Comments Add Comment

शहीद गौतमका परिवारलाई कैदीबन्दीको २५ हजार सहयोग

८ चैत, कञ्चनपुर । दुई साताअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गाेली हानी हत्या गरेका पुनर्वास नगरपालिकाका गोविन्द गौतमको परिवारलाई कञ्चनपुर कारागारका कैदीबन्दीले सहयोगस्वरुप २५ हजार रूपैयाँ प्रदान गरेका छन् ।

कञ्चनपुर कारागारमा आज बिहान पत्रकार सम्मेलन गरी कैदीबन्दीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका शहीद गौतमको सम्मानस्वरुप परिवारलाई २५ हजार र सोही आक्रमणमा परी घाइते भएका टीकाराम चापागाईंको उपचारका लागि आठ हजार चार सय १४ प्रदान गरेका हुन् ।

कैदीबन्दीका तर्फबाट नाइके टेकराज जोशीले कारागार कार्यालयका प्रमुख श्यामराज भट्टलाई उक्त रकम प्रदान गरेका हुन् । ‘कैदीबन्दीलाई राज्यले दिएको खानाले पेटसमेत भर्न गाह्रो छ’, नाइके जोशीले भने, ‘तर पनि सामाजिक उत्तरदायित्व ठानेर कैदीबन्दीले रकम सङ्कलन गरेका हाैं ।

उनले थपे, ‘माटो बचाउन लडेका गौतमको सम्मानका लागि हामीहरुले खानाखर्चबाट रकम कटाएर २५ हजार दिएका हौँ । रकमभन्दा पनि कैदीबन्दीले उहाँप्रति सम्मान व्यक्त गरेका हुन् ।’

कञ्चनपुरका कैदीबन्दीले सो घटनामा भारतले माफी माग्नाका साथै उचित क्षतिपूर्ति, सहिद परिवारलाई दिनुपर्ने मागसमेत गरेका छन् ।

रकम बुझ्दै कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले उक्त रकम परिवारलाई बुझाउन प्रजिअलाई हस्तान्तरण गरिने बताए । कल्भर्ट निर्माणका विषयलाई लिएर आनन्द बजारमा नेपाली पक्षमाथि गोली चलाउँदा गत फागुन २६ गते गौतमको हत्या भएको थियो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment