Comments Add Comment

चुनाव खर्च १० अर्ब, कर्मचारी परिचालन १ लाख

७ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्दा करिब १० अर्ब २९ करोड खर्च हुने अनुमान गरेको छ । निर्वाचन व्यवस्थापनका लागि यति खर्च लाग्ने आयोगको अनुमान हो ।

निर्वाचनमा प्रयोग हुने सामाग्रीहरुको खरिद, मतपत्र छपाइ, मतदाता शिक्षाका विभिन्न कार्यक्रम, मतपेटिक खरिद लगायत काममा यो पैसा खर्च हुने आयोगले पूर्वानुमान गरेको हो ।

एक लाख २६ हजार कर्मचारी

यस्तै निर्वाचनमा १ लाख २६ हजार कर्मचारी परिचालन हुने पनि आयोगले पूर्व अनुमान गरेको छ । आयोगले यही आधारमा कर्मचारी व्यवस्था गर्न सरकारलाई पत्र लेखेको छ ।

यो संख्या सुरक्षाकर्मी बाहेकको संख्या हो । ती कर्मचारीहरुलाई आयोगले मतदान केन्द्रमा खटाउने छ । आयोगले मुख्य निर्वाचन अधिकृतको रुपमा ७ सय ४४ कर्मचारी खटाउँदैछ । यस्तै मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिकामा ४२ हजार कर्मचारी खटिने छन् । आयोगले कर्मचारीको खाका तयार गरिसकेको छ । र, बाँकी ८४ हजार कर्मचारीलाई अन्य काममा लगाउने बताएको छ । अन्य कर्मचारीले निर्वाचन समन्वयन, जगेडा, लगायत विभिन्न भूमिकामा रहेर काम गर्नेछन् ।

८४ हजार मतपेटिका

आगामी निर्वाचनमा ८४ हजार मतपेटिका प्रयोग हुने आयोगले अनुमान गरेको छ । देशभर करिब २१ हजार मतदान केन्द्र हुने र ८४ हजार मतपेटिका आवश्यक पर्ने भन्दै आयोगले तयारीको काम अन्तिम अवस्थामा पुर्‍याएको छ । आयोगले स्थानीय तहको निर्वाचनमा अधिकाशं ८० लिटर क्षमताको ठूलो मत पेटिका प्रयोग गर्न लागेको हो ।

मतपत्रको आधार सामान्य भन्दा ठूलो हुने भएपछि आयोगले त्यस्तो तयारी गरेको हो । आयोगले अब केही दिनमै मतपेटिकाको व्यवस्था भइसक्ने आयोगले जनाएको छ ।

मतपत्र १ करोड ५४ लाख

आयोगले आगामी निर्वाचनका लागि १ करोड ५४ लाख मतपत्र छाप्दैछ । आयोगमा १ करोड ४० लाख मतदाता दर्ता भएका छन् । आयोगले आवश्यक मतपत्र भन्दा १० प्रतिशत बढी मत छाप्न लागेको हो ।

निर्वाचनका क्रममा हुन सक्ने सम्भावित दुर्घटनामा समेत लगत्तै अर्को मतपत्र पुर्‍याउन सक्ने गरी आयोगले जगेडा मतपत्र समेत छाप्न लागेको हो । आयोगले कुनै मतदान केन्द्रको मतपत्र नष्ट भएमा वा प्रयोगमा आउने स्थिति नदेखेमा अतिरिक्त मतपत्रलाई प्रयोगमा ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment