Comments Add Comment

भूकम्पपीडितको गुनासो – काठ नहुँदा घर बनाउन सकिएन

२५ चैत, सिन्धुपाल्चोक । भूकम्प गएको दुई वर्ष बितिसकेर पुनर्निर्माणले फड्को लिनुपर्ने समयमा काठको अभावमा पुनर्निर्माण गर्न नसकेको यहाँका भूकम्पपीडितको गुनासो छ ।

जिल्लाभरिबाट स्थायी आवास निर्माणका लागि सरकारले दिएको पहिलो किस्ताअनुरुप रु ५० हजार लिएपनि अहिलेसम्म पुनर्निर्माणले गति लिन सकेको छैन । अहिले स्थायी आवास पुनर्निर्माणको चटारोमा खटेका भूकम्पपीडित काठ अभावसँगै अन्योलमा परेका छन् । घर निर्माणका लागि सरकारले भूकम्पपीडितका लागि सहुलियतमा काठ उपलब्ध गराउने भने पनि अहिलेसम्म काठ वितरणको कुनै कार्य हुन सकेको छैन ।

भूकम्पपीडितले काठ नपाउँदा घरको झ्याल, ढोका, छाना छाउन प्रयोग हुने काठलगायत पूर्ण घर बन्नका लागि प्रयोग हुने काठ नपाउँदा काम नै ठप्प भएको हो । मेलम्ची नगरपालिका–१० शिखरपुरका युवा उद्घव दाहालले आफ्नो स्थायी आवास निर्माणमा काठको अभाव हँुदा निकै कष्ट भोग्नु परेकोमा दुःख पोखे । उनले काठको प्रयोगले हुने ठाउँमा पनि निकै महँगो रुपैयाँ पर्ने फलाम प्रयोग गर्न बाध्य भएको दाहाल बताउँछन् ।

जिल्ला वन कार्यालय भने जिल्लाभित्र काठ अपर्याप्त भएकाले भूकम्पपीडितलाई मागअनुरुप दिन नसकेको बताउँदै आएको छ । घर बनाउनका लागि आवश्यक काठ भूकम्पबाट बचेका काठपात प्रयोग गरेर घर बनाउने जिल्ला अधिकांश रहेका छन् । कच्ची, थोत्रा तथा पुराना घरमा प्रयोग भएको काठ काम नलाग्ने भएकाले जिल्लाभरि नै काठको माग धेरै रहेको छ । बनाउँदै गरेका घर तथा निर्माणको अन्तिम चरणमा रहेका घरमा अहिलेसम्म काठ नपाउँदा पीडितले झ्याल, ढोकासमेत हाल्न पाएका छैनन् ।

काठका लागि निवेदन दिएको निकै लामो समय भएको भएपनि अहिलेसम्म काठ नपाएको पीडितको गुनासो छ । सरकारले सहुलियतमा काठ उपलब्ध गराउने कुरा गरेसँगै पीडित सहुलियत काठको पर्खाइमा छन् । जिल्लाभरका भूकम्पपीडितले काठ अभावमा आवास पुनर्निर्माणको काम सुरु गर्न सकेका छैनन् । जिल्लाभर काठ अभाव हुँदा भूकम्पपीडित पुनर्निर्माण अगाडि बढ्न नसकेको बताउँदै आएका छन् । जिल्लाभर पुनर्निर्माणको गतिले छलाङ मारिसक्नुपर्ने समयमा वन विभागले भने जिल्लाका भूकम्पपीडितका लागि हालसम्म दुई हजार क्युफिट काठ मात्रै उपलब्ध गराएको जानकारी दिएको छ ।

जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाका अनुसार पहिलो पटक ल्याएकोे दुई हजार क्युफिट काठ चौतारा नगरपालिका र आसपासका केही गाविसका ७२ परिवारलाई मात्रै वितरण गरिएको र त्यसयता विभागले काठ नै नपठाउँदा पीडितलाई सहुलियतको काठ वितरण गर्न नसकिएको उनको धारणा छ ।

आवास निर्माणका लागि तीन महिनाअघि देखि काठको माग हुँदै आएको भए पनि अहिले दिन प्रतिदिन माग बढिरहेको सापकोटाले बताए । अहिलेसम्म काठको आवश्यकता परेको भन्दै जिल्ला वन कार्यालयमा २४ हजारभन्दा बढी निवेदन आएकामा ७२ परिवारलाई मात्रै काठ दिएको छ । भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणमा १८ लाख क्युफिट काठ आवश्यक पर्ने अनुमान लगाएको छ । नवलपरासीबाट दुई चरणमा दुई हजार क्युफिट काठ ल्याइएको थियो ।

तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पपीडितलाई सहुलियतको काठ उपलब्ध गराउन सुरु गरे पनि अझै वितरण हुन सकेको छैन । महिना महिनामा मन्त्री फेरिने प्रवृत्तिले पनि ठीकसँग एउटा निर्णय पनि अगाडि बढ्न नसकेको भूकम्पपीडितको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment