+
+

पुँजी लागत न्यून रहेको स्ट्याण्डर्ड चार्टर्डको नाफा १ अर्ब माथि

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २६ गते ११:३७


२६ बैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमाशमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १७.७७ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ९० करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब ६ करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा नै बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब ३० करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ५५ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा १९ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकको कुल सञ्चालन अम्दानी १९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब ८९ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंकले ४ करोड ६३ लाख रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको कुल कर्जामा खराब कर्जाको दर ०.२३ प्रतिशत छ । बैंकले ११ करोड रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै सहज अवस्थामा छ । यो अनुपात १६.८९ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७५.७७ प्रतिशत छ । स्ट्याण्डर्ड बैंक कर्जा निक्षेप सीमामा पर्याप्त ‘कुसन’ राख्ने मध्येमा पर्दछ ।

बैंकको चुक्ता पुँजीमा ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । हालै एफपीओ जारी गरेको बैंकको चुक्ता पुँजी ४ अर्ब माथी पुग्ने देखिएको छ । बैंकले शतप्रतिशत हकप्रद सेयर दिने सम्भावनामा लगानीकर्ताहरु एफपिओ प्रति आकर्षित थिए । प्रिमियम रकम बोनस बाँडफाँटको लागि नै प्रयोग गर्नुपर्ने भएकोले बोनस सेयरको अपेक्षा लगानीकर्ताहरुमा रहेको हो ।

प्रिमियम बाहेक भने हाल बैंकको सञ्चिती तथा जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब १९ प्रतिशतले बढेर ६९ अर्ब र कर्जा २७ प्रतिशत बढेर ३७ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ४.५५ प्रतिशतको तुलनामा बढेर ५.९७ पुगेको छ । तुलनात्मक रुपमा यस बैंकमा अन्यकोमा भन्दा कम ब्याजदरमा कर्जा पाइने देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी ३७.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६२ गुणा, प्रतिसेयर नेटवर्थ २ सय २९ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल घटेको छ । चालु आवको दोस्रो त्रैमाशमा १७.९१ प्रतिशत रहेको बैंकको सेयरमा प्रतिफल हाल भने १६.५२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?