Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः उम्मेदवार ४४ हजार, भोट दिन, नोट नलिन आग्रह

२१ वैशाख, काठमाडौं । वैशाख ३१ गते दुई सय ८३ स्थानीय तहमा हुने पहिलो चरणको निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि ४५ हजारभन्दा बढीको उम्मेदवारी परेको छ । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले स्थानीय तह प्रतिनिधि बन्न तीन गुना बढी उम्मेदवारी परेको खबर विशेष प्राथमिकताका साथ लेखेका छन् । पत्रपत्रिकाहरुले निर्वाचनसँगै संविधान संशोधनको विषयलाई पनि उठाएका छन् । संविधान संशोधन चुनावपछि मात्रै हुने पत्रपत्रिकाहरुले उल्लेख गरेका छन् ।

स्थानीय तह निर्वाचनमा ४४ हजारले उम्मेदवारी दिएको विषयलाई मुख्य खबर बनाएको गोरखापत्र दैनिकले महाभियोग प्रस्ताव आज संसद्मा पेस हुने जनाएको छ ।
‘१३ हजार पदका लागि ४४ हजार उम्मेदवार’ शीर्षक दिएर मुख्य खबर लेखेको नयाँ पत्रिका दैनिकले फास्ट ट्याक ४ वर्षमा सक्नेगरी मन्त्रालयले प्रस्ताव पेस गरेको जनाएको छ । धुलोले आकासमा हवाइजहाज जाम भएको खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा अटाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाइएको विरोधमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ सडकमै ओर्लिएको विषयलाई मुख्य खबर बनाएको छ । अन्नपूर्णमै मैदानमा छोरीपुस्ता शीर्षक दिएर स्थानीय तहमा महिला उम्मेदवारको उपस्थितिलाई देखाउन खोजिएको छ ।

कान्तिपुर दैनिकले भूकम्पपीडितलाई टहरामै निर्वाचन लागेको लेखेको छ । कान्तिपुरले महाभियोग फिर्ता लिन नागरिक अगुवाहरुले गरेको आग्रहलाई पनि प्रमुखताका साथ प्रथम पृष्ठमा स्थान दिएको छ ।

राजधानी दैनिकले ठूला दल निर्वाचन तालमेलको रणनीतिमा लागेको छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment