Comments Add Comment

‘चेन स्मोकर’ गगन थापाले यसरी त्यागे धूमपान

२५ वैशाख, काठमाडौ । कांग्रेस नेता गगन थापा चर्चित युवा नेता हुन् । तर्कशील भाषण गर्ने कला उनको परिचयसँगै जोडिएर आउँछ । तर, तपाईंलाई उनको बारेमा थाहा नभएको अर्को कुरा पनि छ त्यो हो, एक जमानाको ‘चेन स्मोकर’ ।

हो, हालका स्वास्थ्यमन्त्री गगन थापा कुनैबेला ‘चेन स्मोकर’ थिए । धुमपानको लत त्याग्न गाह्रो हुने त्यसका अम्मलीहरु बताउँछन् तर, गगन थापाले भने हाल धुमपान त्यागिसकेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले आफ्नो पुरानो बानी सुनाए, ‘म ३३ वर्षको हुँदासम्म धुमपान सेवनकर्ता थिएँ । तर, आजभोलि त्यागें र धुमपानरहित समाज निर्माण गर्न लागिपरेको छु ।’

आखिर कसरी त्यागे गगनले धुमपान ? उनकै शब्दलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

मैले २५ वर्षको उमेरदेखि धुमपान गर्न सुरु गरैं । त्यतिबेला म हाम्रै स्थानीय विश्वविद्यालयको मास्टर्सको विद्यार्थी थिएँ । त्यो बेला केही तनाव अवश्य थियो । म ३३ वर्षको हुँदासम्म धुमपान सेवनकर्ता थिएँ ।

मेरी श्रीमती गर्भवती थिइन् र म निकै तनावमा थिएँ । त्यतिबेला म पनि धुमपान त्याग्न निकै जोड दिइरहेको थिएँ । तर पनि चुरोट छोड्न असमर्थ थिएँ ।

मलाई अझै पनि त्यो दिन याद छ । जब ताराजी र बद्री खड्काले मलाई यही होटल (अन्नपूर्ण)को आसपास बोलाए । त्यतिबेला म सांसद थिएँ । र त्यहाँ एउटा बिल थियो जसमा चित्र अंकित चेतावनी उल्लेख गरिएको थियो । जुन संसदमा छलफलको क्रममा रहेको थियो । त्यसबेला उनीहरु युवा सांसदको खोजीमा थिए जसले यो अभियान अगाडि लैजाओस् । उनीहरुले चित्र अंकित चेतावनीलाई ३० प्रतिशतबाट ७० प्रतिशतमा लैजान चाहन्थे । यसको लागि ७५ प्रतिशत सांसदको आवश्यकता थियो । त्यसैले उनीहरुले सांसदहरुको खोजीमा थिए । र उनीहरुले मसित प्रस्ताव राखे ।

तर, जब म ताराजीसित कुरा गरिरहेको थिएँ, त्यतिबेला म धुमपान गरिरहेको थिएँ । त्यति बेला म एक ‘चेन स्मोकर’ थिएँ र प्याकेटै सेवन गर्ने गर्थे ।

त्यतिबेला मलाई हाँसो पनि लाग्यो । मैले भनें, ‘तपाईं मसित कसरी यस्तो अपेक्षा राख्न सक्नु हुन्छ, जबकी म तपाईसित कुरा गरिरहँदा पनि चुरोट नपिई बस्न सक्दैन ।’

त्यति बेला उनले भने, ‘यदि तिमी साँच्चै र गम्भीर भएर नै चुरोट छोड्न चाहन्छौ भने तिम्रो लागि सुनौलो मौका हो । किनकी तिमी हरपल क्यामेराका सामु हुनेछौ र तिमीलाई हरपल दबाव रहनेछ । त्यसले तिमीलाई चुरोट छोड्न प्ररेणा समेत दिनेछ ।

त्यतिबेला मैले केही भन्न सकिनँ । तर, मैले भित्रैदेखि यो मेरो लागि ठूलो मौका हुनसक्छ भन्ने सोचेँ । यसले मलाई ऊर्जासमेत प्रदान गर्‍यो । त्यसपछि जब म घर आएँ । मैले श्रीमतीलाई यसबारे भनें- अब भने म साँच्चै चुरोट छोड्छु ।

र, मलाई विश्वास गर्नुस्, त्यो दिन पश्चात आज झण्डै आठ वर्ष भयो मैले चुरोट छोडेको ।

म मैले यो अभियान थालनी गरेसँगै र मन्त्री बनेसँगै म युवाहरु माझ यो कथा अक्सर भन्ने गर्छु । किनकी हामी युवा पुस्तामाझ धुमपानरहित समाज बनाउने कोशिसमा छौं । यसको कारण के हो भने ‘यो सम्भव छ’ ।

यदि हामीले युवालाई धुमपान तथा सुर्तीपान नगर्न प्रोत्साहित गरेको खण्डमा यसलाई छोड्ने धेरै उपायहरु छन् । तर त्योभन्दा पहिले मानिसमा विश्वास जगाउन आवश्यक छ । हामी धुमपानरहित समाज निर्माण गर्न सक्छौं । हामी युवाबाट यसको सुरुवात् गर्न सक्छौं । हामीले जति धेरै युवा तथा स्कुले विद्यार्थीहरुसित मिलेर काम गर्न सक्यौं, त्यति नै धेरै सफलता हात पार्न सक्छौं ।

(सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम’मा मन्त्री थापाले गरेको सम्बोधनको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment