Comments Add Comment

गाउँपालिका कार्यालय स्थापना गर्न दिँदैनौंः महतो

४ चैत, रौतहट । मधेसी मोर्चाले स्थानीय तहअन्तर्गतको नगरपालिका र गाउँपालिकाको कार्यालय स्थापना गर्न नदिने चेतावनी दिएको छ । उसले स्थानीय तहको निर्वाचन पनि हुन नदिने घोषणा गरेको छ ।

सरकारको समर्थन फिर्ता लिएको मोर्चाले हालै सरकारविरुद्ध ‘असहयोग आन्दोलन’ गर्ने घोषणा गरेको छ ।

मोर्चाका नेता एवम् सदभावना अध्यक्ष राजेन्द्र महतोले मधेसमा गाउँपालिका कार्यालय स्थापना गर्नै नदिने बताए ।

‘मधेसमा कुनै पनि हालतमा स्थानीय तहअन्तर्गतको गाउँपालिकाको कार्यालय स्थापना एवं सञ्चालन हुनै दिँदैनौं,’ शुक्रबार रौतहटको गौरमा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले भने ।

५१ प्रतिशत जनसंख्या रहेको मधेसमा २५ प्रतिशतमात्र गाउँपालिका र नगरपालिका दिएर सरकारले वर्षौं वर्षको विभेदलाई निरन्तरता दिएको महतोको भनाइ छ ।

सरकारले स्थानिय तहको निर्वाचनको तयारी गरिरहँदा महतोले भने देशमा कुनै पनि निर्वाचन हुन नसक्ने दाबीसमेत गरे । संविधान संशोधन नगरिएकाले मधेसी जनताको अधिकार सुनिश्चित नभएको भन्दै उनले यथास्थितिमा कुनैपनि निर्वाचन हुन नदिने बताए ।

‘मधेसी मोर्चासँग भएको लिखित सहमति कार्यान्वयन नगरे स्थानीय तह वा कुनै पनि निर्वाचन हुन दिँदैनौं,’ महतोले भने ।

सरकारले मधेसी जनताको मागलाई सम्बोधन नगरेर जबरजस्ती अघि बढ्न खोजिरहेकाले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर असहयोग आन्दोलन शुरु गरेको महतोले बताए । अबको आन्दोलनले सर्वसाधारण जनतालाईभन्दा सरकारलाई प्रभाव पार्ने नेता महतोको भनाइ छ ।

मधेसी मोर्चाको सहमतिमा प्रधानमन्त्री बनेका प्रचण्डले मोर्चासँग सल्लाह नै नगरी निर्वाचनको मिति घोषणा गरेर मधेसी जनतालाई ठूलो धोखा दिएको आरोपसमेत उनले लगाए ।

अर्को प्रसंगमा महतोले सप्तरीमा पाँचजनाको ज्यान जाने गरी भएको गोलीकाण्डको सम्पूर्ण जिम्मेवारी एमालेले लिनुपर्ने बताए । मधेस र मधेसी जनतालाई अपमान हुने गरी कटु शब्दहरु प्रयोग गर्ने एमाले नेताको बानी कै कारण मधेसी जनता रुष्ट भएको र एमालेप्रति जनताको आक्रोश झनै बढेको उनले तर्क गरे ।

आफूहरु निर्वाचनको विरोधी नरहेको र मधेसी जनतालाई लोकतन्त्रको पाठ सिकाउन नपर्ने भन्दै अध्यक्ष महतोले मधेसी जस्तो राष्ट्रभक्त अरु कोही नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment