+
+
Shares

लम्कीबाट प्रचण्डलाई माधव नेपालको प्रश्न-वीपी कोइरालाको जस्तो साहस छ कि छैन ?

बर्दिया र कैलालीका थारु बस्तिमा एकै दिन ३ ठूला सभा गर्दै अभियान लम्की पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २ गते १९:४८


२ चैत, लम्की (कैलाली) । नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई वीपी कोइरालाको जस्तो साहस देखाउन सुझाव दिएका छन् । मेची महाकाली अभियानका क्रममा कैलालीको लम्कीमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले कञ्चनपुर घटनामा भारतलाई माफी मगाउन प्रधानमन्त्रीले हिम्मत देखाउनुपर्ने बताए ।

नेपालले भने, ‘कञ्चनपुरमा भएको घटनाका सम्बन्धमा भारतले नेपालसँग माफी माग्नुपर्छ । ०१६ सालमा उत्तरी सीमामा यस्तै हुँदा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले हिम्मत गरेर चीनसँग माफी माग्नुपर्छ भनेका थिए । अहिले प्रचण्डमा त्यो हिम्मत छ कि छैन ? साहसका साथ के उनले त्यो भारतसँग भन्न सक्छन् ?’

नेपालले सिमानामा भारतीय प्रहरीको गोलीबाट सहिद भएका गोविन्द गौतमका परिवारको रेखदेखका लागि पाँच करोड भारु क्षतिपूर्ति दिनुपर्ने बताए । उनले भने, ‘सरकारले लम्पसार हुने नीति छाडोस्, नेपालका पक्षमा उभियोस् ।’

नेपालपले ७ नम्बर प्रदेशको एक इन्ज भूभाग पनि तलमाथि हुन नदिने भन्दै सुदूरपश्चिमको विकासको भिजन एमालेसँग रहेको दाबी गरे । नेपालले भने, ‘सुदूरपश्चिमको विकासका लागि एमालेले विशेष ध्यान दिएको छ । यहाँ मेडिकल कलेज स्थापना गर्नेदेखि अरु ठूला आयोजना निर्माण जस्ता काममा हामीले ध्यान दिएका छौँ ।’

नेपालले संविधानले मधेसी, थारु, जनजाति, दलित, खस आर्य सबैलाई बराबरी अधिकार दिएकोले अब व्यवहारिक कार्यन्वयनमा जानुपर्ने बताए ।

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष भीम रावलले थारु र मधेसी जनता कसको पक्षमा छन् भन्ने पुष्टि चुनावपछि मात्र हुने भएकाले चुनाव सामना गर्न आग्रह गरे ।

एमाले महासचिव ईश्वर पोखरेलले संविधान संशोधन नेपाली जनताको एजेण्डा नभएकाले प्रचण्ड र शेरवहादुर देउवा विदेशी एजेण्डा बोक्ने भरिया बनिरहेको आरोप लगाए । सभालाई एमाले कैलाली जिल्ला कमिटीका सचिवालय सदस्य केवालाल चौधरी, झपट रावल, दीर्घ सोडारी लगायतले सम्बोधन गरेका थिए ।

एमालेको मेची महाकाली अभियान ५ नम्बर प्रदेशमा ४ दिनसम्म कार्यक्रम गरेर बुधबार ७ नम्बर प्रदेशमा पसेको हो । बुधबार अभियानका क्रममा बर्दिया र कैलालीका तीन थारु बस्तिमा ठूला सभा गरिएको छ । राजापुर, टीकापुर र लम्कीको सभामा ५० हजार भन्दा बढि सहभागी भएको एमाले नेताहरुले दाबी गरे ।

अभियान बिहीबार धनगढीमा सभा गरेर महेन्द्रनगर पुग्नेछ । महेन्द्रनगरमा सभापछि प्रदेश नम्बर ६ को सुर्खेतमा पुगेर अभियान समापन हुने प्रचार बिभाग सचिव बिष्णु रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?