Comments Add Comment

भारतबाट तत्काल थप विजुली नल्याइने, खरिद दर पुनरावलोकन गर्न नेपालको दबाव

थप आउने विजुलीको दर तय नगरी फर्किए कुलमान


१८ चैत, काठमाडौं । नेपालले तत्काल भारतबाट थप विजुली नल्याउने भएको छ । थप विजुली आयात र नयाँ आयात हुने विजुलीको  खरिद दर निर्धारण गर्न गएको भारत पुगेको नेपाली टोली सम्झौता नगरी फर्किएको छ ।

भारत गएको प्राधिकरणका प्रवन्धक निर्देशक कुलान घिसिङसहितको टोलीले पावर एक्सचेञ्ज कमिटिको बैठक छिटो बस्न वातावरण मिलाउन भारतलाई आग्रह गरेको छ । लगातार नेपाल आउने विजुली महंगो हुँदै गएकाले २०११ पछि बस्न नकसेको बैठक छिटो डाँक्न नेपाली पक्षले भारतीय पक्षलाई दबाव दिएर फर्किएको हो ।

भारतमा बिहीबार भएको नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणसहित सम्बद्ध निकायबीचको बैठकमा थप विजुली ल्याउनेबारे सम्झौता नभएको हो ।

रक्सौल-परवानीपुर र कटैया-कुशाह नयाँ १३२ केभीका प्रसारणलाइनबाट ५०/५० मेगावाट विजुली ल्याउन भन्दै प्राधिकरणले भारतलाई केही साताअघि पत्र लेखेको थियो । प्राधिकरणले ढल्केबर मुज्जफरपुर प्रसारणलाइनबाट पनि विजुली आयातका लागि गृहकार्य गरेको थियो ।

गत फेब्रुअरीमा काठमाडौंमा भएको नेपाल-भारत ज्वाइन्ट स्टेरिङ कमिटीको बैठकमा पनि यसबारे छलफल गर्ने सहमति अनुसार नेपालले थप विजुली आयात गर्न पाउने अवस्था हुँदा हुँदै नेपाली टोली तत्काल आयातको वातावरण नहरेको भन्दै फर्किएको हो ।

किन भएन सम्झाैता ? 

भारतले आफ्नातर्फ सब स्टेशन बनिनसकेका कारण तत्काल परवानीपुरबाट विजुली दिन मे महिनासम्म लाग्ने बताएको छ भने ढल्केबरबाट विजुली ल्याउन नेपालले आफ्नोतर्फ पनि सब स्टेशनको काम नसकिएको बताएको छ ।

कुशाहबाट विजुली ल्याउन भने नेपाली पक्षले तत्काल आवश्यक नभएको जवाफ दिएर फर्किएको छ । अब खोलामा पानीको सहत बढ्ने भएकाले प्राधिकरण कुशाहबाट तत्काल विजुली नथप्ने निश्कर्षमा पुगेको हो ।

भारतमा भएको बैठकमा प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङसहित विद्युत ब्यापार विभागका प्रमुख प्रबल अधिकारी, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मा र योजना निर्देशनायलयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह बैठकमा सहभागी भएका थिए ।

प्राधिकरणका प्रवक्ता समेत रहेका अधिकारीका अनुसार भारतीय पक्षले रक्सौल-परवानीपुर प्रसारणलाइनबाट विजुली ल्याउन मोतिहारीमा सब-स्टेशन पुरा नभएको जानकारी बैठकमा गराएको थियो ।

मुख्य रुपमा औद्योगिक क्षेत्र वीरगञ्ज लोडसेडिङलाई ब्यवस्थापन गर्न परवानीपुरको प्रसारणलाइनबाट विजुली आयात गर्न प्राधिकरणले तयारी गरिरहे पनि भारतले मे १५ सम्म सब-स्टेशन बन्न लाग्ने बताएको हो ।

भारतले यस्तो जानकारी गराएपछि नेपालले कुशाह-कटैया प्रसारणलाइनबाट पनि तत्काल विजुली नल्याउने भारतीय पक्षलाई जानकारी दिएर फर्किएको छ ।

भारतले तत्काल दुई प्रसारणलाइनबाट विजुली लैजाने गरी सम्झौता गर्न आग्रह गरेपनि नेपाली टोली सम्झौता नगरी फर्किएको हो । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट तत्काल नल्याउने बताएको छ ।

ढल्केबरमा निर्माणधीन २२० केभीको सब-स्टेशनको निर्माण सक्न अझै दुई महिना लाग्ने भएकाले अहिले यो लाइनबाट थप विजुली नल्याउने निर्णय प्राधिकरणले गरेको छ ।

खरिददर पुनरावलोकन गर्न  दबाव

‘विजुली ल्याउने गरी सम्पूर्ण काम नसकिएकाले हामीले नयाँ आयातको सम्झौता गरेनौं’ प्रवक्ता अधिकारीले भने,’हामीले भारतबाट आउने विजुलीको खरिद दररेट पुनारालोकन गर्न बैठकमा छिटो सो पावर एक्सचेञ्ज कमिटीको मिटिङ गर्न जोडदार माग गरेर फर्किएका छौं । भारतीय पक्ष त्यसमा सकारात्मक छ ।’

२०११ देखि पावर एक्सचेञ्ज कमिटीको बैठक नबस्दा वर्षैपिच्छे भारतबाट आउने विजुली साढे ५ प्रतिशतले बढिरहेको छ । उनले अब छिट्टै पावर एक्सचेञ्ज कमिटीको बैठक बसेर भारतबाट आउने विजुलीको दर पुनरावलोकन गर्नुपर्नेछ ।

प्रत्येक दुई-दु्ई वर्षमा बस्नुपर्ने भएपनि बैठक बस्न भारतीय पक्षले चासो दिएको छैन । त्यसैले भारतबाट आउने विजुलीको मूल्य बढेको बढ्यै छ ।

पावर एक्सचेञ्ज कमिटीमार्फत आइरहेको २०५ मेगावाटको विजुली प्रतियुनिट ५ रुपैयाँ ५५ पैसादेखि ६ रुपैयाँ ५४ पैसासम्मको छ । यो भाऊ भोलि अप्रिल १देखि ५.५ प्रतिशतले थप बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment