Comments Add Comment

भरतपुर महानगरको मेयरमा एमालेले सिफारिस गर्‍यो तीन उम्मेदवार

९ बैशाख, चितवन । भरतपुर महानगरपालिकाको मेयरको उम्मेमदवारका लागि नेकपा एमाले चितवनबाट ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

शनिबार बसेको एमाले चितवनको सचिवालय बैठकले पार्टीका पूर्वसचिव तथा प्रदेश कमिटी सदस्य विजय सुवेदी, पार्टी केन्द्रिय सल्लाहाकार देवी ज्ञवाली र पूर्वमन्त्री केशवलाल श्रेष्ठको नाम सिफारिस गरिएको पार्टी सचिव पार्वती रावलले जानकारी दिइन् ।

महानगरको मेयरमा कृष्णराज न्यौपाने, सूर्यबदना हमाल, लगायत अन्यले समेत दावी गरेका थिए ।

सिफारिसमा परेका मध्ये देवी ज्ञवाली २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भरतपुर नगरपालिकाको उपमेयर थिए । २०६४ सालको संविधान निर्वाचनमा क्षेत्र नः ३ को उम्मेद्वार रहेका ज्ञवाली पराजित बनेका थिए ।

विजय सुवेदी २०५६ र २०६४ मा भएका निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नः ५ बाट उम्मेदवार भएपनि दुबै पराजित भएका थिए । ज्ञवाली भने २०५८ देखि २०६१ सम्म चितवनको पार्टी सचिव भएर काम गरिसकेका नेता हुन् ।

एमाले चितवनमा ३ पटकसम्म पार्टी सचिव भएका विजय सुवेदीको चर्चा चितवनमा अन्य आकांक्षीको भन्दा बढी छ । भरतपुर अस्पतालको अध्यक्ष तथा चितवन उपत्यका गुरूयोजना निर्माण समितिको संयोजक भएर काम गरिसकेका उनलाई टिकट दिँदा जित्न सकिने कतिपय एमाले कार्यकर्ताहरुले नै बताउँछन् ।

मेयरको उम्मेदवार सिफारिस भएका ज्ञवाली र सुवेदी दुबै केपी ओली समुहका नेता हुन् । अर्का आकाक्षी केशवलाल श्रेष्ठ बामदेव गौतमसँग निकट मानिन्छन् । तर, कार्यकर्ता पंक्तिमा उनको पकड कमजोर मानिएएको छ ।

एमाले चितवनले इच्छाकामना गाँउपालिका बाहेक अन्य नगरपालिकामा मेयर र उपमेयरको उम्मेद्वारी टुंग्गाउन सकेको छैन ।

तर, पार्टी सचिवालय बैठकले अनौपचारिक रुपमा राप्ती नगरपालिकाको मेयरमा प्रभा बराल, खैरहनी नगरपालिकाको मेयरमा लालमणी चौधरी, उपमयेरमा सुनिता थपलिया, रत्ननगर नगरपालिकामा नारायण बन र उपमेयरमा बिमला दुवाडी, कालिका नगरपालिकामा गोपी श्रेष्ठ र माडी नगरपालिकामा नारादमणि पौडे्ललाई उम्मेद्वार तय गरेको स्रोतले जनाएको छ । तल्लो कमिटीबाट आएका नामहरुलाई प्रदेश कमिटीमा नपठाई जिल्लाको सचिवालय कमिटीले टुंग्याउन लागेको भन्दै कार्यकर्ताले बिरोध पनि गरेका छन् ।

एमालेले नगरपालिकाको मेयर र उपमेयर तथा महानगरपालिकाका वडा अध्यक्षको उम्मेदवार प्रदेश कमिटीले टुंग्याउने र जिल्लाले सिफारिस गर्ने सर्कुलर गरेको थियो । जिल्ला पार्टी सचिवालयले आफ्नै तजविजमा उम्मेद्वार तय गरेको भन्दै केहीवेर एमाले कार्यकर्ताले पार्टी कार्यालयमा नारावाजी समेत गरेका थिए ।

भरतपुर महानगरपालिकामा एक मेयर, एक उपमेयर, २९ वडा अध्यक्ष र ११६ वडा सदस्य गरी १४७ जना प्रत्यक्ष निर्वाचित हुने छन् । नगरसभाले दलित, अल्पसंख्यक गरी ३ जना मनोनित गर्ने छ । यसो हुँदा भरतपुर महानगरपालिकामा १५० जनाको नगरसभा हुनेछ । निर्वाचनका लागि ६५ स्थानमा १७९ बटा केन्द्र तोकिएका छन् । महानगरमा १ लाख ५० हजार २ सय ७४ जना मतदाता छन् ।

यो पनि पढ्नुहोस् 

भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेणु दाहालको उम्मेदवारी

कांग्रेसलाई भरतपुर महानगरको मेयर छान्न महाभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment