Comments Add Comment

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

शहरमाभन्दा गाउँमा चुनावको रौनक

१९ वैशाख, चितवन । मनोनयन दर्ताका कारण चितवनको भरतपुर महानगरपालिकासहित सातवटै स्थानीय तहको वातावरण उल्लासमय बनेको छ । राजनीतिक दलहरुले बाजागाजा र र्‍यालीसहित स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् । चितवनको शहरी क्षेत्रभन्दा ग्रामिण भेगमा बढी उल्लास देखिन्छ ।

नेकपा माओवादी केन्द्र चितवनले भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहालको मनोनयन दर्ता गराएको छ । उपमेयरमा सुरेन्द्र गुरुङको मनोनयन दर्ता भएको छ ।

रेणुको प्रस्तावकमा नारायण दाहाल र समर्थकमा सुर्य सुवेदी छन् भने गुरुङको प्रस्तावकमा ज्ञानु सुवेदी र समर्थकमा दण्डपाणी पौडेल छन् ।

माओवादी केन्द्रका नेता-कार्यकर्ताहरु मनोनयन दर्ता गराउन भरतपुरस्थित पार्टी कार्यालयबाट बाजागाजासहित निर्वाचन कार्यालयमा पुगेका थिए । प्रधानमन्त्री प्रचण्डको छोरीसमेत भएकाले चितवनमा रेणुप्रति चासो र चर्चा बढी छ ।

नेकपा एमालेले भरतपुरको मेयरमा पूर्वउपमेयर रहेका देवी ज्ञवालीलाई मेयर र दिव्या आचार्यलाई उपमेयरमा उठाएको छ । एमालेले पनि पार्टी कार्यालय कृष्णपुरबाट बाजागाजासहित मनोनयन दर्ता गराउने तयारी गरेको छ ।

नेपाली कांग्रेसले मनोनयन दर्ताको दिन बिहानमात्र मेयर पदको टुंगो लगाएको छ । कांग्रेसले दिनेश कोइरालालाई मेयर पदको उम्मेदवार बनाएको छ । उम्मेदवार टुंगो नलाग्दा कांग्रेस नेता-कार्यकर्ताहरू नारायणगढ कमलनगरस्थित पार्टी कार्यालयमा केन्द्रको निर्णयको व्यग्र प्रतिक्षामा बसीरहेका देखिन्थे ।

राप्रपाले चितवन जिल्लाका अध्यक्ष बद्री तिमिल्सीनालाई भरतपुरको मेयरमा उठाएको छ । यसैगरी उपमेयरमा रिना गुरुङलाई अघि सारेको छ ।

त्यसैगरी साना दलहरू पनि चुनावको तयारीमा छन् ।

चितवनको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा रुपनराज घिमिरे, उपमेयरमा निता ढकाल, एमालेबाट मेयरमा नारायण वन, उपमेयरमा विमला दवाडी तथा माओवादी केन्द्रबाट मेयरमा राजु अम्गाई ‘सुवोध’ र उपमेयरमा संगिता भट्टराई उम्मेदवार बनेकाछन् ।

चितवनको कालिका नगरपालिकामा नेपाली कांग्रेसवाट मेयरमा कमल आचार्य, उपमेयरमा जुनु श्रेष्ठ, एमालेको तर्फबाट मेयरमा खुमनारायण श्रेक्ष्ठ ‘गोपी’, उपमेयरमा कमला भट्टराई तथा माओवादी केन्द्रबाट मेयरमा रामध्वज डल्लाकोटी र उपमेयरमा सविता लामालाई उम्मेदवार बनाएको छ ।

खैरहनी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा राजेन्द्रप्रसाद चौधरी र उपमेयरमा सुशीला उप्रेती उम्मेदवार रहेका छन् । एमालेले पूर्वसभासद लालमणी चौधरीलाई मेयरमा र उपमेयरमा सुनिता थपलियालाई उठाएको छ । माओवादी केन्द्रको तर्फबाट मेयरमा एकराज डल्लाकोटी र उपमेयरमा रेवती पाठकका उम्मेदवार छन् ।

यसैगरी माडी नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा खेम महतो र उपमेयरमा शिवमाया भट्टराईलाई उठाएको छ । यसैगरी नेकपा एमालेले मेयरमा नारदमणी पौडेल र उपमेयरमा ताराकाजी महतोलाई उठाएको छ । माओवादी केन्द्रले मेयरमा ठाकुर ढकाल र उपमेरमा सरिता महतो ‘अपेक्षा’लाई उठाएको छ ।

राप्ती नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा किरणभुषण ओली र उपमेयरमा अनिता मैनालीलाई उठाएको छ । नेकपा एमालेले मेयरमा प्रभा बराल र उपमेयरमा इमानसिंह लामालाई उठाएको छ । माओवादी केन्द्रले मेयरमा रामचन्द्र पाठक र उपमेयरमा कल्पना तामाङलाई उठाएको छ ।

यसैगरी इच्छाकामना गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसले गीता गुरूङ र उपप्रमुखमा कीर्तिकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै, एमालेको तर्फवाट प्रमुखमा नारायण अधिकारी र उपप्रमुखमा जुना राजभण्डारीलाई उठाएको छ । माओवादी केन्द्रको तर्फवाट प्रमुखमा प्रताप गुरूङ र उपप्रमुखमा सावित्री सिलवाललाई उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment