Comments Add Comment

केन्याविरुद्ध जितका लागि योगदान दिन चाहन्छु

दुई साता अघि एपेन्डिक्सको शल्यक्रिया गरेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सोमबार अभ्यासमा फर्किएका छन् । आगामी शनिबार विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि फिट हुने प्रयासमा छन् उनी । उनै पारससँग गरिएको कुराकानीः

अहिले कस्तो छ स्वास्थ्य ?

ठीकै छ, आजबाट ट्रेनिङ सुरु गरेको छु । अलिअलि रनिङ र ब्याटिङ गरेँ ।

डिस्चार्ज हुने दिन मात्र तपाईको शल्यक्रिया भएको खबर आयो । पहिलेदेखि नै केही समस्या भएको थियो कि … ?

एपेन्डिक्स त्यस्तै रहेछ, एक्कासी हुने । र, अपरेशन नै गर्नु पर्ने रहेछ । म ट्रेनिङ गरिरहेको थिएँ, (५ गते बिहीबार) बेलुकाको खाना खाएर सुतेपछि अलिअलि पेट दुखेको थियो । भोलिपल्ट लगातार दुखेपछि अस्पताल गएको हुँ । दुर्भाग्यबस, खेलको नजिकै भएर केही अप्ठ्यरो भएको हो ।

एक वर्ष पहिले पनि झण्डै यही समयमा स्वास्थ्यमा समस्या देखिएको थियो । त्यही दोहोरिएको हो ?

अहिले आएर हेर्दा शायद एपेन्डिक्स दुखेकै बेलामा अपरेशन गर्नु पर्ने रहेछ । त्यसबेला डायगनोज भएन र, के भएको थियो भन्ने नै थाहा भएन । अहिले त्यसबेला पनि एपेन्डिक्स नै भएको थियो कि जस्तो हुन्छ । त्यसबेला औषधिहरु खाएर ठीक भयो । दिल्ली जाँदासम्म सबै ठीक भइसकेको थियो । त्यहाँ आन्द्रामा अलिकति इन्फेक्सन चाँहि देखिएको थियो । त्यो पनि औषधिहरु खाएर नै ठीक भयो । अहिले डाक्टरहरुसँग कुरा गर्दा एपेन्डिक्स भएर दुख्यो र सानो जर्सरी गरेर ठीक पार्‍यो ।

मुस्किलले दुई साता मात्र आराम गर्न पाउनु भयो …

रेष्ट भन्दा पनि रिहाब पिरियडमै थिएँ । डाक्टरहरुले एकदेखि दुई साता पुरै रेष्ट त होइन, हिडडुल गर्न मिल्छ भन्नु भएको थियो । दुई सातापछि ट्रेनिङ गरिरहेको छु । हरौं, शरीरले १० तारिखसम्म कसरी रेस्पोन्स गर्छ ।

नेपाली क्रिकेटका धेरै समर्थकमा तपाई खेल्ने सम्भावनालाई चिन्ता देखिन्छ नि ?

एउटा खेलाडीका रुपमा मलाई पनि खेल्न मन छ । जितका लागि म योगदान दिन चाहन्छु ।

तर, हाम्रो टिमका सबै खेलाडीहरुमा क्षमता छ र, मलाई लाग्दैन कि एउटा व्यक्तिमाथि त्यति धेरै निर्भर हुनुपर्छ । विगतको समयमा हामीले टिमको रुपमा राम्रो क्रिकेट खेल्दै आएका छौं र सबैले राम्रो गरिरहेका छौं ।

अहिले पनि हामीले फर्ममा रहेका १४ खेलाडीलाई छनोट गरेका छौं । त्यसैले एक जना खेलाडीलाई मात्र प्राथमिकता दिनु भन्दा यो टिम गेम हो । कहिले काँही टिमको महत्वपूर्ण खेलाडी मिस हुनसक्छ । तर, यो होइन कि त्यो खेलाडी बाहेक अरुले खेल्नै सक्दैन । मलाई विश्वास छ कि टिमले राम्रो गर्छ, म खल्न सकुँ वा नसकुँ । म फिट भएँ भने त खेलिहाल्छु ।

तर, दुर्भाग्यबस फिट हुन सकिँन भने, मलाई विश्वास छ कि उहाँहरुले राम्रो खेलेर नेपाललाई जिताउनु हुनेछ । र, खेल नेपालमा हुँदैछ, यो हाम्रो लागि एड्भान्टेज हो ।

आजको दिनसम्म चाहिँ म खेल्न सक्छु भन्ने छ

अहिलेसम्म खेल्न सक्छु भन्ने नै छ र, त्यही अनुसार तयारी थालेको छु । हरौं, एकै पटक धेरै पुस पनि गरेको छैन किनकी १५/१६ दिनपछि आज भर्खर त क्रिकेट फिल्डभित्र आएको छु । आशावादी छु र जतिसम्म सक्छु पुस गरिरहेको छु । हेरौं, शरीरले कसरी रेस्पोन्स गर्छ ।

चिकित्सकहरुले चाहिँ शरीरले सक्छ भने खेल्न मिल्छ भनेका छन् ?

डाक्टरहरुले शरीरले कसरी रेस्पोन्स गर्छ हेर्नुस् भनेका छन् । नर्मल एक्टिभिटिज भइदिएको भए एउटा कुरा हुन्थ्यो । तर, यो त स्पोस्ट्र्स हो र, यसमा १०० प्रतिशत नै फिट हुनुपर्छ । यसका लागि शरीर फुल सेपमा हुनुपर्छ । डाक्टरसँग पनि सल्लाह लिइरहेको छु र आफूले पनि कोसिस गरिरहेको छु ।

तपाई अभ्यासमा फर्कनु अघि नेपाली टोलीको १४ सदस्य घोषणा भएको छ र, केही नयाँ अनुहार पनि छन् । ओपनिङमा हामीले नयाँ जोडी भेट्टाएका हौं ?

सुनिल (धमला)ले यू-१९ मा पनि ओपनिङ गरेको थियो । दिल्ली भ्रमणमा पनि राम्रो गरेका छन् । घरेलु प्रतियोगिताहरुमा पनि उसको राम्रो प्रदर्शन छ । सुनिल हामीसँग नेदरल्याण्ड्स टुरमा पनि गएका थिए तर, खेल्न पाएन । मलाई लाग्छ, उसले यो पटक डेब्यू गर्न सक्छ ।

दिपेन्द्र सिंह ऐरी पनि टिममा आएका छन् । उनले पनि यू-१९ मा राम्रो प्रदर्शन गरेका थिए । त्यसकै आधारमा हामीले टिममा छनोट गरेका हौं । टिममा युवा प्रतिभा आउनु हाम्रोलाई उत्साहजनक छ । आश गरौं कि टिम छनोटलाई न्याय दिएर आफ्नो ठाउँ सुरक्षित गर्न सकुन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सम्भवत यो हाम्रो अन्तिम होम म्याच होला । शीर्ष चारमा पर्नका लागि दुबै खेल जित्नै पर्ने दबाव पनि छ

हो, विश्व क्रिकेट लिगमा हाम्रो यो अन्तिम होम म्याच हो । त्यसैले यसको महत्वपूर्ण छ ।

विश्व क्रिकेट लिगको संरचना हेर्ने हो भने हरेक टिम उत्तिकै राम्रा छन् । अहिलेसम्म नेदरल्याण्ड्स हारेको छैन । तर, नेपाल मात्र त्यस्तो टिम हो, नेरदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हराएको छ ।

हाम्रो विगतको रिजल्ट हेर्ने हो भने स्कटल्याण्ड, पपुवा न्यूगिनीसँगको खेलमा हामी जितको एकदमै नजिक थियौं । तर, फिनिसिङ गर्न सकेनौं ।

त्यसले गर्दा अब बाँकी छ वटा खेलमा राम्रो क्रिकेट खेल्नुपर्छ । र, यदि हाम्रो आफ्नो क्षमता अनुसार खेल्ने हो भने जुनसुकै टिमलाई हराउन सक्छौं । नेरदरल्याण्ड्सलाई हराएर पनि यो प्रमाणित गरिसकेका छौं ।

तर, म फेरि पनि भन्छु, विगतलाई मात्र हेरेर हुँदैन, अबको खेलमा पनि त्यस्तै प्रदर्शन गर्न सक्नुपर्छ । घरेलु मैदान र घरेलु समर्थक छ । हामीले पनि मेहनत गरेका छौं । डेढ महिना अघिदेखि नै तयारी गरेका छौं । आश गरौं आउने २८ र ३० गते खेलाडीहरुले आफ्नो क्षमता देखाउने छन् ।

केन्या, एक समय विश्वकपको सेमिफाइनल पुगेको टिम पनि हो । उसले तयारी पनि राम्रै देखिन्छ । नेपाल आउन लागेको टोलीलाई कसरी हेर्नु भएको छ ?

केन्या राम्रो टिम हो । उनीहरुको अनुभव र क्रिकेटिङ ब्याकग्राउण्ड पनि बलियो छ । तयारी पनि राम्रो गरेका छौं । त्यसैले यो राम्रो प्रतिस्पर्धा हुनेछ र, हाम्रो लागि सजिलो हुनेछैन । हामीले राम्रो क्रिकेट खेल्नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment