Comments Add Comment

राजपाको पछाडि नेपाल थपियो, दल दर्ताका लागि आयोगमा निवेदन

१३ बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

तर, नेताहरुले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना रहेको बताएका छन् ।

राजपाका नेताहरुले ६ पार्टीबीच एकता भएको र राष्ट्रिय जनता पार्टी नेपालका नाममा एकीकृत भएको औपचारिक रुपमा आयोगलाई जानकारी गराएका हुन् ।

मधेसी मोर्चामा आवद्ध ६ दलले पार्टी एकता घोषणा गर्दा पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ नाम राखिएको थियो । तर, यो नाममा यसअघि नै दल दर्ता भइसकेको पाइएपछि नेपाल थपेर दल दर्ताको आवेदन दिइएको छ ।

चुनाव चिहृन छाता प्रस्ताव गरिएको छ ।

तर, निर्वाचन आयोगले राजपालाई तत्काल छाता चुनाव चिन्ह दिन नसकिने बताइसकेको छ । आयोगले राजपा नेपाललाई एकता प्रक्रियामा रहेको दलहरु मध्ये कुनै एकको चुनाव चिहृन लिन सक्ने विकल्प दिएको थियो ।

राजपा नेपालले भने एकतामा आवद्ध ६ दल मध्ये कुनको चुनाव चिहृन लिने पनि जानकारी गराएको छैन । साथै उम्मेदवारको मनोनयनको औपचारिकता प्रदान गर्ने पदाधिकारीको नाम, पद र हस्ताक्षरको नमुना बुझाएन ।

चुनाव चिहृन छनौट र पदाधिकारीको हस्ताक्षर बुझाउन आयोगले बुधबारसम्मको समय दिएको थियो ।

पहिलो चरणको चुनावमा भाग नलिन सक्ने !

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि आफूहरु पहिलो चरणको चुनावमा सहभागी नहुने सम्भावना रहेको अनलाइनखबरलाई बताए । उनले अघि भने, दल दर्ता नै भएको छैन, कसरी सहभागिता होला र पहिलो चरण ।’

राजपाका महासचिव मनिष सुुमनले भने संविधान संशोधनसँगै छाता चुनाव चिहृन पनि पाउनु पर्ने बताए । उनले भने, नाम जुध्यो हामीले परिवर्तन गर्‍यौं । अब हामीले सबै जिल्लामा दल दर्ता गर्न पाउनुपर्छ, छाता चुनाव चिन्ह पाउनुपर्छ । रहृयो मतपत्रको कुरा, यो आयोगको टाउको दुखाईको विषय हो ।’

मधेसी मोर्चाले संविधान संशोधन विधेयक पास भएपछि मात्र चुनावमा भाग लिने बताएको छ । संशोधन विधेयक संसदको प्रक्रियामा छ ।

जबकी पहिलो चरणको चुनावका लागि उम्मेदवारी दर्ता गर्ने दिन १९ गते तोकिएको छ ।

राजपाका नेता केशव झाले अनलाइनखबरसँग भने, ‘१७/१८ सम्म संशोधन भयो र उम्मेदवारी दर्ताका लागि हामीलाई केही दिन दिइयो भने हाम्रो सहभागिता रहनसक्छ । नभए पहिलो चरणमा हाम्रो सहभागिता हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment