Comments Add Comment

पोखराका भावी मेयरको काम– ताल संरक्षण गर्ने, डम्पिङ साइट खोज्ने


८ बैशाख, पोखरा । स्थानीय तहको पुनसर्ंरचनापछि बनेको पोखरा लेखनाथ महानगरपालिकाले बैशाख ३१ गते हुने स्थानीय निर्वाचनबाट मेयरको नेतृत्व पाउनेछ । निर्वाचित मेयरलाई यस महानगरपालिकामा अनेकन समस्या र चुनौतीहरुले पर्खिरहेका छन् ।

पर्यटकीय दृष्टिकोणले नेपालको सबैभन्दा लोकप्रिय गन्तव्य हो पोखरा । स्वदेशी र विदेशी दुवैखाले पर्यटकलाई पोखराले लोभ्याउँछ । तर, शहर अव्यवस्थित हुँदा दाँतमा ढुंगा लागेझैं हुन्छ । त्यसैले नयाँ मेयरले यस सहरलाई व्यवस्थित तुल्याउन र पर्यटन प्रवर्द्धन गर्न स्पष्ट सोचसहित आउनुपर्छ । महानगरपालिकामा मेयरले तत्काल सामना गर्नुपर्ने कामहरुबारे यहाँ चर्चा गरिएको छ ।

ताल संरक्षण र पर्यटन प्रवर्द्धन

पोखरा लेखनाथ महानगरपालिकाको सबैभन्दा प्रमुख विशेषता भनेको पर्यटन नै हो । यहाँ पर्यटनको अथाह सम्भावना छ ।

यस महानगरमा पर्यटकका लागि सबैभन्दा ठूला आकर्षण हुन् यहाँ रहेका तालहरु । फेबातालसँगै अन्य ७ ताल पोखरा लेखनाथ महानगरपालिकामा पर्छन् । साविक लेखनाथ नगरपालिकामा रहेका बेगनास, रुपा, गुँदे, दिपाङ, न्यूरेनी, खाष्टे र मैदी तालको संरक्षण गर्नु निर्वाचित पहिलो मेयरको दायित्व हुन आउँछ । पछिल्लो क्रममा तालहरु अतिक्रमणको चपेटामा पर्नुका साथै पुरिदै जाँदा केही तालको अस्तित्व नै नामेट हुने अवस्थामा पुगेको छ ।


यहाँ पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास गर्नु उत्तिकै महत्वपूर्ण छ । पर्यटकको बसाई लम्ब्याउन पूर्वाधार खडा गरेर निजी क्षेत्रलाई पनि आकषिर्त गर्नु नयाँ मेयरका दायित्वहरुबारे यहाँ चर्चा गरिएको छ ।

अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा तिव्रता

पोखरा लेखनाथ महानगरपालिकाको पहिलो मेयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तिव्रता दिनुछ । करीब चार दशकदेखि जग्गा छुट्याएर पनि बिमानस्थलको काम अघि बढ्न सकेको छैन । हाल चीनको एक्जिम वैंकको ऋण सहयोगमा सिएएमसी कम्पनीसँग निर्माण सम्झौता भए पनि औपचारिकरुपमा काम शुरु हुन सकेको छैन । स्थानीय तहको निर्वाचनबाट आउने मेयरले यसको निर्माणमा लागि तिव्रता दिनुपर्ने चुनौति छ ।

चक्रपथ निर्माण

पोखरा उपमहानगरपालिका हुँदादेखि नै चर्को रुपमा उठ्दै आएको चक्रपथ निर्माणको मागलाई सम्बोधन गर्नु मेयरको प्रमुख दायित्वभित्र पर्छ । पोखरामा भित्री बाटाहरु प्रशस्तै बने पनि चक्रपथ निर्माण नहुँदा सबै गाडी पोखरा भित्रिने र यसबाट बारम्बार ट्राफिक जाम हुने समस्या छ । चक्रपथ निर्माण गर्ने हो भने मात्र पनि पोखराको ट्राफिक व्यवस्थापनको आधा समस्या आफै समाधान हुन्छ ।

उसो त चक्रपथ निर्माण गर्ने कुरा हाल आएर मात्र उठेको हैन । यो निर्माण गर्नका लागि सर्भे भएर रुट तय भइसकेको छ । पोखरा उपत्यका नगर विकास समितिले बनाएको एक समितिले लेखनाथको कोत्रेलाई जिरो प्वाइन्ट तोकेर भरतपोखरी, निर्मलपोखरी, कुस्ती, पुम्दीभुम्दी, रानीवन हुँदै पोखराको शहिदचोक, बुँलौंदी, सराङकोट हुँदै, हरिचोक, हेमजा, घाचोक, लाहाचोक, पुरुञ्चौर, लामाचौर, महेन्द्रगुफा, भलाम, काँहुको फेदी हुँदै आर्वा, राखी, लेखनाथ सिसुवा जनताको चौतारा हुँदै कोत्रेसम्म पुग्ने ७३.४ किलोमिटरको चक्रपथको डिजाइन भइसकेको छ ।

त्यसलाई भविश्यमा मेट्रो टे्रनसम्म चल्ने गरी फास्ट ट्र्याकका रुपमा विकास गर्ने र सोही बाटोलाई नजिकका जिल्लामा जाने बाइपास रोडसमेत निस्कने गरी डिजाइन भएको छ ।

चक्रपथ निर्माण हुने हो भने ग्रामीण क्षेत्रमा जानेहरु गाडी पोखरा छिर्नुपर्ने समस्या समाधान हुनेछ । यसका साथै सोही चक्रपथ हुँदै पर्वत, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ जाने र स्याङ्जा, पाल्पा जाने गाडीहरु सिधै दक्षिणतर्फबाट बाईपास रोडमार्फत निस्कने व्यवस्था हुने हो भने ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार हुने निश्चित छ ।

बसपार्क निर्माण

पोखराको ट्राफिक व्यवस्थापन गर्न अर्को महत्वपूर्ण कदम भनेको पोखरा बसपार्क निर्माण गर्नु हो । बसपार्कका लागि पोखराको मुख्य ठाउँ पृथ्वीचोकमा २ सय ५ रोपनी जग्गा छुट्याएको दुई दशक बितिसकेको छ । छुट्याएको जग्गा सुकुम्बासीले ओगटेपछि हाल यो ८१ रोपनीमा खुम्चिएको छ । त्यसमा पनि केही सुकुम्बासी बस्नुका साथै स्कुल तथा सामाजिक भवनहरु बनेका  छन् ।

अब पनि बसपार्क नबन्ने हो भने बाँकी जग्गा पनि झनै अतिक्रमणमा पर्ने पक्का छ । बसपार्क निर्माण गर्न ७ करोड रुपैयाँ एक दशकअघि नै छुट्याएर वैंक डिपोजिट भएर पनि बन्न नसकेकाले अबको मेयरले बसपार्क निर्माणमा अग्रसरता देखाउनैपर्छ । बसपार्क बन्यो भने मात्रै पोखराको ट्राफिक व्यवस्थापन चुस्त हुन्छ ।

हाल बसपार्क २ वटा बनाउनुपर्छ भन्ने आवाज पनि उठ्दै आएको छ । लेखनाथको लामेआहाल र पोखराको पृथ्वीचोकमा २ वटा बसपार्क निर्माण गर्ने र लामेआहालको बसपार्क चक्रपथ र बाइपास रोडमा गुड्ने गाडीको लागि तथा पृथ्वीचोकको बसपार्क आन्तरिक बसपार्कको रुपमा प्रयोग गर्नुपर्ने आवाज बुलन्द हुँदै आएको छ । यसलाई सार्थकता दिनु पनि नयाँ मेयरको दायित्वभित्र आउँछ ।

आकाशे पुल

पोखरामा जनसंख्या तिव्र रुपमा बढिरहेको छ । जनसंख्या बढिरहँदा सवारी चाप पनि हृवात्तै बढेको छ । यसले गर्दा ट्राफिक जाम बढेर हैरानी हुन थालेको छ ।

यसका स्थायी समाधान गर्ने हो भने अब आकाशे पुल बनाउन आवश्यक भइसकेको छ । त्यो पनि एक वा दुई ठाउँ हैन, पाँच ठाउँभन्दा बढी । पोखराको व्यस्त र ट्राफिक जाम शुरु भइसकेको पृथ्वीचोक, सभागृहचोक, अमरसिंह चोक, महेन्द्रपुल र चिप्लेढुङ्गामा आकाशेपुल आवश्यक भएको पोखरेली सर्वसाधारणले महसुुस गरेका छन् । अब यो पूरा गर्ने दायित्व पनि नयाँ मेयरको हो । अब पनि आकाशे पुल नबनाउने हो भने पोखराको ट्राफिक ब्यबस्थापन जतिसुकै चुस्त गर्छु भने पनि सम्भव देखिदैन ।

निजी पार्किङस्थल
पोखराको ट्राफिक व्यवस्थापन चुस्त बनाउने हो भने छुट्टै निजी पार्किङ स्थल बनाउनु अनिवार्य हुन्छ । अब बन्ने पहिलो मेयरले पोखराका सडकहरुमै गरिँदै आएको पार्किङलाई छुट्टै निजी पार्किङस्थल बनाएर व्यवस्थित बनाउन आवश्यक छ । अनि मात्र पोखराको ट्राफिक व्यवस्थापन चुस्त बन्छ ।

हाल पोखरा तथा लेखनाथ सबै ठाउँमा सडकमै पार्किङ गर्न सर्वसाधारण बाध्य छन् । त्यसमा पनि बिहान व्यवसाय वा कामका लागि हिँडेकाहरुले दिनभरि एकै ठाउँमा पार्किङ गरिरहँदा दोहोरो/तेहेरो पार्किङ गनुपर्ने अवस्था छ । जसका कारण सडक जतिसुकै चाक्लो भए पनि सकडमै पार्किङ गर्दा सडक साँघुरो हुने र सोही कारण ट्राफिक जाम उत्पन्न हुनुका साथै दुर्घटना पनि हुने गरेको छ ।

यसको स्थायी समाधान भनेको छुट्टै पार्किङस्थल बनाएर पार्किङ व्यवस्थापन गर्नु नै हो । र, पोखरा लेखनाथ महानगरपालिकाले सडकमा अवैधरुपमा पार्किङ शुल्क उठाउँदै आएकालाई अव बैधानिक बनाउन पनि छुट्टै पार्किङस्थल बनाउनु आवश्यक छ ।

जग्गा प्लटिङ रोक्नु

पोखरा लेखनाथ महानगरपालिकालाई व्यवस्थित बनाउन नयाँ मेयरको मुख्य काम हो जग्गा प्लटिङ रोक्नु । अव्यवस्थित सहरीकरणले पर्यटकीय नगरी पोखराको सौन्दर्यमा ह्रास आएको छ । पछिल्लो क्रममा खेतीयोग्य जमिन प्लटिङ गर्दै जग्गा टुक्रा-टुक्रा पार्दा उत्पादकत्व घट्नुका साथै पोखरा लेखनाथ कुरुप हुँदै गएको छ । घर निर्माणको मापदण्ड, बाटोको मापदण्ड पूरा नगरी घर बनाउने क्रम बढ्दा जोखिम पनि उत्तिकै बढेको छ ।

भुकम्पपछि यसमा केही सुधार आए पनि थप ब्यबस्थित गर्ने जिम्मा नयाँ मेयरको हो । कुन- कुन क्षेत्र आवासीय हो र कुन-कुन क्षेत्र आवादी हो भन्ने खुट्याएर त्यसअनुसार नै बस्ती बसाल्ने र खेती गर्ने परम्पराको थालनी अबको मेयरले गर्न आवश्यक छ ।

साथै पोखरा लेखनाथमा कति तलासम्म घर बनाउने भन्ने मापदण्ड तोकेर त्यसलाई कडाइका साथ पालना गर्न लगाउनु पनि अब आवश्यक भइसकेको छ । किनकि पोखरामा हालसम्म ३ तलाभन्दा माथि घर बनाउन नपाइने नियम छ । तर पछिल्लो क्रममा ९ तलासम्मका घर बनिसकेका छन् । अब यसलाई स्वीकृति दिएर सबैका लागि बाटो खुल्ला गर्ने हो कि बनेका घरमा मापदण्ड पालना गराउने हो, त्यो पनि नयाँ मेयरले निर्णय गर्नुपर्नेछ ।

व्यवस्थित औद्योगिक क्षेत्र स्थापना

पोखरा लेखनाथ महानगरपालिकामा व्यवस्थित औद्योगिक क्षेत्र बनाउनु पनि नयाँ मेयरको योजनामा पर्नुपर्छ । पोखरा र लेखनाथसहित थपिएका गाविसलाई समेत समेट्ने गरी औद्योगिक क्षेत्र स्थापना गर्न आवश्यक छ । हाल पोखराभित्र नै औद्योगिक क्षेत्र हुँदा प्रदुषणको समस्या देखिँदै आएको छ । यसलाई स्थानान्तरण गरी पोखरा लेखनाथ सहरभित्र नपर्ने गरी कुनै एक क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

यसअघि औद्योगिक क्षेत्र विकास आयोजनाले लेखनाथको पट्नेरीमा औद्योगिक क्षेत्र राख्न सुझाव दिएको थियो । सो सुझाव अनुसार काम गर्ने वा विज्ञहरुको एक समिति बनाई नयाँ ठाउँको खोजी गर्ने विकल्प मेयरसँग हुनेछ ।

नयाँ डम्पिङ साइट खोजी

सुन्दर नगरीको रुपमा परिचित पोखराको फोहरमैला व्यवस्था पनि पहिलो मेयरले प्राथमिकताका साथ गर्नुपर्ने काम हो । हाल पोखरा लेखनाथ महानगरपालिका-१४ छिनेडाँडास्थित डम्पिङ साइटमा फोहरमैला व्यवस्थापन गरिँदै आएको छ । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यदि बन्ने हो भने डम्पिङ साइट अब त्यहाँबाट हटाउन आवश्यक छ ।

फोहरमैला फालिने डम्पिङ साइटमा आएर बस्ने गिद्ध, चिललगायतका चराचुरुङ्गी विमानमा आएर ठोक्किन सक्ने सम्भावना हुन्छ । त्यसका साथै भरतपोखरी लगायतका क्षेत्र गाभिएर पोखरा लेखनाथ महानगर बनेपछि डम्पिङ साइट मध्यभागमा समेत पर्ने भएकाले यो ठाउँ अनुपयुक्त हुनेछ । अहिलेको डम्पिङ साइट फोहरमैलाले भरिन लागेकाले पनि यसको विकल्प खोज्नुपर्ने अनिवार्यता भइसकेको छ । त्यसैले अब यसको स्थायी समाधान खोज्न नयाँ ठाउँमा जग्गा खोजेर डम्पिङ साइट सार्नुलाई पहिलो मेयरले प्राथमिकतामा राख्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment