहरुलाई प्रहरीले समात्न सकेको छैन ।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्केच नै बनाएर टेलीफोन नम्बरसहित ३० व्यक्तिको नाम सार्वजनिक गरेको छ । प्रहरीको दाबीअनुसार युएईमा १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ पर्न बाँकी छ ।

प्रहरीको दाबीअनुसार सुन तस्करीका नाइके हरिशरण खड्का हुन् । उनी युएईमै बस्छन् । युएईमा बसेर सुन तस्करीमा खड्काको नेटवर्क अन्तरगत काम गर्नेहरुमा ध्रुब, रोशन गुप्ताल भुसाल, कृष्णगोपाल अग्रवाल, राजनप्रसाद पन्त, अर्जुनप्रसाद खरेल, चूडामणि उप्रेती, केशव चापागाई, सञ्चय भनिने दुर्गाप्रसाद खरेल र गोपाल भुसाल छन् ।

त्यसैगरी नेपालमै रहेर सुन तस्करीमा लागेकाहरुमा सन्तोष काफ्ले, गोपाल शाही दिलबन्धु थापा मुख्य रहेको प्रहरीको दाबी छ । उनीहरु युएईबाट सुन ‘रिसिभ’ गर्ने र विभिन्न ठाउँमा सप्ताई गर्ने काममा संल्गन रहेको प्रहरीको भनाइ छ ।

युएईबाट आएको सुनका मुख्य ‘रिसिभर’ व्यक्तिहरुमा रामहरी कार्की, सुबिन भनिने रामप्रताप खड्का, प्रकाश खरेल तथा बुद्धीमान खरेल रहेको प्रहरीको निश्कर्ष छ ।

त्यसैगरी गोपाल शाहीसँग मिलेर भरियाको काम गर्नेहरुमा निरज भनिने भोला मगर, संकेत खतिवडा उपाध्याय, विष्णु सुवेदी र माधव सुवेदी रहेको सीआइबीले बताएको छ ।

एयरपोर्टमा कोको संलग्न ?

सीआइबीको रिपोर्टमा सुन तस्करहरुलाई एयरपोर्टमा क-कसले सघाउने गरेको छ भन्ने पनि उल्लेख छ । जसमा दिलबहादुर थापाले ल्याएको सुन विमानस्थलमा श्रीनारायण यादवसम्म आइपुग्ने र उनीबाट एसएसपी श्यामबहादुर खत्रीसमक्ष पुग्ने गरेको बताइएको छ ।

यादवबाट एसएसपी खत्रीका अतिरिक्त राजकुमार ढकाल, गंगा भुर्तेल, तेजबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ र प्रदुम्नहरी श्रेष्ठसम्म विमानस्थलबाटै सुन तस्करीमा संलग्नता देखिएको सीआइबीको रिपोर्ट छ ।

कसले मगाउँथ्यो सुन ?

प्रहरीले युएईबाट सुन डिमान्ड गर्ने समूहको समेत नाम सार्वजनिक गरेको छ । सीआइबीको रिपोर्टअनुसार सुनको डिमाण्ड गर्ने समूहमा राजेन्द्रकुमार शाक्य, मालिका बज्राचार्य शाक्य, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अमोल भालचन्द्र र प्रमोद श्रेष्ठ रहेका छन् ।

सुनको डिमाण्ड ग्रुपसँग साझेदारका रुपमा संलग्नहरुमा रवि राजेश बोगटी, शनि श्रेष्ठ र गीता श्रेष्ठ रहेको सीआइबीले जनाएको छ । त्यस्तै मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ पनि सेयर होल्डरका रुपमा तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ ।

१२ समातिए, १८ उम्किए

प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार रहेको जनाइएको छ । पक्राउ परेकाहरुमा एसएसपी श्याम खत्री, युएईबाट सुनको लगेज ल्याउने गोपाल शाही समेत छन् । पक्राउ परेका अन्य व्यक्तिहरुमा सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, राजकुमार खरेल, श्याम श्रेष्ठ, रामहरी कार्की, मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ छन् ।
बाँकी सबै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment