Comments Add Comment

काठमाडौंमा शुक्रबार गाडी चलाउन बन्द गर्ने गगन थापाको प्रस्ताव

'काठमाडौंको अवस्था इँटा भट्टामा बसेजस्तो'


३० चैत, काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था भयावह रहेको भन्दै मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गरेका छन् । उनले हरेक शुक्रबारलाई ‘फ्रि भेइकल डे’ अर्थात् शुक्रबारको दिन गाडी चलाउन बन्द गर्नेदेखि निश्चित समयपछि उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाउने नीति अपनाउने प्रस्ताव अघि सारेका छन् ।

वायु प्रदुषणका कारण काठमाडौंको अवस्था इँटा भट्टामा बसेको जस्तो भएको भन्दै उनले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था आएको बताए ।

मन्त्री थापाको प्रस्ताव अनुसार हरेक शुक्रबारलाई ‘फ्रि भेइकल डे’ घोषणा गर्नुपर्ने र यो दिन अत्यावश्यक सेवा बाहेकका कुनै पनि सवारी चलाउन पाइने छैन ।

‘यदि यहाँ एक्टिभ सिभिल सोसाइटी हुन्थ्यो भने सबैभन्दा ठूलो जनसरोकारको विषय हुन्थ्यो र सरकार विहान बेलुकी यही विषयमा जुधेर बस्नु पर्ने हुन्थ्यो,’ मन्त्री थापाले अनलाइनखबरसँग भने, ‘यस्तो भयावह अवस्था हो कि स्टेट अफ इमर्जेन्सीको अवस्था हो । तर, हामी बेसरोकार छौं ।’

उनले वायु प्रदुषणले स्वास्थ्यमा पारेको प्रभाव र त्यसको समाधानका लागि भन्दै पाँच पृष्ठ लामो प्रस्ताव क्याबिनेटमा पेश गरेका छन् । प्रस्तावमा तत्काल एक्सनमा जाने गरी उच्चस्तरीय कमिटी बनाउने उल्लेख छ ।

उनका अनुसार काठमाडौं उपत्यकाको हावामा २.५ माइक्रोन भन्दा मसिना कण, जुन श्वासनलीमार्फत सिधै फोक्सोमा पुग्छ, यसको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा पाँच गुणा पुगिसकेको उल्लेख गरेका छन् । उपत्यकाको हावामा पीएम २.५ को मात्र ४८ माइक्रोग्राम/घनमिटर पाइएको छ । जबकी मापदण्ड अनुसार १० माइक्रोग्राम/घनमिटर हुनु पर्ने हो । यो मात्रा जाडो महिनामा सबैभन्दा बढी र २४ घन्टामा विहान ८ देखि १० बजेसम्म सबैभन्दा बढी भएको देखिएको छ ।

मन्त्री थापाले प्रधानमन्त्री स्वयमले चासो नलिने र मन्त्रिपरिषदले सवन्धित निकायलाई परिणाममुखी काम गर्न निर्देशन नदिने हो भने वायु प्रदुषणका कारण ज्यान जोखिममा पर्नेको संख्या दैनिक बढ्ने बताएका छन् ।

मन्त्री थापाले वायु प्रदुषण न्यूनिकरणलाई तत्काल अपलम्बन गर्नु पर्ने पाँच कदम पनि प्रस्ताव गरेका छन् । मेलम्चीको खानेपानीको पाइप विछ्याउने कामका कारण सडकको अवस्था विकराल भएको भन्दै उनले भौतिक पूर्वाधार तथा विकास निर्माणलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् ।

सडक खनेपछि तत्काल ग्राभेल, अस्थायी कालोपत्रे गर्नु पर्ने, विकास निर्माणका काम गर्दा प्लास्टिकका टनेल निर्माण गरी ढाकछोप गरेर मात्र काम गर्नुपर्ने र काम भइरहेको स्थानमा पनि दिनमा दुईपटक पानी छर्कने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ । धुलो तान्ने मेसिन प्रयोगमा ल्याउनु पर्ने, गुणस्तरीय मास्कको प्रयोग बृद्धि गर्नुपर्ने स्वास्थ्यमन्त्री थापाको प्रस्ताव छ ।

दिर्घकालीन योजना अन्तरगत पैदल यात्री र साइकल यात्रीलाई प्रोत्सान गर्नु पर्ने प्रस्तावमा उल्लेख छ । साथै सरकारले समय तोकेर काठमाडौं उपत्यकाभित्र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई उपत्यकामा गुड्न रोक लगाउने घोषणा गर्ने र त्यसअनुसार नीति बनाउने उनले प्रस्ताव अघि सारेका छन् ।

‘पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतिकरण गर्न चाहनेलाई अनुदानको व्यवस्था गर्ने र योजना निर्माण गर्दा ऊर्जाको उत्पादनसँग संगतीपूर्ण हुने गरी ऊर्जा क्षेत्रको विकास पनि गर्दै जाने,’ स्वास्थ्यमन्त्री थापाको प्रस्तावमा भनिएको छ ।

साथै मास ट्रान्जिटलाई सरकारको प्राथमिक कार्यक्रम बनाउने र इँटा भट्टा तथा अन्य उद्योगलाई व्यवस्थित गर्ने पनि स्वास्थ्यमन्त्री थापाको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment