Comments Add Comment

भारतबाटै शतप्रतिशत इन्धन ल्याउने नयाँ सम्झौताको तयारी !

नेपालले कच्चा तेल ल्याए भारतले प्रशोधन गरिदिने


२५ फागुन, काठमाडौं । विगतमा नाकाबन्दीका बेला चीनबाट तेल ल्याउने विषयले चर्चा पाएको थियो, तर त्यो व्यहारका कार्यान्वयन भएन । अहिले भारतबाटै शत प्रतिशत इन्धन ल्याउने गरी नयाँ सम्झौताको तयारी भएको छ । तर, नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले ‘अब्जेक्सन’ नगर्ने र प्रशोधनसमेत गरिदिने भएको छ ।

नेपालले कच्चा तेल आपूर्ति गरेमा भारत भाडामा आफ्नो तेल रिफाइनरी प्रयोग गर्न दिन तयार भएको नेपाल आयल निगमका अधिकारीहरुले जानकारी दिएका छन् ।

काठमाडौंमा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगम (आईओसी) बीच आगामी ५ वर्षका लागि हुने इन्धन आपूर्ति सम्झौताको मस्यौदा तयार भएको छ । मस्यौदामा नेपालले आफैंले पेट्रोलियम रिफाइनरी गर्न चाहेमा भारतले आफ्नो पूर्वाधार प्रयोग गर्न दिने विषय उल्लेख छ ।

त्यसैगरी आयल निगमले नेपालभित्रै त्यस्तो रिफाइनरी सञ्चालन गरेमा तेस्रो मुलकुबाट कच्चा तेल ल्याउन आईओसीले ‘अब्जेक्सन’ नगर्ने सहमति पनि भएको आयल निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलले अनलाइनखबरलाई बताए ।

दुई निकायका अधिकारीले काठमाडौंमा तीन दिन लगाएर मस्यौदालाई अन्तिम रुप दिएका हुन् । सम्झौताको अन्तिम मस्यौदामा नेपालमा रिफाइनरी खोल्न आइओसीसँगको सम्झौता बाधक नहुने उल्लेख छ ।
आयल निगमले तेस्रो मुलकुबाट प्रशोधित तेल नै तेल ल्याउन पनि आइओसी ‘अब्जेक्सन’ नगर्ने मस्यौदामा उल्लेख छ । यसअघिका सम्झौतामा आइओसीसँग नै पेट्रोलियम ब्यापारको सुनिश्चितता गरिएको थियो ।

पाँच वर्षसम्म नेपालले मागे जति तेल दिने विषयमा पनि आइओसीले सहमति दिएको छ ।चीनबाट ३० प्रतिशत तेल ल्याउने समझदारी भए पनि त्यसको कार्यान्वयन गर्न सरकार उदासीन देखिएको छ । त्यसैले निगमले आइओसीबाट अहिले मागको शतप्रतिशत तेल ल्याउन सकिने गरी सम्झौता गर्न लागेको हो ।

‘अन्य विकल्प नबनेसम्म भारतबाट अहिले मागको शतप्रतिशत तेल ल्याउने र नेपाललाई आवश्यक पर्दा वा भविश्यमा अन्य मुलुकबाट तेल ल्याउन पनि भारतको बाटो पनि खुला राख्ने गरी यो सम्झौता हुनेछ’ प्रवक्ता पोखरेलले भने ।

मस्यौदामा निगमका निर्देशक र आइओसीका निर्देशकहरुले हस्ताक्षर गरेका छन् । अब केही दिनपछि औपचारिक समारोह गरेर सम्झौतामा आयल निगम र आइओसीका प्रवन्ध निर्देशकहरुले हस्ताक्षर गर्नेछन् । अब हुने सम्झौता मार्च ३१, २०२२ सम्म कार्यान्वयन हुनेछ ।

रकम भुक्तानीको ढिलाइ स्वीकार्य

यही मस्यौदामार्फत आइओसीले इन्धनको रकम भुक्तानीमा अब केही दिन ढिला भए पनि ब्याज नलिने लिखित सहमति दिएको छ । अहिले निगमले महिनामा ८ र २३ तारेखमा आइओसीलाई तेल र ग्यासको रकम भुक्तानी गर्छ । एक दिनमात्रै ढिलाइ भए पनि भारतले १० प्रतिशत ब्याज लगाउने गरेको छ ।

अब भने समयसीमाको ३ दिनसम्म आयल निगमले रकम भुक्तानी गर्दा आइओसीले ब्याज नलिने आयल निगमका प्रवक्ता पोखरेलले बताए । ‘एक दिन मात्रै ढीला भएकै आधारमा चर्को ब्याज तिर्नुपर्ने अवस्था अब अपि्रलबाट हट्दैछ’ पोखरेलले भने, ‘हामी कुनै समयमा भुक्तानीमा छिटो वा ढिलो हुन सक्छौं । त्यसैअनुसार सम्झौताको मस्यौदा तयार भएको छ ।’

लोडिङ हेर्न ‘स्वतन्त्र सर्भेयर’

यसैगरी बैठकले नेपाली ट्याकंर लोड हुने भारतका सबै सबै डिपोमा स्वतन्त्र सर्भेयर राख्ने निर्णय पनि गरेको छ । आईओसीले पूरा परिमाणका तेल नभरिदिने गरेको गुनासो सम्बोधन गर्न स्वतन्त्र निगरानीकर्ता राख्ने सहमति भएको हो ।

आइओसीका डीपोहरुमा अब तेल भर्ने कामको स्वतन्त्र अनुगमन ती सर्भेयरले गर्नेछन् । टेण्डर गरेर त्यस्तो त्यस्तो सर्भेयर छानिनेछन्, जसले आइओसीका डिपोमा बसेर नेपालमा लोड हुने तेलको परिमाणको चेक गर्नेछन् ।

आइओसीका कर्मचारीले बदमासी गर्न खोजे उनीहरुले दुबै निकायमा जानकारी गराउनेछन् । ‘ट्यांकर चालकहरुले आइओसीले भनेजति तेल नभरिदिँदा आफूहरु मर्कामा परेको बताइरहेका थिए । डिलरहरुबाट पनि त्यस्तो गुनासो थियो’ त्यसलाई सम्बोधन गर्न अब इन्डिपेन्डेन्ट सर्भेयर राख्ने सहमति भएको हो’ पोखरेलले भने ।

भारतले नाफाको सीमा घटाउने

त्यसैगरी मस्यौदामा नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउने विषय पनि उल्लेख छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ ।

भारतीय आयल कर्पोशरेन (आइओसी) नेपालले बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा ०.५ प्रतिशत घटाउन लागिएको हो ।

हाल यो २.५ प्रतिशत छ । तर, मार्चपछि २ प्रतिशतमा झार्ने सहमति भएको छ । अब भारतबाट आउने तेल थप सस्तो हुनेछ । यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुने प्रवक्ता पोखरेलले बताए ।

वीरगञ्ज नजिकै ग्यास दिइने

त्यसैगरी आइओसीले नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्ज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने भएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको हो ।

मुजफ्फरपुरको डिपोबाटै नै नेपालले मागेजति सबै ग्यास लोड गर्न आईओसी तयार भएको पोखरेलले बताए । मुजफ्फरपुरको निर्माणाधीन ग्यास डिपोबाट नेपाललाई पर्याप्त लोड दिने सहमति भएको छ । मुजफ्फरपुरमा ग्यास लोडिङ सुरु भएपछि रक्सौल नाका हुँदै ग्यास नेपाल भित्रिनेछ ।

अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । मुजफ्फरपुरको डिपो सञ्चालनमा आएपछि नेपालले नेपालको सीमाबाट १२० किलोमिटरकै दूरीमा ग्यासको लोडिङ पाउनेछ । सबैभन्दा सजिलो नाका बीरगञ्ज नजिकै नेपालले ग्यासको लोडिङ गर्न पाउनेछ ।

भारतले अहिले मुजफ्फरपुरसम्म पेट्रोलियम ग्यासको पाइपलाइन निर्माण गरिरहेको छ । त्यहाँ ग्यासको भण्डारण केन्द्र पनि बनाइँदैछ । अहिले मासिक २० करोड रुपैयाँ ग्यास ढुवानीमा खर्च भइरहेको छ । मुजफ्फरपुरबाट ग्यासको लोडिङ सुरु भएपछि यो लागत घटेर मासिक २ करोडमा आइपुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment