Comments Add Comment

कविता: बाँकी सपना

बा !
च्यातियो कि उस्तै छ
जय साहुकोमा उधारोमा किनेको
गोल्डस्टार जुत्ता ?
म पनि चाहन्थेँ
गाउँको रामे, अर्जुने र सतिश जस्तै
अरबमा गई पैसा कमाएर
तिम्रा पैंतालामा नयाँ गोल्डस्टार जुत्ता फेर्न,
आमाको गून्यु फेर्न
तर
रामेकी श्रीमती पैसा कुम्ल्याएर पोइल हिंडेपछि,
वर्षदिन नपुग्दै अर्जुने काठको बाकसमा फर्किएपछि
सतिश सधैंको रोगी भएर घर फर्केपछि
मलाई अरब जान मन लागेन

बा !
मेरो पनि सपना थियो
तिम्रो पैंतालामा नयाँ जुत्ता फेर्न,
आमाले गुन्यू फेरेको हेर्न
जय साहुले बन्धकी लिएको
घरमुनिको ठूलो पाटो फर्काउन,
इँटाभट्टाकी सुन्तली कमिनी
फुर्सी दमिनी र
खडे कामीको आँगनमा पनि
न्याय र समानताको इन्द्रेणी रङ छर्न ।

अनि बा !
दशैंका लागि सालको पात टिप्न जाँदा
खुट्टा भाँचिएकी मेरी आमालाई कस्तो छ ?
समानताको लडाइँ लड्न आह्वान गर्ने
बिर्खे काकालाई कस्तो छ ?
पोहोर साल बाढीले गैह्री खेत बगाउँदा
सरकारबाट राहत
पायौ-पाएनौ ?
बाँकी जग्गा बचाउन
तटबन्ध र तारजाली पायौ-पाएनौ ?

तर बा !
सरकारको मुख ताक्न पर्दैन अब
सरकारको कानसम्म गुनासो पुर्‍याइदिनू;
धान फल्ने फाँटलाई प्लटिङ गर्न
किन स्वीकृति दिएको ?
कस–कसले महल ठड्याए कुन्नि ?
परिवर्तनको लागि भन्दै
हामीलाई भर्‍याङ बनाएर ।
तर
लाग्दै छ बा !
परिर्वतन गाँउ, शहर, पहाड भञ्ज्याङबाट
आउँदो रहेनछ
न त भाषणबाटै ।

बुझेँ बा !
मलाई नभन्नू
तँलाई बङ्गुर पाल्न,
कोदाली समाएर खेतीपाती गर्न
शहरमा राखेर डिग्री पढाएको होइन !
कृषि क्रान्तिबाट देश विकास सम्भव छ
आफ्नै बारीमा सुन फलाउँछु
जय साहुको खेताला जानुपर्ने छैन तिम्लाई ।

बा !
मलाई नभन्नू
तँलाई बङ्गुर पाल्न,
कोदाली समाएर खेतीपाती गर्न
शहरमा राखेर डिग्री पढाएको होइन ।

गुल्मी, हाल: वानेश्वर, काठमाडौं ।
[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment