Comments Add Comment

ढुंगा प्रहार गरी नेविसंघ नेताको हत्या, विरोधमा चरणबद्ध आन्दोलन घोषणा

१६ चैत, काठमाडौं । भेरीमालिका-३ जाजरकोटका कांग्रेस युवा नेता रवीन्द्र शाहको हत्या भएको छ । शाहको हत्या बिरोधमा नेबिसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

शाहको जाजरकोट जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच-छ जनाको समूहले घेरा हालेर गएराति ढुंगा प्रहार गरी हत्या गरेको थियो । सो समूहले आक्रमणपछि भिरबाट दुई सय मिटर तल खसाइदिएको थियो ।

शाह नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रहरीले चार-पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जानकारी आफूहरुले पाएको नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने

घटनाबारे छलफल गर्न बुधबार बिहान नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । बैठकले चक्काजाम र ज्ञापन पत्र बुझाउने लगायतका चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष महरका अनुसार काठमाडौं उपत्यकामा आज दिउँसो २ बजे त्रिचन्द्र क्याम्पस अगाडि बिरोध प्रदर्शन गर्ने निर्णय भएको छ । यसैगरी आजै देशभरका सबै जिल्लामा पनि क्याम्पस अगाडि बिरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ ।

१७ गते बिहान ९ बजे देशभरका क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने र १८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने अध्यक्ष महरले जानकारी दिए । जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment