२४ बैशाख, काठमाडौं । रियल मड्रिड र बार्सिलोना दुबैले शानदार जित हात पारेका छन् र स्पेनिस ला लिगाको उपाधि होड निकै रोमाञ्चक भएको छ ।
स्टार स्ट्राइकर विना मैदान उत्रिएको रियल मड्रिडले ग्रानाडामाथि ४-० गोल अन्तरको प्रभावशाली जित निकालेको छ । तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका जेम्स रोड्रिग्वेजले ११ औं मिनेटमा नै अग्रता दोब्बर पारे ।
३० औं मिनेटमा मोराटाले गोल गरे । पाँच मिनेटपछि नै उनले नै गोल गरे र, पहिलो हाफमा रियल मड्रिडले ४-० को अग्रता लियो ।
खेलको दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र रियल मड्रिड विजयी भएको छ ।
मेस्सीको ५० औं गोल, बार्सिलोनाले जित्यो
अर्को खेलमा लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
उसले २१ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । तर, ३२ औं मिनेटमा भिल्लारियलले बराबरी गोल गर्यो । पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । यो उनको सिजनको ५० औं गोल समेत हो ।
खेलको ६९ औं मिनेटमा लुइस स्वरेजले गोल गरे भने ८२ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरेपछि बार्सिलोना ४-१ ले विजयी भएको छ ।
जितपछि बार्सिलोनाको ३६ खेलबाट ८४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि ८४ अंक नै छ । तर, उपाधि रियलकै हातमा छ ।
उसले अझै एक खेल कम खेलेको छ । अब बार्सिलोनाले लस पल्मास र एइबरसँग खेल्न बाँकी छ भने बार्सिलोनाले सेभिल्ला, सेल्टाभिगो र मालागासँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4