Comments Add Comment

२० वर्षे थोत्रा बसले अब विद्यार्थी बोक्ने !

फाइल तस्वीर

१८ वैशाख, काठमाडौं । उपत्यकाबाट हटाउने घोषणा गरिएको थोत्रा बसहरुले अब स्कुले विद्यार्थी बोक्ने भएका छन् ।

सरकारले गत फागुन १९ गतेदेखि काठमाडौं उपत्यकाबाट २० वर्षे सार्वजनिक सवारी हटाएको घोषणा गरेको थियो । तर, थोत्रा सवारीलाई धामाधम रातो नम्बर प्लेट बनाउने काम भइरहेको पाइएको छ ।

२० वर्ष नाघेका थोत्रा गाडीहरु विना रोकटोक निजी विद्यालय, विभिन्न र्फम र ब्यक्तिले किनेर रातो नम्बर प्लेटका रुपान्तरण गरिरहेका छन् । यस्ता पुराना बस बढीजसो निजी विद्यालय सञ्चालकले किन्ने गरेको यातायात व्यवस्था विभाग स्रोतले जानकारी दियो ।

कवाडीमा बेच्नुपर्ने सवारी साधनहरुलाई अञ्चलीकरण गर्न पनि यातायात व्यवस्था विभागले रोकेको छैन ।

यातायात ब्यवस्था ऐनले नरोक्ने भन्दै विभागको साना ठूला सवारी कार्यालय, एकान्तकुनाले २० वर्ष पुग्न केही दिन बाँकी रहेका सवारीलाई पनि निजीकरण र अञ्चलीकरण गरिरहेको छ ।

एकान्तकुना कार्यालयका प्रमुख बसन्त अधिकारी पुराना गाडीको निजीकरण र अञ्चलीकारण कानुनसम्मत भएको बताउँछन् ।

मन्त्रालयले निर्णय नगर्दा समस्या

उसो त यातायात व्यवस्था विभागले २० वर्ष पुरानासवारीलाई विस्थापन गर्ने नीति ल्याउँदा नै १५ वर्ष पुगेका सवारीको निजीकरण र अञ्चलीकरण दुबै रोक्ने बताएको थियो । त्यसअनुसार १५ वर्ष पुगेका सवारीलाई अर्को अञ्चलमा सार्न वा कालो नम्बर प्लेटलाई अन्यमा रुपान्तरण गर्न नदिने प्रस्ताव यातायात ब्यवस्था मन्त्रालयमा पठाएको थियो ।

तर, मन्त्रालयले २० वर्षे सार्वजनिक सवारी हटाउने निर्णयमा सहमति दिएपनि निजीकरण र अञ्चलीकरण रोक्ने निर्णय गरेको थिएन ।

त्यही निर्णय नभएको अवस्थाको फाइदा उठाउँदै ब्यवसायीले थोत्रा सवारीलाई धमाधम निजीकरण गरिरहेका छन् ।

साना ठूला सवारी कार्यालयका प्रमुख बस्नत अधिकारी आयु नाघेका सवारीको नम्बरप्लेट र अञ्चलन परिवर्तन रोक्न आफूहरुले गरेको पहल गरिरहेको दावी गर्छन् । ‘थोत्रा सवारी किन्न लागेकालाई सम्झाउँछौं । कानुनी रुपमा हामीले रोक्न नमिले पनि सार्वजनिक सवारी किन्नेहरुलाई नकिन्नुस् भनेर बुझाउने प्रयत्न गर्छौं’ कार्यालय प्रमुख अधिकारीले भने ।

यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे अर्कोवर्षबाट २० वर्षे सार्वजनिक सवारी देशभारबाटै हट्ने बताउँछन् । थोत्रा सवारीको संरक्षणको पक्षमा सरकार नरहेको भन्दै उनले सार्वजनिकबाहेक निजी, सरकारी र पर्यटक सवारीमा पनि यो नियम छिट्टै लाग्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment