Comments Add Comment

अब अमलेखगञ्जसम्म ग्यासको पनि पाइपलाइन !

तेलपछि ग्यासको पाइपलाइन बनाउन नेपालको प्रस्ताव

प्रतिकात्मक तस्वीर

१६ चैत, काठमाडौं । भारतबाट नेपालसम्म तेलको पाइपलाइन बिछ्याउने गृहकार्य भइरहेका बेला नेपालले अब अमलेखगञ्जसम्म ग्यासको समेत पाइपलाइन विस्तार गर्न भारतसमक्ष प्रस्ताव गरेको छ । भारतले यसबारे छलफल अघि बढाउन सकिने सकारात्मक प्रतिक्रिया दिएको छ ।

भारत भ्रमणमा रहेका आपूर्तिमन्त्री दीपक बोहोराले भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानसँग ग्यास पाइपलाइन नेपालसम्म नै विस्तार गर्न प्रस्ताव गरेका हुन् ।

रक्सौलबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाइसकेपछि ग्यास पाइपलाइन पनि बनाउनेबारे पहिलोपटक दुई सरकारका बीच औपचारिक छलफल भएको हो ।

रक्सौलबाट अमलेगञ्जसम्म नै ग्यास पाइपलाइन बनाउनेबारे दुई मन्त्रीबीच छलफल भएको नेपालको भारतीय दूतावासले पनि पुष्टि गरेको छ ।

ग्यास पाइपलाइन बनाउन गरिएको प्रस्तावमा भारतले औपचारिक जवाफ भने दिएको छैन । अमलेखगञ्जबाट चितवनसम्म तेलको पाइपलाइन विस्तार गर्ने एजेण्डामा पनि दुई मन्त्रीबीच सकारात्मक छलफल भएको छ ।

पाँच वर्षे इन्धन आपूर्ति सम्झौताका लागि भारत गएका बेला आपूर्तिमन्त्री दीपक बोहोराले आफ्ना भारतीय समकक्षी प्रधानसमक्ष नेपाल ग्यासको पनि पाइपलाइन बनाउने बारे छलफल गर्न सकिने बताएको आयल निगम स्रोतले बतायो ।

मुजफ्फरपुरको सजिलो बाटो

पेट्रोलियम ग्यास पाइपलाइनलाई नेपालसम्म ल्याउन सके ग्यासको ढुवानीमा सहज हुने आयल निगमको विश्वास छ । भारतले अहिले मुजफ्फरपुरसम्म पेट्रोलियम ग्यासको पाइपलाइन निर्माण गरिरहेको छ ।

त्यहाँ ग्यासको ठूलो भण्डारण केन्द्र पनि बनाइँदैछ । अब यही पाइपलाइनलाई नेपालसम्म ल्याउनेबारे गृहकार्य सुरु भएको हो । अबको डेढवर्षभित्रै भारतले मुजफ्फरपुरसम्मको पाइपलाइनको काम सकेर नयाँ ग्यास डिपो सञ्चालनमा ल्याइसक्ने भारतको तयारी छ ।

यो डिपो सञ्चालनमा आएपछि नेपाल आयल निगमलाई मुजफ्फरपुरबाट चाहिएजति ग्यास दिने गरी भारतसँग नयाँ इन्धन आपूर्ति सम्झौता भएको छ ।

अबको दुईवर्षभित्र मुजफ्फरपुरमा बुलेटमा ग्यास लोडिङ सुरु भएपछि रक्सौल नाका हुँदै ग्यास भित्रिनेछ ।अहिले रक्सौल हुँदै ग्यास ल्याउन हल्दिया र बरौनी पुग्नुपर्ने बाध्यता छ । सबैभन्दा छोटो दूरीमा रहेको बरौनीको ग्यास डिपो पनि सीमा क्षेत्रबाट २४० किलोमिटरको दूरीमा छ ।


त्यहाँबाट पनि आईओसीले सबै बुलेटमा ग्यास भर्न क्षमता राख्दैन । नेपालले अहिले बिहारको बरौनी, पश्चिम बंगालको हल्दिया, उत्तर प्रदेशको मथुरा, हरियाणाको कर्नाल, उडिसाको पाराधीबाट ग्यासको लोडिङ पाउँछ ।

अब मुजफ्फरपुरसम्म नै ग्यासको पाइपलाइन आउने भएकाले भारतले नेपालका लागि आवश्यक सबै ग्यास त्यहीँबाट दिन सक्ने अवस्था बन्दैछ ।

झण्डै १६० किलोमिटरको हुन सक्ने

तर, नेपाल सरकारले अब एक कदम अघि बढ्दै त्यहाँसम्म आएको ग्यास पाइपलाइन नेपालसम्म विस्तार गर्न भारतलाई आग्रह गरेको हो । त्यहाँबाट ग्यास पाइपलाइनले नेपाललाई जोड्न सके ढुवानी खर्च पनि निकै घट्नेछ । र, दीर्घकालीन रुपमा नेपालमा ग्यास आपूर्तिमा सरलता आउनेछ ।

अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । मुजफ्फरपुरको डिपो सञ्चालनमा आएपछि नेपालले नेपालको सीमाबाट १२० किलोमिटरकै दूरीमा ग्यासको लोडिङ पाउनेछ । यदि त्यहाँबाट अमलेखगञ्जसम्म पाइपलाइन बने करिब १६० किलोमिटर लामो हुनेछ ।

अहिले नेपालमा मासिक झण्डै ३० हजार मेटि्रक टन ग्यासको माग छ । झण्डै ५ सय भारतीय बुलेटहरु नेपालका लागि ग्यास बोक्छन् ।

नेपाली उद्योगी आफैंले किनेर ल्याएका बुलेटहरु अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । भारतले नेपाली बुलेटलाई बिष्फोटबाट खतरामुक्त रहेको प्रमाणित गर्न भारतले ढिलाइ गरेको छ ।

जसका कारण ४५० भन्दा बढी बुलेट बनेर पनि नेपाल आउन सकेका छैनन् । यदि भविष्यमा पाइपलाइन बन्यो भने धेरै बुलेटहरु कामविहीन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment