+
+
Shares

मलेसियाका व्यवसायीलाई प्रधानमन्त्रीले भने-नेपालीले कुनै समस्या भोग्नु नपरोस्

'नेपाली कामदारका समस्या समाधान गर्न कुटनीतिक पहल जारी'

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते ११:३२

१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा कार्यरत नेपालीहरुको हित नै सरकारको मुख्य सरोकारको विषय भएको बताएका छन् ।

मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

नेपाल भ्रमणमा रहेको मलेसियाका व्यवसायी र पूर्वप्रशासकहरुको टोलीसँग आइतबार बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालीहरुको अवस्थाबारे चासो राख्दै समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।

‘हाम्रा दशौं लाख नागरिक मलेसियामा कामदारका रुपमा छन् । उनीहरुले विभिन्न कठिनाई भोगिरहेका छन् । फि्र भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘नेपाल सरकार मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको छ ।’

मलेसिया वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य हो । मलेसियामा धेरै नेपाली कामदारहरु छन् । तर, त्यहाँ नेपालीहरु लुटिने, कुटिने, भनेजस्तो तलब नपाउने लगायतका समस्या भोग्नुपरेको छ । ‘मलेसियामा नेपालीहरुले जेजस्ता समस्याहरु भोग्नुपरिरहेको छ त्यसप्रति प्रधानमन्त्रीले विशेष चासो राख्नु भयो । र, अबदेखि कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मलेसियाको टोलीको ध्यानाकर्षण गराउनुभयो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

मलेसियाबाट लगानी भित्राउने चाहना

अर्को एक प्रसंगमा उनले नेपाली जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिर भएको बताए । त्यसका लागि सरकार रातदिन खटिरहेको प्रचण्डले जानकारी गराए । उनले नेपालमा लगानी गर्न मलेसियाका व्यवसायीहरुलाई आग्रह पनि गरे ।

‘अहिले विश्वकै ध्यान विकास र समृद्धिमा छ । नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पुरा गर्न रातदिन खटिरहेको छ,’ भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘यसै वर्ष हामीले नेपालमा लगानी सम्मेलन गर्‍यौं, पूर्वाधार विकाससम्बन्धी सम्मेलन पनि भयो ।

गानीको राम्रो प्रतिवद्धता आएको छ । लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानूनहरु परिमार्जन गरेर हामी लगानी भित्राउन चाहन्छौं ।’
नेपालको समृद्धि र विकासमा सकारात्मक लक्षणहरु देखा परिरहेको भन्दै प्रचण्डले अहिले सात प्रतिशत आर्थिक वृद्धि हासिल गरिएको जानकारी गराए ।

मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसबाट नेपालले पनि शिक्षा लिनसक्ने बताए ।

भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले प्रचण्ड नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्यका लागि आग्रह गरे ।

भेटमा नेपाल मलेसिया बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीहरुले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?