Comments Add Comment

चुनावमा मतदातालाई निःशुल्क पानी बाँड्ने तयारी

२७ बैशाख, काठमाडौं । स्थानीय तह चुनावको दिन काठमाडौं उपत्यकाका मतदाताहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने गृहकार्य अघि बढाइएको छ । बैशाख ३१ गते मतदान केन्द्रहरुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का ट्यांकरमार्फत् पानी वितरण गर्ने गृहकार्य अघि बढाइएको हो ।

केयुकेएलका प्रमुख महेश भट्टराईले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोगबाट अनुमति लिएर ट्यांकरमार्फत पानी वितरणको व्यवस्था मिलाउने तयारीमा छौं ।’

यसअघि खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले केयुकेएलका अधिकारीहरुलाई मतदाताहरुलाई निःशुल्क शुद्ध पीउने पानीको व्यवस्था मिलाउन भनेका थिए । तर, निर्वाचन आचारसंहिता आकर्षित हुन्छ कि हुँदैन भनेर केयुकेएल परामर्शमा छ ।

‘निर्वाचन आयोगले पानी वितरण गर्न सक्नुहुन्छ भन्यो भने हामी तयार छौं,’ केयुकेएल प्रमुख भट्टराईले भने ।

उनका अनुसार नीलो स्टिकर टाँसिएका ट्यांकरमार्फत निःशुल्क पानी वितरण गर्ने तयारी केयुकेएलले गरेको छ । तर, एउटै मतदान केन्द्रमा दिनभरी ट्यांकर रोकेर नराख्ने बरु ठाउँ-ठाउँमा घुमाउने उनले बताए ।

उनले भने, ‘हामीले पनि उपभोक्ताहरुबाट पानीको अर्डर लिएका हुन्छौं । घरमा, कार्यालयमा पानी पुर्‍याउनुपर्छ । त्यसैले एउटै केन्द्रमा रोकिराख्नुको सट्टा घुमाउन चाहिँ सकिन्छ ।’

कुन स्टिकरको पानी कस्तो ?

केयुकेएलले पानीको शुद्धता जाँचेर ट्यांकरहरुलाई निलो, हरियो र पहेलो स्टीकर प्रदान गरेको छ । नीलो स्टिकर टाँसिएका ट्यांकरहरुको पानी पिउन योग्य हुन्छ । यसमा कुनै प्रशोधन वा उमाल्न आवश्यक हुँदैन ।

हरियो स्टिकर टाँसिएका ट्यांकहरुको पानी घरायसी प्रयोजनमा प्रयोग गर्न सकिन्छ । त्यसलाई सामान्य प्रशोधन गरेर वा उमालेर पनि पिउन सकिन्छ ।

पिउन वा भान्छा प्रयोजनको उपयोग बाहेक अन्य प्रयोजनको पानी बोक्ने ट्यांकरहरुमा पहेंलो स्टिकर टाँसिएको हुन्छ ।

मंगलबारसम्म १६६ वटा पानी वितरण गर्ने ट्यांकरले स्टिकर लिएका छन् । त्यसमध्ये सबैभन्दा बढी ट्यांकरले हरियो स्टिकर पाएका छन् ।
नीलो १३ वटा, हरियो ९९ वटा र पहेलो ५४ वटा स्टिकर भएका ट्यांकर काठमाडौं उपत्यकामा सन्चालित छन् । केयुकेएलका सबै ट्यांकहरुले नीलो स्टिकर पाएका छन् ।

काठमाडौं उपत्यकामा पानी बोक्ने तीन सय बढी ट्यांकरहरु छन् । ती सबैलाई पानीको शुद्धताअनुसार स्टिकर टाँस्न अनिवार्य गरिएको छ । तर, अझै करिब १५० वटा ट्यांकरले स्टिकर लिइसकेका छैनन् । तर, तिनीहरु स्टिकर लिने प्रक्रियामा रहेको केयुकेएलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment