एउटा खानेकुरा कसैले स्वादिलो बनाउँछन्, कसैले बेस्वादको । खानेकुरा मीठो हुनु र नहुनुमा खानेकुरा भन्दा पनि त्यसलाई बनाउने वीधी महत्वपूर्ण हुन्छ । कुन खानेकुरा कसरी पकाउने वा कुन विधीबाट पकाउँदा बढी स्वादिलो हुन्छ भन्ने कुराका लागि स-सना कुरामा ध्यान दिनुपर्छ ।
– ग्रेभीलाई राम्रो कलर दिनका लागि पाकेको गोलभेडा प्रयोग गर्नुपर्छ ।
– कहिले कहिं गोलभेडा छैन भने टोमेटो केचप वा ससको प्रयोग गर्न सकिन्छ ।
– मसलालाई राम्रो रंग दिनका लागि धिमा आँचमा लगातार भुट्नुपर्छ, जसले त्यसको राम्रो रंग आउँछ ।
– पकौडालाई क्रिस्पी बनाउनका लागि बेसनको घोलमा थोरै मकैको आटा मिसाउनुपर्छ ।
– पकौडा बनाएको बेला घोलमा एक चम्चा तातो तेल र चुट्कीभर बेकिङ सोडा मिलाउनुपर्छ । यसले स्वाद बढाउँछ ।
– प्याज पकाएको समयमा त्यसमा थोरै नुन राख्नुपर्छ, यसले प्याज सजिलै पाक्छ ।
– दाल छिटो पकाउनका लागि त्यसमा थोरै घिउ, थोरै बेसार वा हिंग, नुन र चिनी मिसाउनुपर्छ । यसले दालको बास्ना पनि मीठो हुन्छ ।
– पुरी नरम बनाउनका लागि त्यसमा आटा मुछेको समयमा पानीको बदलामा थोरै दुध हाल्नुपर्छ ।
– सब्जी पकाउने क्रममा जबसम्म सब्जी गल्दैन, तबसम्म नुन हाल्नु हुँदैन । सब्जीमा सुरुमै नुन हाल्दा त्यसमा रहेको न्युट्रेसन कम हुन्छ ।
– आलु उसिनेको बेला त्यसमा थोरै नुन हाल्नुपर्छ, यसले गर्दा बोक्रा ताछ्न सजिलो हुन्छ ।
(तरकारी स्वादिलो र बेस्वादिलो हुनुमा त्यसमा मिसाइने मरमसला, नुन, तेल, खुर्सानीको मात्रा, पकाउने अवधी, आँगोको ताप आदि कुरा निर्भर रहन्छ । कुन तरकारीसँग कुन मसलाको कम्बिनेसन मिल्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ । धेरैथरी मसला मिसाउदैमा तरकारी स्वादिलो हुन्छ भन्ने छैन । )
भान्सालाई बनाउनुहोस् बालमैत्री
हामी खानेकुरा बनाउँदा अक्सर आफ्नो स्वादलाई बढी ख्याल गर्छौ । घरको भान्सामा पाक्ने धेरैजसो खान्की ठूलाहरुको लागि बनाइन्छ । खाना बनाइरहेको बेला बच्चाले के मन पराउँछ भनेर खासै ध्यान दिइदैन । यद्यपी घरमा हामीले बनाउने खानेकुरा बालमैत्री हुनु आवश्यक छ, यदि घरमा बच्चा छ भने ।
– बच्चालाई धेरै चिप्लो, अमिलो, नुनिलो खानेकुरा होइन, सादा र सुपाच्य खानेकुरामा अभ्यस्त गराउनुपर्छ ।
– धेरैजसो बच्चा हरियो सागपात खाँदैनन् । उनीहरुलाई जबरजस्ती ख्वाउने पनि होइन । बरु, अन्य खानेकुरामा थोरै थोरै सागपात सामेल गरेर थाहै नपाई त्यसमा बानी पार्नुपर्छ ।
– बच्चाहरु जिब्रोले मात्र होइन, आँखाले पनि खानेकुराको स्वाद लिन्छन् । त्यसैले उनीहरुलाई कुनैपनि खानेकुरा सर्भ गर्दा त्यसलाई सजाएर वा आकर्षक बनाएर सर्भ गर्नुपर्छ ।
– बच्चाको खाना सन्तुलित हुनुपर्छ, जसमा प्रोटिन, भिटामिन, मिनरल्स, आइरन आदि सामेल हुनुपर्छ ।
प्रतिक्रिया 4