Comments Add Comment

चीन भ्रमण सफल भएको भन्दै प्रचण्ड उत्साहित, उपप्रधानमन्त्रीसँग के के कुरा भयो ?


१३ चैत, बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चीन भ्रमण सोचेको भन्दा पनि राम्रो र सफल भएको भन्दै प्रशन्न बनेका छन् । आइतबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख एवं मन्त्री सोङ ताओ र बेलुका उपप्रधानमन्त्री वाङ याङसँगको छुट्टाछुट्टै वार्तालापपछि प्रधानमन्त्री प्रचण्ड उत्साहित बनेका हुन् ।

‘यी दुबै भेटहरुमा नेपाल र चीनवीचका आपसी विषयहरुमा खुलेर छलफल भए,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरसँग भने, ‘यी भेटहरुबाट प्रधानमन्त्रीजी पनि उत्साही देखिनुभएको छ, चीन भ्रमण सदभाव भ्रमणमात्रै भएता पनि सोचेको भन्दा सफल भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजेदेखि करिब ४५ मिनेट चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुखसँग वान टु वान कुराकानी गरेका थिए । त्यसक्रममा दुई देशका कम्युनिष्ट पार्टीका वीचको आपसी सहकार्यका बारेमा कुराकानी भएको आचार्यले अनलाइनखबरलाई बताए ।

दुईजना वीचको भेट सकिएपछि नेपालका परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसहितको टोलीसँग अन्तर्राष्ट्रिय विभागका अधिकारीहरुले लञ्च मिटिङ गरेका थिए ।
अन्तरराष्ट्रिय विभागका प्रमुखसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले चीन सरकारका उप्रधानमन्त्री वाङ याङ सँग वन टु वन कुराकानी गरे । एकल कुराकानीपछि करिब डेढघण्टा नेपाली भ्रमण टोलीका सदस्यहरुसँग डिनर बैठक भयो ।

चिनियाँ उपप्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले अनलाइनखबरसँग भने- ‘सबै विषयमा खुलेर छलफल भयो । नेपालका चिनियाँ बैंकको शाखा खोल्नेबारे सकारात्मक कुरा भएको छ । तातोपानी नाका खोल्नेदेखि विगतका सन्धी सम्झौताहरु कार्यान्वयन गर्ने सम्मका विषयहरुमा सकारात्मक कुराकानी भएको छ ।’


त्यसैगरी नेपालको पूर्वाधार विकास, वैदेशिक लगानी एवं सहयोगका विषयमा समेत चिनियाँ अधिकारीहरुसँग कुराकानी भएको आचार्यले बताए ।
सोमबार चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटपूर्व तयारी बैठक हुने आचार्यले जानकारी दिए ।

यसअघि प्रधानममन्त्री प्रचण्डले आइतबार बिहान ग्रेटवालको भिजिट गरेका थिए ।

यो पनि पढ्नुहोस्

चीनसँगका चार कनेक्टिभिटी नेपालको मुख्य प्राथमिकता: प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको टोली चिनियाँ पर्खालमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment