Comments Add Comment

राजधानीको चार कुनामा स्मार्ट सिटी बनाउने निर्णय, कहाँ-कहाँ बन्दैछन् नयाँ शहर ?


२५ बैशाख, काठमाडौं । सरकारले राजधानीको चार कुनामा स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजधानीको चारै कुनामा चार वटा स्मार्ट शहर विस्तार गर्ने निर्णय गरेको हो ।

शहरी विकास मन्त्रालयले सार्वजनिक क्षेत्रबाट १०० अर्ब र निजी क्षेत्रबाट ४०० अर्ब लगानी जुटाएर स्मार्ट सिटी बनाउने प्रस्ताव अघि बढाएको थियो । यो आयोजना ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

सरकारको निर्णयअनुसार पहिलो स्मार्ट सिटी मुलपानीदेखि खरिपाटीसम्म फैलिएको हुनेछ ।

करिब एक लाख रोपनी क्षेत्रफलमा फैलिएको स्मार्ट सिटी मुलपानीको क्रिकेट मैदानबाट साँखु जाने मुल सडक तथा शाली नदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म समेट्नेछ । साथै खरिपाटीको आर्मी ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा हुँदै पुनः मुलपानी क्रिकेट मैदानलाई जोड्नेछ ।

दोस्रो स्मार्ट सिटी भक्तपुरको सूर्यविनायकको जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट हुँदै अरनिको राजमार्ग जोड्नेछ । र, कौशलटार हुँदै पुन सूर्यविनायकसम्म जोडिने छ ।

१० हजार रोपनी क्षेत्रफलमा फैलिने यो शहरलाई दोस्रो स्याटलाइट शहरको रुपमा विकास गर्ने सरकारको योजना छ ।

यसले गुण्डु बालकालकोट र दधिकोटको सबै भूभागलाई समेट्ने छ । यो शहर निर्माण परियोजनाका लागि सार्वजनिक क्षेत्रबाट १० अर्ब र निजी क्षेत्रबाट ४० अर्ब लगानी जुटाइनेछ ।

तेस्रो शहर साविकको खोकना, बुंगमती हुँदै सैंबु आवास, वाग्मती झोलुङ्गे पुल हुँदै चोभारसम्म फैलिएको हुनेछ । यो शहर पनि १० हजार रोपनीको क्षेत्रमा समेटिएको हुनेछ ।

यसैगरी महादेवखोलाबाट तारकेश्वर जाने मुलबाटो हुँदै सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फुलबारी मार्ग टोखा बाइपाससम्म स्मार्ट शहर बनाउने योजना स्वीकृत भएको छ । मन्त्रिपरिषदले पारित गरेको प्रस्ताव अनुसार जग्गा एकीकरणको माध्यमवाट निजी जग्गाधनीलाई संलग्न लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment