‘पुस्तक जत्तिको बफादार साथी कोही हुँदैन ।’
नोबेल पुरस्कार विजेता अमेरिकी साहित्यकार अर्नेष्ट हेमिङ्वेले कुनै समय पुस्तकको महत्ताबारे भनेका थिए । तर, यस वर्ष प्रकाशित नेपाली साहित्यका कृतिहरु हेर्दा युवा समालोचक तथा त्रिविका उप–प्राध्यापक महेश पौड्यालले त्यस्तो ‘बफादार साथी’ नै भेटेनन् ।
अनलाइनखबरका लागि उत्कृष्ट दश पुस्तकको सूची उल्लेख गर्दा पौड्यालले सूचीसँगै एउटा नोट लेखेका थिए, ‘यी सबै पुस्तकमा कमजोरीहरू यथेष्ट छन् । तैपनि औषतमा यी पुस्तक मलाई जँचेका हुन् ।’
पौड्यालको टिप्पणीजस्तै साहित्यिक वृत्त र पाठक जमातमा पनि यो वर्ष खासै गतिलो कृति नआएको विषय चर्चामा रह्यो । शहर–बजारमा हप्तामा दुई–तीन वटासम्म पुस्तक सार्वजनिक भइरहे । तर, राष्ट्रिय स्तरमा गम्भीर बहस सिर्जना गर्ने सवालमा कुनै पनि असरदार देखिएनन्, जसले बहुसंख्यक मानिसको ध्यान तान्न सकोस् ।
मध्यम वर्षः लखतरान उपन्यास, सुनसान कविता
नेपाली साहित्यमा पछिल्ला वर्षहरुमा साउनको भेल झैं उर्लेको विधा हो उपन्यास । बजारको माग र पाठकको आर्थिक हैसियतले नथेगे पनि विगत वर्षमा एकोहोरो रुपमा उपन्यासको बाढी आयो । कविहरु पनि लेख्दालेख्दैको कविता चटक्क बिसाएर आख्यानमा मोडिए । उपन्यास प्रकाशनको लहरले ०७० र ०७२ साल त झन्डै–झन्डै उपन्यास–वर्ष नै बन्यो ।
यस वर्ष भने पुराना र ‘नवोदित’ उपन्यासकारहरुमा थकान जस्तो भाव देखियो । एक त कम उपन्यास छापिए, आएकाहरुले पनि बलशाली छनक देखाउन सकेनन् । वैचारिक मन्थनमा छाल उछाल्ने सवालमा अधिकांश तुरतुरे कुलो साबित भए ।

‘दमिनी भीर’ उपन्यासबाट मदन पुरस्कार जितेका लेखक राजन मुकारुङको नजरमा ०७३ मा सबभन्दा कमजोर देखिएको विधा नै आख्यान हो । नयाँ पुस्ताले नयाँ ढंगले लेख्ला भनेर अपेक्षा गरिरहँदा उनले निराशा मात्र भेटे ।
‘अघिल्ला वर्षमा जति प्रयोग भएर उपन्यासहरु गहकिलो ढंगले आए, यो वर्ष त्यो रुपमा आएन’, मुकारुङको मूल्याङ्कन छ, ‘केही विषय राम्रै आए पनि लेखकहरुको सिद्धहस्तता र प्रयोगको हिसाबले अलि कमजोर देखियो ।’
प्रयोगका हिसाबमा कतिपय नेपाली आख्यानले अन्तर्राष्ट्रिय हैसियत बनाउने क्षमता राख्ने अवस्थामा यो वर्षको हालत नियालिसकेपछि उनी यसलाई ‘साहित्यको मध्यम वर्ष’ भन्छन् ।
साहित्यका अरु विधा हेर्दा उनी निबन्ध र कविताको अवस्था पनि कमजोर देख्छन् ।
‘कविता त झन् छँदै छैन । सरदर सबै विधा मध्यम खालकै देखिँदा यसपाली साहित्यको मध्यम वर्ष भन्नुपर्छ’, उनले भने ।
मुकारुङको भनाइमा सही थाप्दै समालोचक तथा निबन्धकार प्रा. डा. अभि सुवेदी निबन्ध र कविता यो वर्ष सुनसान रहेको टिप्पणी गर्छन् ।
आफू निबन्धकार पनि भएको हिसाबमा उनले निबन्धबारे विशेष चासो राखे, ‘निबन्ध विधामा यो वर्ष दाबी चाहिँ थुप्रै भए, तर निबन्धै भनेर रमाइहाल्नुपर्ने कम लेखिए’, उनले भने ।
कवितामा पनि उनी सुखद अवस्था देख्दैनन् । कविताहरुमा पुरानै कुरा दोहोरिने प्रवृत्तिले उनी यतिसम्म हैरान रहेछन्, शहरका धेरै कवि गोष्ठीहरुमा उनी जानै चाहँदैनन् ।
मुकारुङले साहित्यका सबै विधा फितलो देखिए पनि तुलनात्मक रुपमा यो वर्ष गैर–आख्यान बलियो रहेको पाए ।
‘गैर–आख्यानका पाठक कम भए पनि त्यसले खास अर्थ बोक्छ र प्रभाव पनि बढी पार्छ । सबैलाई एकचोटि सोच्न बाध्य बनाउँछ ।’
देशको कचपल्टिएको राजनीतिक अवस्थाले पनि नेपालमा पछिल्लो समय गैर–आख्यानका पुस्तकको महत्व बढाइदिएको उनको निष्कर्ष छ ।
निराशाको बोझ, लेखक कठैबरा !
प्रा. सुवेदी ०७३ भरि साहित्य र साहित्यिक गतिविधिमै घेरिए । तर, उनी पनि यो वर्षको मूल्याङ्कनमा उत्साहित छैनन् ।
यो वर्ष बहस जन्माउने साहित्य भने त्यति नआएको चर्चासँगै उनले योभन्दा पनि चिन्ताको अर्कै विषय थपे । आम मानिसमा देखिएको निराशाको भाव लेखकहरुमा पनि थोपरिँदा उनले थप अनिष्टको सम्भावना औंल्याए ।

‘लेखकहरु अध्ययन–अनुसन्धान गरेर पूरै तन्मयसाथ लेखनमा जुटेनन् भने आउँदो साल अझै ओरालो लाग्ने देख्छु’, उनले देखेको नराम्रो लक्षण संकेत गर्दै भने, ‘यसको अर्थ के हो भने राष्ट्रभित्र निकै ठूलो चुनौती, निराशा र अनिर्णयको अवस्था भइसक्यो ।’
राजनीतिक अवस्थाको कारण यो अवस्था निम्तिएको उनको ठहर छ । अस्थिर राजनीतिका कारण अस्तव्यस्त अवस्था बढ्दा सबै मानिसमा के गर्ने र, के हुन्छ र भन्ने खालको हतास मानसिकता बढेको उनले अनुभव गरेका छन् । सुवेदीका अनुसार, गत वर्षको भूकम्प र त्यस लगत्तैको भारतीय नाकाबन्दीदेखि नै नेपालीहरुमा हतास मनोविज्ञानको अवस्था बन्दै गएको हो । त्यो मनोविज्ञान ट्युमर झैं फैलिँदै छिप्पट निराशा र घनघोर दुःखमा परिणत भएर लेखनमा व्यक्त भए ।
आम मानिसमा देखिएको निराशा त्यही समाजको लेखकमा पनि देखिएकोबारे उनी विश्लेषण गर्छन्, ‘यहाँ मनोवैज्ञानिक रुपमा धेरै मान्छेले भैगो नि त भनेर बिसाएको देखिन्छ । लेखकहरुमा पनि जे छ लेख्दै जाने हो भनेर बिसाएको मनोग्रन्थि यो साल जन्मिएर आयो । साहित्यमा त्यो अवस्था चिर्न अब भयानकसँग एकाग्र भएर लाग्नुपर्ने देखिन्छ, नत्र सितिमिति चिरिँदैन ।’
कथाले जेनतेन इज्जत जोगाइदियो
उपन्यासको दबदबा देखिने अघिल्ला वर्षहरुमा आख्यानभित्रै उपन्यासले कथालाई पाखामा ठेल्थ्यो । यस वर्ष भने समीक्षकहरुको नजरमा फरक तस्बिर देखियो ।

समालोचक महेश पौड्यालका अनुसार, विगतमा निराशाजनक रहेको कथा लेखन यस वर्ष जुर्मुरायो ।
‘यो साल कथामा अलि तरंग र हलचलहरु आएका छन्’, उनी भन्छन्, ‘एक हिसाबले बलियो उपन्यासको खडेरी देखिँदा यस वर्ष कथाहरुले नै इज्जत जोगाएको देखिन्छ ।’
साकाहारीहरु पन्छिने, पिँजडाको कैदी जाग्ने !
लेखनमा ‘बेलाको बोली’ बोल्नुपर्छ भनेर वकालत गर्ने साहित्यकार खगेन्द्र संग्रौला देशकै गतिहीन अवस्थाको कारण अहिलेको नेपाली साहित्य कमजोर देखिएको टिप्पणी गर्छन् । त्यही भएर यस वर्षको लेखनमा नयाँ कुरा नआई अघिल्लो वर्षकै वैचारिक र कलात्मक प्रवृत्तिको निरन्तरता जस्तो देखिएको उनको व्याख्या छ ।
समाज एउटै वृत्तमा घुमिरहेकाले सामाजिक यथार्थले नै नयाँ कुरा लेख्ने सामग्री नदिएको भन्दै उनी थप्छन्, ‘समाज जब गतिमान हुन्छ, त्यो गतिले नयाँ पात्रहरु, प्रवृत्तिहरु, र विचारहरु जन्माउने हो । नेपाली समाज स्थिर र जड अवस्थामा रहिरहेकाले नयाँ कुरा आउन नसकेको हो ।’
चिन्तनका सबै क्षेत्रमा राजनीतिको प्रत्यक्ष हस्तक्षेप र भयानक दबाव रहेकाले पनि विचारोत्तेजक कुरा निस्किन नसकेको उनको विश्लेषण छ ।
साहित्यमा पछिल्लो समय खासगरी जनजातिहरुको पहिचानको मुद्दा र नारीवादी चेतना प्रस्तुत भएकोलाई संग्रौला सकारात्मक मान्छन् । तर, यी दुई कुरा यो वर्षका उपलब्धि नभई करिब एक दशकयता उठेका विचारका तरंगहरु मात्र भएको उनको बुझाइ छ ।
वर्ष ०७३ को साहित्यको लेखाजोखा गर्दैगर्दा उनले पछिल्लो एक दशककै मेहेरो समाए, ‘जनयुद्धको नाममा नागरिक स्तरबाट राज्यलाई हतियारको चुनौती दिइयो, त्यसको कथा लेखिएकै छैन । नेपाली समाजको ढाडमा किर्नोको रुपमा रहेको राजतन्त्रको भारलाई हामीले आन्दोलनबाट फाल्यौं, त्यो कथा पनि लेखिएको छैन । अनि देशका सीमान्त कुनामा परेका मान्छेहरुमा आएको विराट् जागरणको कथा पनि लेखिएको छैन ।’

कथनीको फरक शैलीका लागि माहिर संग्रौलाले लेखकहरुमा दुईथरी प्रवृत्तिका कारण नेपाली लेखनको गुणवत्ता खस्किएको औंल्याए । त्यो भनेको, एकथरी साकाहारी र अर्कोथरी आफ्नै पिँजडाको कैदी ।
लेख्ने शिल्प र प्रतिभा भएर पनि साहित्यिक वादबाट चोखो र राजनीतिबाट पर बस्नुपर्छ भनेर साखुल्ले बस्नेहरुलाई उनी साकाहारी लेखक मान्छन् ।
त्यस्तै, आफूलाई विशुद्ध प्रगतिवादी भन्नेहरु प्रवृत्तिगत संकीर्णताको कारण आफैंले बनाएको पिँजडाको कैदी बनेका छन् । जो लेखनमा वाद र वर्गको कुरामा त जाग्छन्, तर लेखनमा लचकता र कलात्मकता नहुँदा उनीहरुको साहित्य पठनीय ठहरिँदैन र स्वतः प्रभावशाली हुँदैन । एकातिर साहित्यिक शिल्प नभएका लेखन रुचाइँदैन भने अर्कातिर खँदिलो र गहन लेखन पनि कम पढिनेमा पर्छ ।
संग्रौलाको थप टिप्पणी– हामी बाँचिरहेको रोचक समयबारे कहिले लेखिने ?
नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका महासचिव लिखतप्रसाद पाण्डेका अनुसार, बौद्धिक र गहन किसिमका पाठकहरु नै कम छन् । तर, व्यावसायिक रुपमा बिकाउ पुस्तकहरु मात्र निकाल्ने प्रकाशकहरुको माझमा त्यस्ता प्रकाशन संस्थाहरु पनि छन्, जसले समाजलाई केही योगदान गर्ने खँदिला पुस्तक छाप्दै आएका छन् ।
‘त्यस्ता प्रकाशकहरु बिक्री भए पनि नभए पनि आफ्नो दायित्व निर्वाह गर्दै काम गर्छन्’, पाण्डे भन्छन्, ‘त्यस्ता अनुसन्धानमूलक गहन किताबहरु आज निकाल्यो, भोलि नै हराएर जाँदैन । तिनको प्रभाव दशकौंसम्म रहिरहन्छ र खोजी भइरहन्छ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4