Comments Add Comment

एमालेको घोषणापत्रः १५ हजार मेगावाट बिजुली, आफ्नै पानीजहाज (पूर्णपाठसहित)

वृद्धभत्ता ५ हजार, प्रतिव्यक्ति आय ५ हजार डलर

१८ बैशाख, काठमाडौं । नेकपा एमालेले महत्वाकांक्षी एवं लोकप्रिय कार्यक्रमलाई समेटेर स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गरे । ५२ पृष्ठ लामो घोषणापत्रमा समेटिएका मुख्य विषयहरु यस्ता छन्ः

सामाजिक सुरक्षा भत्ता ५ हजार

स्थानीय चुनावको घोषणा पत्रमा दलहरुबीच सामाजिक सुरक्षा भत्ता बढाउने होड नै चलेको छ । कांग्रेसले सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने भनेको छ । एमालेले ५ हजार पुर्‍याइने बाचा घोषणा पत्रमा गरेको छ ।

सबै स्थानीय तहमा जेष्ठ नागरिक आवासगृह निर्माण गर्ने र त्यहाँ विश्राम, मनोरञ्जन र निःशुल्क आवासको सुविधा उपलब्ध गराउने एमालेले बताएको छ ।

साथै सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ ५ हजार भत्ता दिने र कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी विदा दिने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

अनिवार्य स्वास्थ्य बीमामा, हरेक गाउँपालिकाको केन्द्रमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शैय्याका अस्पताल र प्रत्येक वडामा दक्ष नर्ससहितको प्रसुती केन्द्र स्थापना गर्ने एमालेले बताएको छ । उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगहरूको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क गर्ने एमालेको दाबी छ ।

१० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर

एमालेले १० बर्षभित्र नेपालीको प्रति व्यक्ति आय ५००० डलरभन्दा बढी पुर्‍याएर महत्वकाक्षी घोषणा गरेको छ । नेपाललाई पाँच वर्षभित्र नेपाललाई विकासशील र दस वर्षभित्र मध्यम आय भएका मुलुकहरूको तहमा स्तरोन्नत गर्ने उसले बताएको छ ।

एमालेले स्थानीय सरकार गठन भएको १ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने प्रतिवद्धता घोषणापत्रमा गरेको छ । साथै गरिबीको रेखा मुनि रहेका नागरिकलाई विशेष परिचयपत्र उपलब्ध गराइने बताएको छ ।

१० वर्षमा १५ हजार मेगाबाट बिजुली

[sam_list] एमालेले आगामी १० वर्षमा थप १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गरिने छ, एमालेले भनेको छ ।

कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने, तमोर जलाशय परियोजना तथा पश्चिम सेती, नलसिंगाड, नौमुरे र बुढीगण्डकी परियोजना छिट्टै सम्पन्न गर्ने र उत्पादन, खाना पकाउने लगायतका घरेलु प्रयोजन र उर्जा आवश्यक हुने सबै क्षेत्रमा विद्युतको उपयोग गर्ने एमालेले बताएको छ ।

‘बचेको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिनेछ’ एमालेले घोषणा पत्रमा भनेको छ, ‘गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युतको उपयोगमा सहुलियत दिइने छ । विद्युत् ऊर्जाले पेट्रोलियम ऊर्जालाई क्रमशः प्रतिस्थापित गर्दै लगिनेछ ।’

‘घर-घरमा बिजुलीः जन-जनमा शेयर’को नारा लिएको एमालेले जलविद्युत परियोजनाहरूमा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने बताएको छ । त्यस्ता आयोजनाहरूमा स्वदेश र प्रवासमा रहेका नेपाली तथा गैरआवासीय नेपालीलाई ४९ प्रतिशतसम्म शेयर खरिद गर्न दिइनेछ ।

सबैतिर रेल र राजमार्ग

एमालेले सडक र रेल यातायातका क्षेत्रमा पनि महत्वकांक्षी योजना अघि सारेको छ । राजमार्ग र रेलमार्ग बनाउँदा सुरुङ र उच्च पुल निर्माण प्रविधि पनि अपनाइने उसले बताएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी पाँच वर्षभित्र सबै राजमार्गको विस्तार गर्ने, काठमाडौं-तराई द्रूतमार्ग बनाउने र हुलाकी राजमार्ग निर्माण गर्ने एमालेले बताएको छ ।

पूर्व-पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, पाँच वर्षमा मध्यपहाडी पुष्पलाल राजमार्गलाई चार लेनको बनाउने र तराईका सबै जिल्लामा पूर्व-पश्चिम राजमार्गदेखि नेपाल-भारत सीमासम्म चार लेनका राजमार्ग बनाउने बताएको छ । हिमाली जिल्लाहरूका सदरमुकामदेखि नेपाल-चीन सीमानासम्म न्यूनतम दुई लेनका सहायक राजमार्ग निर्माण गरिनेछ, एमालेले भनेको छ ।

एमालेको घोषणापत्रमा पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गर्ने, रसुवागढी-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग बनाउने र काठमाडौं-वीरगञ्ज रेलमार्ग निर्माण गर्ने पनि एमालेले बताएको छ । साथै काठमाडौँमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गर्ने एमालेले दाबी गरेको छ ।

निजगढमा अत्याधुनिक अन्तरर्राष्ट्रिय विमानस्थल १० वर्षभित्र, भैरहवा दुई वर्ष र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीन वर्षभित्र सञ्चालनमा ल्याउने एमालेले बताएको छ । साथै बिराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलको विस्तार तथा स्तरोन्नत गरी प्रादेशिक स्तरका अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

महत्वपूर्ण पर्यटकीय स्थानका साथै राजमार्गका विभिन्न स्थानबाट उच्च पहाडी पर्यटन स्थलहरूमा केवलकार निर्माण र सञ्चालन गर्ने उसको दाबी छ ।

६ महिनाभित्र स्थानीय तहका सभाहरूले तोकेका स्थानमा सहरी केन्द्र र वडा समितिले तोकेका स्थानमा उपनगर या एकीकृत ग्राम विकास गर्न गुरुयोजना निर्माण गर्ने बताएको छ । ‘सबै उपनगर तथा एकीकृत ग्रामबाट अधिकतम आधा घण्टामा स्थानीय तहको सहरी केन्द्रमा पुग्ने गरी तथा प्रत्येक सहरी केन्द्रबाट न्यूनतम २ घण्टामा राजमार्गमा पुग्ने गरी सडकहरूको निर्माण र स्तरोन्नति गरिने छ । टोल-टोलमा सडक पुर्‍याइने छ’ उसले भनेको छ ।

उच्च हिमाली क्षेत्रका वस्तीलाई केबलकार लगायत वैकल्पिक यातायातबाट जोड्ने दाबी गरेको छ । सहरहरूमा विद्युत्, टेलिफोनका तार, ग्याँसका पाइप, खानेपानीका पाइप लगायत सबै भूमिगत राख्ने, गाउँपालिका केन्द्र र प्रत्येक वडा उपनगरको बीचमा सुरक्षा चौकी, विन्डफ्ल्याग सहितको हेलिप्याड र एकीकृत सेवाकेन्द्र निर्माण गर्ने उसले बताएको छ ।

राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउन वार्ता

एमालेले राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनलाई पनि घोषणापत्रमा समेटेको छ । पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन गरी योजना कार्यान्वयन गर्न भारत, चीन र बंगलादेश सरकारसँग वार्ता गर्ने उसले बताएको छ ।

कोसी, गण्डकी र कणर्ाली नदीमा आन्तरिक र वाहृय जलमार्गका सम्भाव्यता अध्ययन गर्ने भन्दै एमालेको घोषणा पत्रमा भनिएको छ, ‘देशका विभिन्न भागमा निर्माण गरिने उच्च बाँध जलाशयहरूमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्गको विकास गरिने छ ।’

मुस्ताङमा युरेनियम उत्खनन केन्द्र

मुस्ताङमा युरेनियम उत्खनन तथा प्रशोधन केन्द्र स्थापना गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ । साथै दैलेख लगायतका स्थ्ाानमा पेट्रोलियम र नवलपरासीमा रहेको फलाम खानीको थप अन्वेषण गरी उपयोग गर्ने बताएको छ ।

एमालेले एक प्रदेश एक आधुनिक औद्योगिक क्षेत्रको नारा पनि दिएको छ । यो नीतिअनुरूप प्रत्येक औद्योगिक क्षेत्रमा दस वर्षभित्रमा एक लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने गरी उद्योगहरू स्थापनागर्ने र प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम विकास गर्ने एमालेले जनाएको छ ।

सुरक्षा निकायका साथै निजामति कर्मचारी, चिकित्सक, शिक्षक र विद्यार्थीहरूले प्रयोग गर्ने कपडा, जुत्ता, बुट उत्पादन गर्ने उद्योगहरू स्थापना गर्न विशेष सहुलियतका साथ प्रोत्साहन गर्ने र नेपाललाई आवश्यक औषधिहरूको उत्पादन गर्न उद्योगहरू स्थापना गर्ने पनि एमालेले दाबी गरेको छ ।

खेल अनिवार्य, उपत्यकामै तीन रंगशाला

एमालेले हरेक नागरिकले कुनै न कुनै खेलकुदमा भाग लिनु पर्ने व्यवस्था गरिने बताएको छ । साथै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूमा ५० हजार सिट क्षमताका अन्तर्राष्ट्रिय स्तरका तीन रङ्गशाला निर्माण गर्ने दाबी गरेको छ ।

प्रत्येक प्रदेश सदरमुकाममा एक अत्याधुनिक साधन सम्पन्न खेलग्रामसहित अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने पनि एमालेको दाबी छ ।

सिंहदरबार नमूनाको स्थानीय प्रशासनिक भवन

एमालेले सबै स्थानीय तहका प्रशासनिक र सभा भवनहरु सिंहदरबार नमूनाका बनाउने बताएको छ ।

स्थानीय तहमा बनाउने सबै संरचना भूकम्प, चट्याङ, अग्नि प्रतिरोधी तथा बाढी पहिरोबाट सुरक्षित र हरियालीयुक्त हुने समेत एमालेले बताएको छ ।

सबै बडा र टोलमा बालगृह, जेष्ठ नागरिक आश्रम, तालिम केन्द्र, खेलकूद मैदानको व्यवस्था गर्ने, प्रत्येक वडामा एक पुस्तकालय र स्थानीय संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

प्रत्येक स्थानीय तहको केन्द्र र वडामा बैंकको शाखा खोल्ने तथा प्रत्येक परिवारलाई शून्य मौजदातमा निःशुल्क बैंक खाता खोल्ने एमालेको दाबी छ । ‘५ वर्षपछि सम्पूर्ण आर्थिक कारोबार नगदविहीन बैंकिंङ प्रणालीमा लैजाने गरी योजना शुरु गरिने छ’ एमालेको अर्को महत्वकाक्षी योजना छ ।

९ महानगर थपिने, विभिन्न ठाउँमा स्मार्ट सिटी

एमालेले आफ्नो घोषणा पत्रमा नै ९ वटा महानगरपालिका थप्ने घोषणा गरेको छ । कैलालीको धनगढी र अत्तरियासमेत, बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरासमेत, दाङको तुल्सीपुर र घोराहीसमेत, रुपन्देहीको बुटवल र भैरहवासमेत, पर्साको वीरगञ्ज र पोखरियासमेत, धनुषाको जनकपुर, धनुषाधाम र ढल्केवरसमेत, मोरङको विराटनगर, रङ्गेली र टङ्कीसिनवारी समेत, सुनसरीको धरान र इटहरीसमेत तथा झापाको बिर्तामोड, भद्रपुर र मेचीनगरसमेत मिलाएर ९ नयाँ महानगर घोषणा गर्ने उसले बताएको छ ।

हुलाकी राजमार्गका नयाँ स्थानमा १० र मध्यपहाडी राजमार्गका तोकिएका १० स्थानमा आधुनिक सहर विकास गर्ने एमालेको दाबी छ ।
साथै मस्र्याङ्दी उपत्यका, इलाम, अरुण उपत्यका, दामन, वालिङ, लुम्बिनी, जुम्ला, डडेल्धुरा लगायत स्थानमा आधुनिक एवम् समृद्ध स्मार्ट सिटी बनाउने बताएको छ ।

एमालेले आफ्नो घोषणापत्रमा आफ्नो सरकार बनेको दोश्रो वर्षमै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई मिलाएर मेघा नगर घोषणा गर्ने दाबी गरेको छ ।

एक घरः एक रोजगारी

एमालेले आफ्नो सरकार बनेको तीन बर्षमै ‘एक घरः एक रोजगारीको नारा अघि सारेको छ । १० बर्षभित्रमा १८ बर्ष पुगेका प्रत्येक नागरिकले रोजगारी पाउने गरी कार्ययोजना सुरु गरिनेछ, एमालेले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment