Comments Add Comment

गाउँलेको उदाहरणीय काम, गहना धितो राखेर खने सडक !


२५ वैशाख, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडौं रकम जुटाएर पूर्वाधार निर्माण गरेका छन् ।

सरकारी निकायले उपलब्ध गराएको बजेटको तुलनामा धेरै गुणा बढी रकम स्थानीय स्तरबाट जुटाएर सडक, भवन, खेलमैदानलगायतका योजना निर्माण गरेका हुन् । जिल्ला समन्वय समिति र साविकको गाविस कार्यालयले रु १६ लाख ४३ हजार अनुदान उपलब्ध गराएको भकिम्ली–राखु–नयाँपुल सडक निर्माण योजना स्थानीय स्तरबाट थप रु ३५ लाख जुटाएर सम्पन्न गरेका छन् ।

नौ किलोमिटर दूरीको सो सडक निर्माणका लागि सरकारी निकायबाट प्राप्त बजेट अपुग भएपछि राखुका ६५ घरधुरीले चन्दा सङ्कलन गर्नुका साथै बैंकमा गहना धितो राखेर रु ३५ लाख जुटाएका उपभोक्ता समितिका अध्यक्ष केयरसिङ पुनले जानकारी दिए ।

भकिम्लीकै ठोट्नेरीका बासिन्दाले हालै रु पाँच लाख सङ्कलन गरेर डाडाँखानीदेखि गाउँसम्म जोड्ने सडक निर्माण गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष धनबहादुर श्रीसका अनुसार पाँच किलोमिटर दूरीको यो सडक निर्माणका लागि साविक गाविस कार्यालयले रु एक लाख मात्र उपलब्ध गराएको थियो ।

ठोट्नेरीका ७० घरधुरीले कम्तीमा रु पाँच हजारका दरले चन्दा सङ्कलन गरेर सडक खनेका हुन् । टोड्नेरीसँगै भकिम्लीका सबै टोल सडक सञ्जालमा जोडिएका छन् । विसं २०६७ मा स्थानीय बासिन्दाले रु एक करोड चन्दा सङ्कलन गरेर निर्माण गरेको हलेगौडा–भकिम्ली सडक स्तरवृद्धिका लागि पहल भइरहेको छ ।

यसैगरी रोजगारी, अध्ययन र व्यवसायका लागि विदेशिएका भकिम्लीका बासिन्दाको सहयोगमा जयन्ती माविको दश कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । असी प्रतिशत निर्माण कार्य पूरा भएको भवन बनाउन बेलायत, बेल्जियम, अमेरिकालगायत देशमा रहेका नेपालीबाट रु ८१ लाख सहयोग प्राप्त भएको व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पले भत्काएको सो कक्षा कोठा भवन पुनःनिर्माणका लागि साविक गाविस कार्यालयले रु दश लाख उपलब्ध गराएको थियो । यसैगरी भकिम्लीको मुसुङडोलेमा स्थानीय गणेश स्मृति क्लबको सक्रियतामा रु ११ लाखको लगानीमा खेलमैदान निर्माण भएको छ ।

मुसुङडोलेको पखरधारा भन्ने ठाउँमा १२० मिटर लम्बाइ र ५० मिटर चौडाइ रहेको खेलमैदान निर्माणका लागि जिल्ला समन्वय समितिबाट चालु आवमा रु एक लाख र गाविस कार्यालयबाट रु ८५ हजार प्राप्त भएको थियो ।

थप रु दुई लाख चन्दा र रु सात लाख ऋण जुटाएर खेलमैदान निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर थापाले बताए । स्थानीय स्तरमा सक्रिय जनसहभागिता जुट्ने भएकाले योजना निर्माणमा सहज भएको वडा सचिव शिव शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment