Comments Add Comment

कानूनमन्त्रीको प्रश्नः मोर्चाले कसलाई देखाउन यस्तो नाटक गरिरहेको छ ?

३ बैशाख, काठमाडौं । कानूनमन्त्री अजयशंकर नायकले चुनाव विथोल्ने मधेसी मोर्चाको निर्णय आश्चर्यजनक भएको बताएका छन् । साथै मोर्चाले चुनावमा भाग नलिएपनि चुनाव तोकिएकै मितिमा हुने दाबी गरे ।

मन्त्री नायकले सरकार मोर्चालाई पेलेरै एकलौटी ढंगले निर्वाचनमा जाने पक्षमा नभएको स्पष्ट पारे । उनले भने, ‘मोर्चाले निर्वाचन बहिष्कार गरेपनि चुनाव हुन्छ, तर हामी सहमतिको लागि अन्तिमसम्म पनि लचिलो भएर प्रस्तुत हुन्छौं ।’

सरकारले मोर्चासँग हरेक विषयवस्तुमा छलफल गरेर नै नयाँ संशोधन प्रस्ताव ल्याएको भन्दै उनले मोर्चा प्रस्ताव अस्विकार गरेर नाटकीय ढंगले प्रस्तुत भएको आरोप लगाए । मोर्चाले गम्भिर भूल गरेको भन्दै उनले भने, ‘हामीले उहाँहरुसँग हरेक विषयवस्तुमा छलफल गरेर नै अहिलेको संशोधन प्रस्तावमा उल्लेख भएका विषयहरु ल्याएका छौं । तर उहाँहरुले बाहिर नाटक गर्नुभयो ।’

उनले मोर्चा तथा संघीय गबन्धनको निर्णयले मुलुकलाई कतै प्रतिगमनतर्फ लैजाने षडयन्त्र भैरहेको छैन भन्ने भान भएको समेत बताए ।

कार्यक्रममा प्रमुख दल नेपाली काँग्रेसका नेता रमेश रिजालले मुलुक र प्रजातन्त्र बचाउनको लागि पनि निर्वाचन केही दिन सार्नुपर्ने बताएका छन् । उनले मुलुकमा संघीयता स्थापित गर्ने शक्तिलाई बाहिर राखेर निर्वाचनमा जान नहुनेबारे आफ्नो पार्टीभित्र छलफल भएको स्पष्ट पारे ।

रिजालले निर्वाचन १० देखि २० दिन पर सारेर भएपनि मोर्चासँग सहमति गरेरमात्रै अघि बढ्नुपर्ने धारणा राखे । उनले भने,’चुनावको मिति सार्दा आकाश खस्दैन, धर्ती फाट्दैन ।’

उनले मोर्चाले सरकारले आफूहरुलाई झुक्याएको गुनासो गरेको उल्लेख गर्दै अहिले ल्याइएको संशोधन प्रस्तावलाई परिमार्जन गरेर भएपनि मोर्चालाई विश्वासमा लिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment