२८ चैत, काठमाडौं । डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत केपी ओलीका बारेमा गुनासो गरे- फोन गरेर समय माग्दा दुर्वचन मिल्यो ।
नेपाल साप्ताहिकको ‘कमरेड मैमत्त’ देखिएको कभर ट्वीट गर्दै डा. भट्टराईले लेखे, ‘यो पढ्दा ५ दिन अघिको याद आयो ! चुनाव चिन्हबारे प्रमुख प्रतिपक्षी दलका नेतालाई म आफैंले फोन गरेर समय माग्दा दुर्वचन मिल्यो । उहाँको स्वास्थ्यलाभको कामना !’
एमाले अध्यक्ष ओली शनिबारमात्रै स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक गएका थिए । त्यसको भोलिपल्ट नेता भट्टराईले उनको स्वास्थ्य लाभको कामना मात्र गरेनन्, गुनासोयुक्त ट्वीट गरे ।
ओलीले के भनेछन्, जसले बाबुरामलाई बिझ्यो ?
दलीय चुनाव चिन्ह माग गर्दै आन्दोलनमा उत्रिएका नयाँ शक्तिका संयोजक भट्टराईले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए । त्यसक्रममा ओलीलाई भेटका लागि समय मागेका रहेछन् ।
तर, ओलीले रुखो बोल्दै समय दिएनन् । सोमबार एउटा छलफलमा भट्टराईले सुनाए, ‘विपक्षी दलका नेता केपी ओलीसँग भेट्न समय माग्दा तपाईलाई किन भेट्ने भनेर रुखो जवाफ दिँदै समय छैन भन्नुभयो ।’
पछिल्लो समय एमाले अध्यक्ष ओली र नयाँ शक्तिका नेता भट्टराईबीच आरोप-प्रत्यारोप चल्दै आएको छ ।
भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी लिएपछि ओलीले पोखरामा भएको एमालेको सभामा ‘एउटा बाहुनले चुनाव हुन दिन्न रे’ भनेका थिए ।
त्यसअघि राप्रपाको महाधिवेशनमा ओलीले ‘एउटा नयाँ शक्तिलाई मैले एमालेबाहेक अरुलाई जित्छ भनेको थिएँ । तर, उसको नीति नै गलत भयो’ भनेका थिए ।
भट्टराईले भने ‘राष्ट्रघाती महाकाली सन्धी गर्ने ओली भुईँफुट्टा’ भएको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया 4