काठमाडौं । नेपथ्यको रजत जन्मोत्सव सुरु हुँदै गर्दा ब्याण्डले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्याण्डको जन्मदिन अप्रिल १ तारिख शनिबार गायक अमृत गुरुङले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरे ।
केही समयअघि मात्र विभिन्न म्युजिक स्टोरहरुबाट रिलिज गरिएको ‘शिरफूल शिरैमा’ को भिडियो अब युट्युबमा हेर्न पाइने भएको हो । नेपथ्यको दशौं एल्बममा रहेका गीतहरुमध्ये युट्युबमा सार्वजनिक भएको यो तेस्रो गीत हो ।यसअघि ‘कोशीको पानी’ र ‘हो रामा रामा’ को भिडियो सार्वजनिक भइसकेको छ ।
ब्याण्डका मुख्य गायक गुरुङ करिब तीन वर्षअघि धौलागिरी हिमालको फेदतिर पदयात्रा गर्दा यो गीत तयार भएको थियो । डोल्पा र रुकुमको सीमावर्ती भेगबाट अगाडि बढेर रुकुम, बागलुङ हुँदै म्याग्दी सदरमुकाम पुग्दासम्मका अनुभूति समेटेको गीतमा मध्यपश्चिमको हिमाली–पहाडी स्वाद अटाएको छ ।

धौलागिरि हिमाललाई श्रद्धापूर्वक धौलासिरि भनेर पुकार्ने स्थानीयहरुको लबजमा रहेको गीत सो भेगमा प्रचलित ‘शिरफूल भाका’ मै आधारित छ । ‘केटाकेटीदेखि सुन्दै आएको शिरफूल भाका खोज्दै हिँडेको थिएँ’, अमृतले सुनाए, ‘पुरानो गाउने मानिस नभेटिएपछि त्यसै भाकामा आधारित भएर आफैँले गीत सिर्जना गरेँ ।’
नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार, यो तेस्रो गीतको भिडियो नेपथ्यको दशौं एल्बम रेकर्ड गर्दाकै क्षणमा आधारित छ । लामो अन्तरालपछि लाइभ गायनलाई नै ‘वन टेक रेकर्डिङ’ प्रविधि अपनाएर नेपथ्यको दशौं एल्बम तयार पारिएको नेपालयले जनाएको छ ।
त्यसको झलक गीत सुन्ने दर्शकसम्म पनि पुगोस् भन्ने उद्देश्यले गीत रेकर्ड गर्दाको क्षण नयाँ म्युजिक भिडियोमा समेटिएको श्रेष्ठले बताए ।
गीतलाई थप सिंगार्न अमृतले पदयात्राका बेला खिचेका केही तस्बिरहरुलाई पनि पृष्ठभागमा प्रयोग गरिएको छ । यो गीत नेपथ्यको युट्युब च्यानलमा उपलब्ध रहेको जनाइएको छ ।
प्रतिक्रिया 4