काठमाडौं । स्थानीय चुनाव नजिकिँदै जाँदा लोक गायक-गायिकालाई पनि चुनावको चटारोले छोएको छ । कलाकारहरु आफैं चुनावी मैदानमा उत्रेका भने हैनन् । तर, उनीहरुको दौडधुप हेर्दा यस्तो लाग्छ, मानौं उम्मेदवार नै यिनै हुन् ।
‘ससुरालीमा’ गायक बद्री पंगेनीको कुरा गर्ने हो भने उनले नेकपा एमालेका लागि चुनावी गीतै गाए । अर्का गायक विष्णु खत्री त झन् बाग्लुङमा भोट माग्दै गाउँघर डुलिरहेका छन् । उनी माओवादी केन्द्रका उम्मेदवारका लागि भोट माग्न जुटेका हुन् ।
चुनावको पूर्वसन्ध्यामा कुन कलाकारको कस्तो दैनिकी छ त ? हेरौं:
बद्री पंगेनी
‘मै पनि एमाले, सही पनि एमाले’ चुनावी गीत गाएका बद्री पंगेनीलाई यतिबेला चुनावको ज्वरोले तताएको छ ।
पाल्पाली समाज दुबईको कार्यक्रममा सहभागी हुन दुबई पुगेका बद्री पंगेनी मंगलबार बिहान मात्रै काठमाडौं आइपुगे । यता आउनासाथै उनको दौडधुप बढ्नेछ । मंगलबार दिउँसो उनी हेटौंडामा हुने एमालेको चुनावी कार्यक्रममा सहभागी हुँदै छन् ।
साथीभाइको पैंचो तिर्नका लागि चुनावी कार्यक्रममा सहभागी हुन लागेको उनी बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै पंगेनीले भने, ‘म लोक दोहोरी प्रतिष्ठानको अध्यक्ष हुने बेलामा विभिन्न साथीले सघाउनुभएको थियो अहिले म त्यही पैंचो तिर्दै छु ।’
अन्य ठाउँका साथीहरुले पनि उनलाई बोलाएका छन् । भ्याएसम्म साथीहरुको मन राख्न सबै ठाउँ पुग्ने पंगेनीको योजना छ ।
विष्णु खत्री
लोकगायक विष्णु खत्रीले यसपालिको स्थानीय चुनावमा आफैं उम्मेदवार बन्न पहल गरेका थिए । तर, उम्मेदवार बन्न नसके पनि पार्टीका उम्मेदवारका लागि भोट माग्न खटिरहेका छन् ।
बाग्लुङको गल्कोट नगरपालिकाको मेयरको उम्मेदवार बनाउन माओवादी केन्द्रको जिल्ला संगठनले उनको नाम सिफारिश गरेको थियो । तर, अन्तिम समयमा माथिल्लो तहका नेतालाई टिकट दिइयो ।
अहिले पार्टीका मेयर उम्मेदवार फमलाल न्युरेका लागि भोट माग्दै बाग्लुङका टोलटोलमा हिँडिरहेका खत्रीले गाउँका जनतासँग भेट्दा रमाइलो अनभूति भएको बताए ।
चुनावसम्म खूबै खटिने बताउँदै उनले अनलाइनखबरसँग भने, ‘बैशाख ३१ को चुनावसम्म गाउँमै हुन्छु, त्यसपछि मात्रै काठमाडौं फर्किन्छु ।’
गायक खत्रीको ‘कि सास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिर’ लगायत थुप्रै गीत चर्चित छन् ।
पशुपति शर्मा
‘मलाई अमेरिका यही’ भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका गायक पशुपति शर्मालाई यसपालि स्थानीय चुनावको मुखमा गीत गाउने फरक प्रस्ताव आएको थियो । तर, उनले त्यस्तो प्रस्ताव ठाडै अस्वीकार गरे ।
विभिन्न पार्टीले चुनाव सम्बन्धी गीत गाइदिन आग्रह गर्दा उनले सबैलाई एउटै जवाफ दिए, ‘म कुनै पार्टीविशेषका लागि गीत गाउँदिनँ र चुनावी कार्यक्रममा पनि सहभागी हुन्नँ ।’ यद्यपि उनले आफ्नो मताधिकारको प्रयोग गर्दै भोट भने हाल्ने सोच बनाएका छन् ।
मोफसलको कार्यक्रममा सहभागी भएर भर्खरै काठमाडौं आएका शर्माले दुई दिनपछि पोखरामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुनेछन् । ‘पोखराको कार्यक्रम सकेर भोट हाल्न गाउँ जान्छु’, उनले अनलाइनखबरलाई सुनाए ।
जानकी तारमी मगर
पछिल्लो समय चर्चामा रहेकी गायिका जानकारी तारमी मगरलाई स्थानीय चुनावले अलिकति पनि छोएको छैन । न त उनलाई चुनावी गीत गाउने प्रस्ताव आयो, न त कुनै पार्टीको कार्यक्रममा सहभागी हुनुपर्यो । किनकि उनी अहिले विदेशमा छिन् ।
बेलायतमा आयोजना भएको ‘वीलवीच लोकदोहोरी धमाका’ मा सहभागी भएकी जानकी अझै केही दिन उतै रमाउने भएकी छिन् । उनले सुनाइन्, ‘अन्य केही ठाउँमा पनि कार्यक्रम भएकाले केही दिन यतै बस्नुपर्ने भएको छ ।’ नेपालमा स्थानीय चुनावको रौनक बढेको बारे भने उनी अपडेट रहिछन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4