
६ बैशाख, चितवन । पार्टीको चुनाव चिह्न एउटा तर मतदान अर्कैमा गर्न नेताले नै भनेपछि के होला ? चितवनका राप्रपा कार्यकर्ताहरुलाई बुधबार केहीबेर त्यस्तै आपत पर्यो ।
चितवनको भरतपुरमा राप्रपाले स्थानीय चुनावलाई लक्षित गरी बुधबार जनसभा आयोजना गरेको थियो । सभामा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ नेता पशुपति शम्शेर राणा लगायतका नेताहरु समेत सहभागी थिए । जब राणाले सम्बोधन गर्ने पालो आयो उनी बोल्दाबोल्दै चिप्लिए । उनले जनसभामा सहभागीहरुलाई आसन्न स्थानीय तहको निर्वाचनमा हलो चुनाव चिह्नमा मतदान गर्न आह्वान गरे । पार्टीको चुनावचिह्न गाई हो तर हलोमा मतदान गर्न भनेपछि सभामा सहभागीहरु अचम्म मान्दै मुखामुख गरे ।
गत मंसिर ६ गते राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण भैसकेपछि नाम राप्रपा र चुनाव चिन्ह गाई राख्ने सहमति भैसकेको भएपनि राणालाई हलो नै चुनाव चिन्ह हो भन्ने छाप परेको रहेछ । पार्टी एकता अघि थापा नेतृत्वको राप्रपा नेपालको चुनावचिह्न गाई र राणा नेतृत्वको राप्रपाको चुनाव चिह्न हलो थियो । एकतापछि पार्टीको नाम राप्रपा र चुनावचिह्न गाई कायम गरिएको छ ।
राणाले हलोमा मतदान गर्न आह्वान गरेपछि मञ्चमा रहेका पार्टी अध्यक्ष कमल थापाले राणालाई गाई चुनाव चिह्न भन्नुस् भनेर सम्झाएका थिए । त्यसपछि राणाले माफी माग्दै पुनः गाई चिन्हमा मतदान गर्न कार्यकर्ताहरुलाई आह्वान गरे ।
यो पनि पढ्नुहोस्
राप्रपाले जित्ने स्थानीय तहमा धर्म परिवर्तन बन्देजः कमल थापा