
१८ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध को महाअभियोग प्रस्तावप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने चेतावनी दिएका कमल थापालाई सरकार नछाड्न दबाब परेको छ ।
सरकारबाट फिर्ता हुनेबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको राप्रपा कार्यसम्पादन समिति बैठकमा अधिकांश नेताहरुले सरकारबाट फिर्ता हुन नहुने मत राखेको स्रोतले जनाएको छ ।
कमल थापा बाहेक सरकारमा सहभागी सबै मन्त्रीले स्थानीय तहको चुनावका मुखमा सरकार छाड्दा त्यसले कार्यकर्ताको मनोबल खस्किने र चुनावी नतिजामा असर पर्ने तर्क गरेका छन् ।
दिपक बोहोरा, विक्रम पाण्डे, दिलनाथ गिरी लगायतका मन्त्रीले सरकार छाड्ने कमल थापाको प्रस्ताव अस्वीकार गरेका छन् । त्यस्तै पशुपति शमसेर राणा, रोशन कार्की लगायत कार्य सम्पादन समितिमा रहेका बरिष्ठ नेताहरुले पनि सरकार छाड्न नहुने मत प्रकट गरेको एक मन्त्रीले बताए ।
राजिव पराजुली, सुशील श्रेष्ठ लगायतका नेताले भने सरकारबाट बाहिरिनुपर्ने तर्क गरेको स्रोतले बतायो ।
कार्य सम्पादन समिति बैठक जारी रहेको र समग्र विषयमा छलफल भइरहेको एक नेताले बताए ।
प्रतिक्रिया 4