+
+

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौतामा हस्ताक्षर नहुने

हामी त अहिले नै तयार छौं, प्राविधिक कारणले मात्र नहुने भोः मन्त्री महत

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ९ गते १५:०२

९ चैत, काठमाडौं । भोलिबाट सुरु हुने प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता तथा साझदारीमा हस्ताक्षर नहुने भएको छ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार नेपालले केही सम्झौताका लागि तयार गरेको थियो । तर, प्राविधिक कारण सम्झौता नहुने भएको छ ।

बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भोलि चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री महतले बुधबार पत्रकार सम्मेलन गरी भने, ‘हामीले ४/५ वटा विषयमा गृहकार्य गरेका थियौं । तर, अहिले सम्झौता नहुने भयो ।’

उनले अघि भने, ‘हामी त अहिले नै तयार छौं । तर, चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्रीको अनुपस्थितिको प्राविधिक कारणले मात्र नहुने भएको हो ।’

प्रचण्ड बेइजिङमा हुँदा चीनका प्रधानमन्त्री र विदेशमन्त्री अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमणमा हुनेछन् ।

यस्तो थियो नेपालको गृहकार्य

मन्त्री महतका अनुसार नेपालले लगानी, क्रस बोर्डर इकोनोमिक जोन लगायतका विषयमा समझदारी तथा सम्झौताका लागि गृहकार्य गरेको थियो ।

‘वान बेल्ट वान रोड’ अवधारणाका विषयमा पनि दुई देशबीच धेरै छलफल भएको उनले बताए । केनेक्टिभिटी -सडक र रेल) का साथै लगानी भित्र्याउँदा नेपाललाई फाइदा हुने भएपनि ‘फ्री  ट्रेड’बारे थप अध्ययन भइरहेको उनले बताए ।

उनले भने, ‘हाम्रो निर्यात न्यून र आयात अथाह भएकाले यसमा थप अध्ययन गर्ने क्रममा छौं । हाम्रो आवश्यकता र स्वार्थ रक्षा गरेर मात्र अगाडि बढ्नुपर्छ ।’

मन्त्री महतका अनुसार सरकारले केपी ओली नेतृत्वको सरकारले चीनसँग गरेको समझदारी कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहेको छ । ‘रेल ल्याउने समझदारी गर्नु र साँँच्चिकै रेल गुडाउनु अलग कुरा हो,’ उनले भने ।

आफूहरुले ‘साइलेन्टली’ काम गरेको उनको दाबी थियोे । परराष्ट्रमन्त्री महतले भने, ‘हाम्रो देशको हित र स्वार्थलाई केन्द्रमा राखेर सम्वन्धित देशको पनि चासो र हितलाई हाम्रो स्वार्थसँग नबाझिने गरी काम गर्ने हो ।’

के छ प्रचण्डको चीन भ्रमणको कार्यक्रम ?

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री महतसहित भोलि चीन जानेछन् । भ्रमण टोली सानो आकारको हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले ११ गते चीनका उपपप्रधानमन्त्रीलाई भेट्नेछन् भने १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नेछन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच १३ गते भेटवार्ता गर्ने तय भएको छ । सीसँगको भेटको भेटमा द्विपक्षीय सम्बन्ध बिस्तार र सुदृढ गर्ने विषयमा कुराकानी हुने मन्त्री महतले बताए ।

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा नेपाल-चीन सम्वन्धबारे प्रवचन दिनेछन् । साथै चिनियाँ उद्योगीहरुलाई सम्बोधन गर्ने अर्को कार्यक्रम पनि बनेको छ ।

उनी आगामी १६ गते ल्हासा हुँदै स्वदेश फर्कनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?