+
+
Shares

पर्यटन मन्त्रीले भने-वायुसेवा निगमको ‘परिवार नियोजन’ नगरौं

लेखा समितिमा बहस- एयरबस सेतो कि खैरो हात्ती ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १६:०८

२२ फागुन काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले घोटाला हुने आशंकामा जहाज खरिद प्रक्रिया नरोक्न माग गरेका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले २८ वर्षदेखि ठूला विमान थप्न सकेको छैन । तर, पछिल्लो पटक निगमले बाइड बडीका दुई एयरबस खरिद प्रक्रिया अघि बढाएको छ ।

आइतबार संसदको लेखा समितिको बैठकमा सांसदहरुले विना कार्ययोजना एयरबस ल्याउन लागिएको भन्दै आलोचना गरेका छन् । साथै उनीहरुले यसका कारण निगम झनै घाटामा जाने र यो ‘सेतो हात्ती’ पालेजस्तो हुने दाबी गरे ।

तर, पर्यटनमन्त्री शाही र वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले त्यसको खण्डन गरे ।

मन्त्री शाहीले भने, ‘२८ वर्षदेखि वायुसेवा निगमको परिवार नियोजन भएको छ । यसले अहिलेसम्म ठूला जहाज थप्नै सकेको छैन, अनि हामी नाफा किन भएन भनेर मात्रै प्रश्न गर्छौं । नाफा कमाउन त हवाइजहाज थप्न पर्‍यो नि ।’

वायुसेवा निगमले एयरबस थप्न खोज्दा नकारात्मक टिप्पणी मात्रै हुने गरेको उनको भनाइ छ ।

वायुसेवा निगमका महाप्रवन्धक कंशाकार पनि सांसदहरुको दाबीमा सहमत छैनन् । आफूले कार्ययोजना बनाएर विमान थप्न लागेको भन्दै उनले भने, ‘सांसदज्यूहरुले सेतो हात्ती भन्नुभयो । त्यस्तो होइन, यो खैरो हात्ती हो ।’

वाइड बडीका कारण निगम नाफामा जाने दाबी गर्दै उनले यसमा नकारात्मक टिप्पणी गर्न बन्द गर्नुपर्ने बताए । वायुसेवा निगमका महाप्रवन्धक कंशाकारले थपे, ‘यो आफ्नो सीमित स्वार्थको लागि आलोचना भएको हो ।’

निगमलाई नाफामा लैजान विमान थप्न लागिएको भन्दै उनले भने, ‘विमान उडाउने कम्पनीसँग विमान नभए कसरी नाफामा जान्छ ? त्यसैले विमान थप्न लागिएको हो ।’

‘कर्मचारी भर्ना गरेको देखाउनुस्, राजीनामा दिन्छु’

महाप्रवन्धक कंशाकारले वायुसेवा निगममा आवश्यकताभन्दा बढी कर्मचारी रहेको दाबीको पनि खण्डन गरे ।

उनकाअनुसार अहिले १४ सय कर्मचारी रहेका छन् । र, यो अझै अपुग भएको उनले बताए ।

मन्त्री परिवर्तन भएसँगै निगममा कर्मचारी भर्ना गर्ने पनि परम्परा जस्तै बन्दै आएको छ । तर मन्त्री शाही भने आफूले निगममा एक जना पनि कर्मचारी नराखेको दाबी गरे ।

उनले लेखा समितिमा चुनौती दिँदै भने, ‘के मैले निगममा कर्मचारी भर्ना गरेको छु ? मैले कुनै कर्मचारी भर्ना गरेको देखाउनुहोस्, आजै राजीनामा दिन्छु ।’

रणनीतिक साझेदार भित्राउन निर्देशन

लेखा समितले वायुसेवा निगमलाई ३ महिनाभित्र रणनीतिक साझेदार भित्राउन निर्देशन दिएको छ । साथै एयरबस खरिदको आलोचना भएको भन्दै वास्तविकतासहित ५ दिनभित्र जवाफ पठाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल वायुसेवा निगमले वर्षौंदेखि रणनीतिक साझेदार भित्राउने भनिएपनि अहिलेसम्म त्यो गर्न सकेको छैन । आइतबारको लेखा समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले निगमले रणनीतिक साझेदार भित्राउन नसकेको भन्दै निगमका कर्मचारीको आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?