+
+

चुनाव बिथोल्न विप्लवका कार्यकर्ता सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २८ गते १०:५३

२८ चैत, गुल्मी । सरकारले स्थानीय निर्वाचनको घोषणा गरेलगत्तै चुनाव बहिस्कार गर्ने घोषणा गरेको नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अराजक गतिविधि सुरु गरेको छ ।

चुनाव हुन नदिने भन्दै विप्लवका कार्यकर्ताले गुल्मीमा गाउँपालिकाका बोर्डहरु तोडफोड गरी आफ्नो पार्टीको झण्डा ठड्याएर कार्यालय तालाबन्दी गरेका छन् ।

चुनाव बहिस्कारको रणनीति अनुसार चैत २४ गतेदेखि गुल्मीमा विप्लवका कार्यकर्ताहरुले बहिस्कार अभियान सुरु गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाको मालिका गाउँपालिको अर्खबाङ कार्यालयमा झण्डा गाडेको छ । सामाजिक परिचालक कमल नेपालीका अनुसार विप्लवका कार्यकर्ता एक्कासी आएर कार्यालयमा झण्डा गाडेर पर्चा पम्पेलेट टाँसेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीको चुनाव बिरोधी अभियान अन्तरगत मदाने गाउँपालिकाको वडा कार्यालयमा ताला लगाइएको छ । साथै बोर्ड च्यातेर कार्यालयमा पर्चा टाँसिएको स्थानीय बोमबहादुर कुवँरले बताए ।

इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी नायव निरिक्षक अशोक श्रीवास्तवका अनुसार गाउँपालिकाको कार्यालय केहि नभएपनि वडा कार्यालयको बोर्ड फुटालिएको छ भने कार्यालयमा उनीहरुले ताला लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीको जिल्ला सचिवालय सदस्य खिम खडकाले दिएको जानकारी अनुसार गुल्मी दरवार गाउँपालिका र चन्द्रकोट गाउँपालिमा पनि बोर्ड तोडफोड गरेर पर्चा टाँसिएको छ । उनले पार्टीको निती अनुसार गाउँपालिकाको बोर्ड तोडफोड तथा तालाबन्दी गरेको प्रष्ट पारे ।

अनिल खत्रीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?