Comments Add Comment

कोरियन भाषा परीक्षाः १० हजार कोटामा ९२ हजार युवाको आवेदन

१७ चैत, काठमाडौं । कोरिया जान चाहने युवाको संख्या यस वर्ष पनि घटेन । भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या यो वर्ष ९२ हजार नाघेको छ । १० हजारको कोटामा ९२ हजारभन्दा बढी युवा भिड्ने भएका छन् ।

गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । सन् २०२० का लागि कोरिया जान भाषा परीक्षा दिने समयसीमाको अन्तिम दिन राति ९ बजेसम्म ९२ हजार ३ सय १९ जनाले आवेदन भरिसकेका छन् । रातको १२ बजेसम्म यो संख्या करिब साढे ९२ हजार नाघ्ने अनुमान  छ ।

भाषा परीक्षा ०७६ जेठ २५ र २६ गते हुनेछ । नतिजा असार १३ गते प्रकाशित हुनेछ । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।

यो वर्ष साढे ६३ हजारले उत्पादनमुलक क्षेत्रमा जानका लागि भाषा परीक्षा दिनेछन् । कृषि तथा पशुपालन समूहमा झण्डै २९ हजार आवेदन परेको छ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउँछन् । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फारम भर्न पाइन्छ ।

गतवर्षभन्दा पनि अघिल्लो वर्षभन्दा ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका थिए । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुला भएको थियो ।

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।  रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment