Comments Add Comment

विद्यालय एकमात्र करार शिक्षकको भरमा, चार जना निलम्बित

८ चैत, डोटी । गाविसले दिएको अनुदान रकममा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि डोटीको सिलगढी नगरपालिका-९ मछन्तोलास्थित मष्टेश्वर विद्यालयका चार शिक्षक निलम्बनमा परेका छन् । शिक्षकहरु निलम्बनमा परेपछि पठनपाठन प्रभावित भएको छ ।

विद्यालयमा पाँच जना सरकारी अनुदान र दुई जना स्थानीय स्रोतबाट गरी विद्यालयमा सात जना शिक्षकको कोटा छ । तर, पाँच कक्षासम्म पढाइ हुने विद्यालय हाल एकजना करार शिक्षकको भरमा चलिरहेको छ ।

मुद्दाको किनारा नलाग्दा शिक्षकलाई सास्ती

साबिकको बगलेक गाविसबाट २०६४/६५ देखि ०७०/७१ सम्म बिद्यालयको भौतिक पूर्वाधारका लागि बिनियोजन भएको चार लाख ५५ हजार रुपैयाँ हिनामिना भएको भन्दै अख्तियारमा बेनामी उजुरी परेको छ । अख्तियारले छानबिन गर्ने क्रममा सो अवधीमा क्रमैसँग प्रधानाध्यापक बनेका शिक्षकहरु लक्ष्मण साफी, मुक्तीराज जोशी, सुनिता केसी र बिरवहादुर साउँदलाई गत फागुन १७ गते निलम्वन गरेपछि बिद्यालयमा एकजना करार शिक्षक नरबहादुर बोहरामात्रै कार्यरत छन् ।

सिलगढी नगरपालिका-९ मछन्तोला (साबिकको बगलेक गाबिस-९) मा रहेको मष्टेश्वर आधारभूत विद्यालयमा स्थायी शिक्षक एक, सट्टा एक, करार एक र राहत दुई गरी सरकारी अनुदानका पाँच जना शिक्षक थिए ।

चार शिक्षकहरुसँगै बद्यालय व्यवस्थापन समिति अध्यक्ष महा साउँद, बगलेकका प्राविधिक धनबहादुर बिष्ट र सोही गाबिसका तत्कालीन सचिव भीमबहादुर धामी पनि अनुसन्धानमा तानिएका छन् । प्राविधिक विष्ट पनि निलम्वनमा छन् । धामी सेवानिवृत्त भइसकेका छन् ।

२०७१ साल भदौ ५ गते पहिलोपटक अख्तियारले विद्यालयमा उजुरीका सम्वन्धमा पत्राचार गरेको थियो । त्यस बेलादेखि भइरहेको अनुसन्धान अझै टुंगिएको छैन । उजुरी आएपछि शिक्षकहरुले आफूहरुले कुनै अनियमितता नगरेको जवाफ दिएका थिए । उक्त जवाफपछि कुरा मिलेको सोचेका शिक्षकहरुलाई करीब एक वर्षपछि अख्तियारको टोली विद्यालयमै पुगेपछि मुद्दा जारी रहेछ भन्ने जानकारी भयो ।

‘आरोप गलत, दुःख दिने नियत’

तर, विद्यालयमा अनियमितता नभएको आरोपीहरुको दाबी छ । ‘विद्यालयमा कुनै आर्थिक अनियमितता भएको छैन,’ निलम्वित शिक्षक जोशीले भने, ‘बजेट अनुसार गर्नुपर्ने काम अभिभावकहरुले जनश्रमदानबाट भएको हो । उक्त रकम हामीहरुले बिद्यालयको खातामा राखेर नीजिश्रोतको शिक्षकहरुलाई तलब खुवाएका हौं ।’

आफूहरु माघ २, फागुन २६ र चैत ४ गरी तीन पटक बिशेष अदालतमा हाजिर भएको बताउँदै जोशीले बेनामी उजुरी गर्नेले आफूहरुलाई अनावश्यक दुःख दिन खोजेको बताए ।

विद्यार्थीको भविष्यको चिन्ता

विद्यालयमा हाल कार्यरत एकजना मात्र शिक्षक नरबहादुर बोहोरा एक्लैले वार्षिक परीक्षा सञ्चालन गरेका छन् । जनशक्ति र आर्थिक स्रोत नहुँदा विद्यालय सञ्चालनमा कठिनाइ भएको उनले बताए ।

‘५ कक्षासम्मको बिद्यालयमा म एक्लैले के गर्नु ?’ शिक्षक बोहरा भन्छन्, ‘त्यसैले वार्षिक परीक्षा चाँडै गरे ।’ सोमबार वार्षिक परीक्षा सकिएको बोहरा बताउँछन् ।

शैक्षिक सत्र २०७२ सम्म कक्षा ८ सम्म पढाइ भइरहेको बिद्यालय २०७३ को शैक्षिक सत्रदेखि ५ सम्म झरेको बोहराले बताए । उनले भने, ‘गाउँ बिकास समितिले पनि अनुदान दिन छोडेपछि निजी स्रोतबाट राखेका दुई जना शिक्षकहरुलाई तलब खुवाउन स्रोत नभएपछि बिद्यालय तल झार्नु परेको हो ।

उक्त विद्यालयमा २०६६ सालदेखि निमाबिको पढाई सुरु भएको थियो ।

विद्यालयमा अध्ययनरत एक सय ९८ बालबालिकाहरुका अभिभावकहरुलाई आगामी शैक्षिक क्षेत्रमा विद्यालयको अवस्था के हुने भन्ने चिन्ता छ । एक स्थानीय अभिभावकले भने, ‘यो कारवाही कहिलेसम्म हुने हो ? तबसम्म हाम्रा बालबालिकाहरुको जिम्मा कले लिने हो ?’

शिक्षकहरुको आपसी बिवादका कारण तत्कालीन प्रधानाध्यापक लक्ष्मण साफीले २०६९ साल मंसिर २९ गते राजीनामा दिएपछि मुक्तीराज जोशी प्रधानाध्यापक भएका थिए । जोशीले ०७० पुष २ गते राजीनामा दिएपछि सुनितालाई प्रअ बनाइएकोमा सुनिताले पनि राजीनामा दिएपछि बिरबहादुर साउँदलाई प्रधानाध्यापक बनाइएको थियो । यी चारै जना शिक्षकहरु अहिले निलम्वनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment