Comments Add Comment

अष्ट्रेलियामा घर खरिद गर्नेमा नेपाली पाँचौं नम्बरमा

नेपालीको चुलिँदो हैसियत


सिड्नी । अष्ट्रेलियामा नेपालीहरुलाई स्थायी बसोबास अनुमति दिने क्रम बढेसँगै यहाँको अर्थतन्त्रमा नेपालीको योगदान पनि बढ्दै गएको छ ।

अष्ट्रेलियाको न्यू साउथ वेल्समा बिकेका प्रत्येक १० घरमा एउटा विदेशीले खरिद गरेका छन् । खरिद गर्ने विदेशीहरुको सूचीमा नेपालीहरु पाचौं स्थानमा रहेको डेली टेलिग्राफले प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ ।

हालै सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा बढि संख्यामा चिनियाँहरुले घर खरिद गरेका छन् । घर खरिद गर्ने सम्पुर्ण विदेशीहरुमध्ये एक तिहाई चिनियाँहरु रहेको तथ्यांकले देखाएको छ । यो गत वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको आँकडा हो जब विदेशीहरुले सही रुपमा खरिदको घोषणा गर्नुपर्ने निश्चितता गरिएको थियो ।

यस अवधिमा न्यू साउथ वेल्समा विक्री भएका सबै घर तथा इकाइहरुमध्ये ११ प्रतिशत विदेशीहरुले खरिद गरेको आँकडाले देखाएको छ । जबकि गत वर्षको जूनमा न्यू साउथ वेल्सले वैदेशिक लगानीकर्ताले तिनुपर्ने स्ट्याम्प करमा ४ प्रतिशत वृद्धि गरेको थियो ।

सबैभन्दा बढि घर खरिद गर्ने विदेशीहरुमा पहिलो स्थान चीन (३३ प्रतिशत) ले लिएको छ भने त्यसपछि बेलायत र न्यूजिल्याण्ड (११ प्रतिशत) रहेका छन् । चौथो स्थानमा भारत (१० प्रतिशत) रहेको छ ।

पाचौं स्थानमा नेपाल रहेको छ । घर खरिद गर्ने विदेशीहरुमा नेपालीको हिस्सा ३ प्रतिशत रहेको छ । मलेसियाका नागरिकहरुले पनि नेपालीकै अनुपातमा घर खरिद गरेको आँकडाले देखाएको छ ।

सामान्यतया अष्ट्रेलियामा स्थायी बसोबास अनुमतिपत्र (पीआर) प्राप्तिसँगै नेपालीहरुले घर किन्ने गर्दछन् । रियलस्टेटमा गरिएको लगानीको राम्रो प्रतिफल आउने र बृद्धिदर पनि राम्रो भएकाले नेपालीहरुले एकभन्दा धेरै घर किन्ने प्रचलनसमेत देखिएको छ ।

गत वर्षको तीन महिने अवधिमा विदेशी खरिदकर्तालाई २ हजार ९ सय ९५ घरहरु विक्री भएका छन् जसबाट ११ करोड ५० लाख डलर कर उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment