
२५ वेशाख, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीन–क्यारेबियन सम्बन्ध र सहकार्यमाथि आक्षेप र आक्रमण गर्न अमेरिकी प्रयासलाई ‘घृणास्पद‘ भनेका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार उनले अमेरिकी यो प्रयास अन्ततः असफल हुने जिकिर गरेका छन् ।
प्रवक्ता जियानले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारेबियन राष्ट्रहरूले पूर्वाधार आयोजना निर्माणका लागि बिक्रेता र ठेकेदार छनोट गर्दा दिएका पछिल्ला टिप्पणीहरूको जवाफमा यो प्रतिक्रिया दिएका हुन्।
दैनिक पत्रकार सम्मेलनमा बोल्दै लिनले ती टिप्पणीहरूलाई चीनमाथि गरिएको दुर्भावनापूर्ण आक्रमणको संज्ञा दिए । अमेरिकी यो प्रयासले चीनको छवि बिगार्ने तथा सम्बन्धित राष्ट्रहरूसँगको सम्बन्धमा खलल पुर्याउने उद्देश्य राखेको उनले टिप्पणी गरे ।
उनले यसलाई वैचारिक पूर्वाग्रह र अन्तर्राष्ट्रिय सम्बन्धका मौलिक मान्यताहरूको घोर अपमानको रूपमा चित्रित गरे।
‘चीन यसप्रति गम्भीर असन्तोष र दृढ विरोध प्रकट गर्छ,’ प्रवक्ताले भने।
लिनले क्यारेबियन राष्ट्रहरूले आफ्ना सहयोगी स्वतन्त्र रूपमा चयन गर्ने अधिकार राख्ने स्पष्ट गर्दै कसैको घोचपेच सहनु नपर्ने बताए।
उनले थपे, ‘चीन र क्यारेबियन राष्ट्रबीचको सम्बन्ध दुवै पक्षको आधारभूत र दीर्घकालीन हितअनुकूल छ। चीन–क्यारेबियन सम्बन्ध र सहकार्यमाथि अमेरिकाले आक्रमण गर्ने र बदनाम गर्ने घृणित प्रयास कहिल्यै सफल हुने छैन।‘
प्रतिक्रिया 4