Comments Add Comment

भरतपुर महानगरको मेयरमा राप्रपाका बद्रि तिमल्सिना उम्मेदवार

१२ बैशाख, चितवन । राप्रपाले भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचनमा जिल्ला अध्यक्ष बद्रि तिमल्सिनालाई उठाउने भएको छ । राप्रपा जिल्ला समितिले अध्यक्ष तिमल्सिनालाई मेयरको उम्मेदवार बनाउने गरी नाम केन्द्रमा सिफारिस गरेको हो ।

तिमल्सिना राप्रपा अध्यक्ष कमल थापाका विश्वास पात्र हुन् । तत्कालिन राप्रपा नेपालका जिल्ला अध्यक्ष रहेका तिमल्सिना पार्टी एकता अधिवेशनपछि राप्रपाको जिल्ला अध्यक्ष भएका हुन् ।

तिमल्सिनासँगै महानगर समितिका संयोजक विष्णु प्रसाद खरालको नाम पनि मेयरका लागि सिफारिस भएपनि खरालले नउठ्ने बताएका छन् ।

यस्तै राप्रपाले मिना न्यौपाने र गीता लम्साललाई उपमेयरमा उठाउन गरी नाम सिफारिस गरेको जिल्ला अध्यक्ष तिमल्सिनाले बताए । गीता लम्सालले भन्दा मिना न्यौपानेले उपमेयरको टिकट पाउने सम्भावना बढी रहेको राप्रपा चितवनका नेताहरु बताउँछन् ।

एमालेसँग तालमेल गर्न राप्रपाको सर्कुलर

राप्रपाले अन्य जुनसुकै राजनीतिक शक्तिसँग पनि ‘एलाइन्स’ गरेर जानेसक्ने गरी बाटो खुल्ला गरेको राप्रपाका अध्यक्ष बद्रि तिमल्सिनाले जानकारी दिए । त्यो अवस्थामा ‘व्याक’ हुनुपरे पनि पार्टी अध्यक्ष भएको नाताले सजिलो हुने भएकाले बद्रि आफैले उम्मेदवारी दिएको राप्रपा स्रोतले जनाएको छ ।

राप्रपाले केन्द्रबाट नै एमालेसँग चुनावी तालमेल गरेर जाने सर्कुलर पठाएको छ ।

राप्रपाले हिन्दु राज्य, भरतपुर महानगरमा रिङरोड निर्माण, नारायणी नदी नियन्त्रण जस्ता बिषयलाई प्रमुख मुद्दा बनाएर निर्वाचनमा जाने अध्यक्ष तिमल्सिनाले बताए ।

रत्ननगरमा लामा, कालिकामा स्याङ्तान र राप्तीमा बर्तौला

राप्रपाले कालिका नगरपालिकाको मेयरमा इन्द्रबहादुर स्याङ्तान, उपमेयरमा बुद्धिलक्ष्मी तामाङलाई उठाएको छ ।

राप्ती नगरपालिकाको मेयरमा एसके बर्तौला र उपमेयरमा मन्जु बर्तौलालाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष तिमिल्सिनाले बताए । माडी नगरपालिकाको मेयरमा मदन पौडेललाई र उपमेयरमा मीना महतो मल्ललाई उपमेयर बनाउने निर्णय भएको छ ।

रत्ननगर नगरपालिकाको मेयरमा टीकाराम लामालाई उम्मेदवार बनाउने भएको छ भने, उपमेयर छनौट हुन बाँकी रहेको राप्रपाले जनाएको छ ।

राप्रपाले चितवनको एउटामात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा पुरन सुनुवारलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । इच्छाकामनाको उपाध्यक्ष छनौट हुन बाँकी नै छ ।

‘९० प्रतिशत उम्मेदवारको छनौट गरिसकेका छौं,’ जिल्ला अध्यक्ष बदि्र तिमिल्सिनाले भने, ‘बाँकी उम्मेदवार चयन आज टुंग्याइने छ ।’

यस्तो छ राप्रपाको स्थिति

चितवनको निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधान सभा निर्वाचन ०७० मा विक्रम पाण्डेले जितेका थिए । पाण्डे निर्वाचित क्षेत्रका साविकका ४ गाविसहरु मेघौली, जगतपुर, शुक्रनगर र पार्वतीपुर अहिले भरतपुर महानगरपालिकामा पर्दछन् ।

दोस्रो संविधान सभा निर्वाचनताका राप्रपा र राप्रपा नेपालले अलग-अलग चुनाव चिन्हबाट निर्वाचन लडेका थिए । तर यसपटक दुई वटा पार्टीका बीचमा एकता भएकोले राप्रपामा उत्साहको सञ्चार भएको छ ।

राप्रपाको प्रभाव क्षेत्र मानिएको निर्वाचन क्षेत्र नम्बर ५ का २५ हजार सात सय ५३ मतदाता भरतपुर महानगरका बासिन्दा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment