Comments Add Comment

वीरेन्द्रनगरको मेयरका उम्मेदवार-पूर्वमेयरदेखि नमूना शिक्षकसम्म

मुख्य प्रतिस्पर्धी कांग्रेस एमालेलाई माओवादीको चुनौति,राप्रपा भन्दा स्वतन्त्र बलियो

२० वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका प्रदेश नं. ६ को सम्भावित राजधानी मात्र होइन सबैभन्दा धेरै जनसंख्या भएको नगर पनि हो । वीरेन्द्रनगरको मेयरका लागि पूर्व मेयरदेखि प्रतिष्ठित शिक्षकले समेत उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य चार दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र र राप्रपाका साथै एक जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट उम्मेदवार दर्ता गरेका देवकुमार सुवेदी मेयरका उम्मेदवार मध्ये सबै भन्दा कान्छा हुन् । उनी विद्यार्थी राजनीतिबाट आएका हुन् ।

यस्तै एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका बाराराम शर्मा २०५४ का मेयर हुन् । लामो समय पत्रकारिता गरेका शर्मा प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका व्यक्ति हुन् ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका रत्न गाहा र स्वतन्त्र उम्मेदवार गेहेन्द्र दलहाल भने शिक्षक र सामाजिक क्षेत्रमा कहलिएका व्यक्ति हुन् ।

गाहा शिक्षक हुँदै समाज कल्याण परिषद्का कोषाध्यक्ष भएका थिए भने दहाल २७ वर्षे शिक्षकको जागिरे र जेसीज अभियानमा सक्रिय थिए । दहाल पटकपटक सरकारबाट नमूना शिक्षक घोषित व्यक्ति हुन् ।

कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको वीरेन्द्रनगरमा माओवादी केन्द्रले पनि आफ्नो कडा प्रतिस्पर्धा हुने दावी गरेको छ भने स्वतन्त्र उम्मेदवारको पनि ठुलो प्रभाव देखिएको छ । राप्रपाको उपस्थिति कमजोर नै भएपनि नतिजामा प्रभाव पार्न सक्ने आकलन छ ।

मेयरका लागि उम्मेदवारी दर्ता गरेकाहरु मध्ये कांग्रेसका उम्मेदवार देवकुमार सुवेदी, एमालेका बालाराम शर्मा, माओवादी केन्द्रका रत्न गाहा र स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहालको व्यक्तित्व यहाँ चर्चा गरिएको छ ।

देवकुमार सुवेदी, मेयर, कांग्रेस

वीरेन्द्रनगर नगरपालिका निवासी देवकुमार सुवेदी कांग्रेस सुर्खेतका प्रभावशाली युवा नेता हुन् । लगातार २ कार्यकाल वीरेन्द्रनगर नगरपालिकाको नगर सभापतिमा निर्वाचित सुवेदी राजनीतिसंगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । नेपाल रेडक्रस, वीरेन्द्रनगर जेसीज, नेपाल परिवार नियोजन संघ लगायत अन्य संघसंस्थाहरुमा आवद्ध सुवेदी कुशल बक्ता समेत हुन् ।

नेपाली कांग्रेस सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि दर्जन बढी नेताहरु आकांक्षिहरु हुँदाहुँदै पनि पार्टीले सुवेदीलाई मेयरको टिकट दिएको छ ।

– जन्मः २०३३ मंसिर २७
– शिक्षाः बिएड, एमए -ग्रामीण विकास)
– सामाजिक क्षेत्रः रेडक्रस, जेसीज, नेपाल परिवार नियोजन लगायत विभिन्न अभियान

राजनीति

– २०४७ सालबाट जनमाविका नेविसंघको सचिव ।
– नेविसंघको जिल्ला सचिव,
– सुर्खेत क्याम्पस (शिक्षा) स्ववियु उपसभापति- २०५३
– सुर्खेत क्याम्पस (शिक्षा) स्ववियु सभापति-२०५७
– नेविसंघको केन्द्रीय सदस्य
– नेपाली कांग्रेसको विद्यार्थी विभाग केन्द्रीय सदस्य
– कांग्रेस सुर्खेतको जिल्ला सदस्य
– २०६८ सालदेखि हालसम्म नगर सभापति (२ पटक निर्वाचित)

 

बालाराम शर्मा, मेयरका उम्मेदवार, नेकपा एमाले

बालाराम शर्मा वीरेन्द्रनगरका चर्चित अनुहार हुन् । विद्यार्थी जीवनबाटै राजनीतिमा लागेका शर्मा करिब ४० वर्षदेखि राजनीतिमा सक्रिय छन् ।

राजनीतिक उत्तरचढावका क्रममा शर्माले जेल जीवन बिताएका थिए । शर्मा २० वर्ष अगाडि २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनै शर्मा अहिले एमालेकै तर्फबाट मेयरको उम्मेदवार बनेका छन् ।

शर्मा एमालेको मध्यपश्चिम क्षेत्रीय कमिटी सदस्य, भेरी अञ्चल समन्वय कमिटीको सदस्य हुँदै हाल नेकपा एमाले केन्ऽीय अनुशासन आयोगका सदस्यसमेत हुन् । शर्माले राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् ।

राजनीतिक यात्रा

– वि.सं. २०२८ सालदेखि अनेरास्ववियु प्रारम्भीक कमिटबिाट राजनीतिमा प्रवेश ।
– २०३० सालमा महेन्ऽ बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु निर्वाचनमा विजयी ।
– पञ्चायतको विरोध गर्दै २०३० सालदेखि कम्यूनिष्ट पार्टीको संरचनामा आवद्ध ।
– वि. सं. २०३६ मा दशरथपुरमा भएको आन्दोलनलाई सहयोग गरेको आरोपमा ९ महिना जेल सजाय
– २०३१ देखि २०४३ सालसम्म शिक्षण पेशामा आवद्ध
– २०४५ सालमा राजकाज मुद्दामा ३ वर्षको जेल र तीन हजार रुपैयाँ जरिवाना ।
– पटकपटक गरी ५ वर्ष जेल सजाय ।
– सुर्खेत उपत्यकाको झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक ।
– वि. सं. २०५४ मा नेकपा एमाले सुर्खेतको सचिव ।
– नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष ।
– नेपाल पत्रकार महासंघले प्रदान गर्ने प्रेस स्वतन्त्रता सेनानी पद्वी प्राप्त ।

रत्न गाहा मगर, मेयरका उम्मेदवार, नेकपा माओवादी केन्द्र

नेकपा माओवादीप केन्द्रका तर्फबाट मेयरको उम्मेदवार बनेका रत्न गाहा बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्छन । राजनीतिसंगै विभिन्न सामाजिक कार्यबाट चिनिएका गाहा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थाहरुको नेतृत्व गरेर बढी चर्चामा आएका हुन् ।

दैलेखको खरीगैरा-४ मा २०२८/०७/२५ मा जन्मिएका उनी खरिगैरा गाविसबाट एसएलसी उत्तीर्ण गर्ने रेगुलरतर्फका पहिलो व्यक्ति समेत हुन् । गाहा केही समय शिक्षण पेसामा आवद्ध भएका थिए । लामो समय सामाजिक क्षेत्रमै विताएका गाहा कुशल मोटिभेटर समेत हुन् ।

शिक्षाः – समाजशास्त्र विषयमा स्नातोकोत्तर र अष्ट्रेलियाको मेल्बर्न यूनिभर्सिटीबाट सुरक्षा सम्बन्धी विषयमा चौथो लेबलको अध्ययन पूरा ।

राजनीति

– २०४८ सालबाट मोटो मसालबाट राजनीति सुरु ।
– तत्कालिन माओवादी भूमिगत भएसंगै २०५२ सालदेखि नै माओवादीमा आवद्ध
– जनयुद्धका सुरु भएदेखि नै मध्यपश्चिमका सहरी इलाकाहरुको जिम्मा ।
– माओवादीले तत्कालिन अवस्थामा निर्माण गरेको विशेष कमिटीमा आवद्ध भई सहरी क्षेत्रमा संगठन विस्तार
– शान्ति प्रक्रियापछि प्रचण्ड नेतृत्वको पहिलो सरकारकाका बेला समाज कल्याण परिषद्को कोषाध्यक्ष
– विभिन्न हैसियतमा हुँदै अहिले पार्टीको राष्ट्रिय आयोजक समिति सदस्य ।

गेहेन्द्रप्रसाद दहाल, मेयर, स्वतन्त्र

सुर्खेतको रतु गाविसको पारेगाउँमा २०२६ मा जन्मिएका गेहेन्द्रप्रसाद दहाल राजनीतिकर्मी भन्दा पनि नमूना शिक्षकका रुपमा चिनिन्छन । ‘शिक्षक हुँदा राजनीति परित्याग, राजनीति सुरु गर्दा शिक्षक परित्याग’ गरेपछि दहाल चर्चामा आएका थिए ।

करिब २७ वर्ष शिक्षक पेसामा आवद्ध भएर राजीनामा दिएर मेयरको उम्मेदवार बनेका दाहाल सुर्खेतीहरुका माझमा साझा व्यक्तित्वमा रुपमा स्थापित छन् ।

सुर्खेतको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका दहालले आफूले नेतृत्व गरेका विद्यालयहरुलाई ‘क’ वर्गका विद्यालयका रुपमा स्थापित गरेका थिए । खासगरी बालबालिका मैत्री र प्रविधिमैत्री विद्यालय बनाएर चर्चा कमाएका दहालले विद्यालयको प्राध्यानाध्यापक हुँदा कुनै पनि राजनीतिक दलको सदस्य नहुँने भनी घोषणा गरेर चर्चामा आएका थिए ।

सुरुमा शिक्षक संगठनमा आवद्ध भएतापनि पछि दलको सदस्य नै नहुँने घोषणा गरेका दहाल एकाएक सेवा अवधि बाँकी हुँदै राजिनामा दिएर मेयरको उम्मेदवारी दर्ता गरेका हुन् । दहाल कुशल बक्ता समेत हुन् ।

सेवा

– २०४६ मा पारेगाउँ विद्यालयमा प्रावि तहको शिक्षकमा नियुक्त
– २०४६ मै जनसेवा मावी घुस्रामा सरुवा -१९ वर्ष कार्यरत)
– श्री कष्ण संस्कृत तथा साधारण उच्च माध्यामिक विद्यालय -८ वर्ष)
– दुवै विद्यालयलाई ‘क’ वर्गको विद्यालयका रुपमा स्थापित गर्न सफल -क वर्गको जिल्ला कै पहिलो विद्यालय बनउन सफल)
– द्वन्दकालमा नेपाल शिक्षक संघमा आवद्धता

अभियान

– २००५ मा नेपाल जेसीजको रष्ट्रिय अध्यक्ष
– २००६ मा अन्तराष्ट्रिय जेसीजको सदस्य र एसिया प्यासिफिक संयोजक भई २२ देशको नेतृत्व
– नेतृत्व र उत्प्रेरणा सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षण
– सकरात्मक सोच विकास अभियान आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment